सुरक्षित गर्भपतनका लागि जनशक्ति  अभाव

पुनम वि.सी.

सुर्खेत,१७ पौष ।

अवलचिङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवाका लागि यसअघि जनशक्तिको व्यवस्थापन थियो । तर कर्मचारी समायोजन पश्चात उक्त जनशक्ति अन्यत्र सरुवा गएपछि भने अहिले स्वास्थ्य केन्द्रले सुरक्षित गर्भपतन सेवा प्रवाह गर्न सकेको भने छैन । यसअघि स्वास्थ्य केन्द्रमा उपलब्ध जनशक्तिका रुपमा दीपा खत्री कार्यरत थिइन् ।

उनी सरुवा भएर अन्तै गएपछि स्वास्थ्य चौकीमा जनशक्ति भनेकै मेनका शाही हुन् । तर उनीपनि अहिले अध्ययन विदामा रहेका कारण कार्यक्षेत्रमा अनुपस्थित छिन् । अहिले अवलचिंङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा उपलब्ध छैन । दशरथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा समेत यस्तै समस्या थियो ।

समायोजनपछि कर्मचारी गएपछि भने यो संस्थाले अर्का एक अनमीलाई सुरक्षित गर्भपतन सम्वन्धि तालिम दिएर सेवा प्रवाह गरिरहेको छ । छिञ्चु स्वास्थ्य चौकीमा भने हाल औषधिको विधिद्वारा गरिने नौं हप्तासम्मको गर्भपतनको मात्र सेवा प्रवाह भईरहेको छ । सुर्खेतमा १९ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवाका लागि सूचिकृत भएका छन् ।

जसमध्ये १२ वटा स्वास्थ्य संस्था सरकारी हुन् । तर कर्मचारी समायोजनपछि भने यी सबै सरकारी संस्थाहरुमा सुरक्षित गर्भपतन सम्वन्धिको सेवा दिन सकिएको छैन । कर्मचारी समायोजनपछि स्वास्थ्य संस्थामा तालिमप्राप्त जनशक्ति अभाव भएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले बताए ।

सुरक्षित गर्भपतन सेवा प्रदान गर्न स्वास्थ्य संस्था र त्यहाँ कार्यरत जनशक्ति समेत सूचिकृत हुनुपर्ने हुन्छ । यस्तो सेवा प्रदान गर्ने जनशक्तिले गर्भपतन सेवा सम्वन्धिको विशेष तालिम लिएको हुनुपर्छ । तर सुर्खेतमा सूचिकृत भएका स्वास्थ्य संस्थामा तालिम लिएका जनशक्तिहरु अन्यन्त्र गएपछि सेवा प्रवाहमा समस्या भएको हो ।

‘कर्मचारी समायोजनका समयमा यस्ताखाले तालिम लिएका जनशक्तिका विषयमा समेत हेर्नुपथ्यो ।’ गौतमले भने, ‘समायोजनमा यस्ता विषयबारे ध्यान नगरिंदिदा सूचिकृत संस्था र जनशक्ति फरक परेका छन् । ’ नयाँ जनशक्तिलाई सुरक्षित गर्भपतन सम्बन्धि तालिमका लागि हाल जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतसँग कार्यक्रम समेत नभएको उनले जानकारी दिए ।

कर्णाली प्रदेशभर हेर्नेहो भने कर्णालीमा ७० वटा बढी स्वास्थ्य संस्थाहरु सुरक्षित गर्भपतनका लागि सूचिकृत भएका छन् । सुर्खेतका अवलचिङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, उत्तरगंगा स्वास्थ्य चौकी, वीरेन्द्रनगर नगर अस्पताल रामघाट स्वास्थ्य चौकी, मेहलकुना अस्पताल, सालकोट प्राथमिक स्वास्थ्य चौकी, कुनाथरी स्वास्थ्य चौकी र लेखगाउँ स्वास्थ्य चौकी सुरक्षित गर्भपतन सेवाका लागि सूचिकृत भएका सुर्खेतका स्वास्थ्य संस्था हुन् ।  यसैगरी दशरथपुर प्राथमिक स्वास्थ्य केन्द्र र प्रदेश अस्पताल समेत सुरक्षित गर्भपतन सेवाकालागि सूचिकृत भएका छन् ।

विशेष तालिम चाहिन्छ

स्वास्थ्य संस्थाहरुले सुरक्षित गर्भपतन सेवा प्रवाह गर्न त्यहाँ कार्यरत जनशक्तिले यस सम्बन्धमा विशेष तालिम लिएको हुनुपर्छ । सुरक्षित मातृत्व तथा प्रजनन् अधिकार नियमावली, २०७७ को दफा १२ मा उल्लेख भए बमोजिमको गर्भपतन सेवा सम्बन्धि तालिम लिएको स्वास्थ्यकर्मीले मात्र यो सेवा दिन सक्ने व्यवस्था छ ।

सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीहरुले ‘एमए, एमभीए, डी एण्ड ई र एमआई’ लगायतका तालिम लिएको हुनुपर्छ । १० हप्तासम्मको सुरक्षित गर्भपतन सेवालाई एम र एमभिए तालिम लिएका जनशक्तिले सेवा उपलब्ध गराउन सक्छन् । १२ हप्तासम्मको जनशक्तिलाई एमभीए, १३ देखि १८ हप्तासम्मको गर्भपतन सेवाका लागि एमआई  तालिम लिएका जनशक्ति आवश्यक पर्छन् ।

अनमिले एमए, स्टाफ नर्स÷वाईफ्री र एमबीबीएसले एमए र एमभीए, एमडीजीपीले एमए, एमभीए, डी एण्ड ई र एमआई तालिम लिन सक्छन् । यसैगरी स्त्रीरोग विशेषज्ञले एमए, एमभीए, डी एण्ड ई र एमआई तालिम लिने व्यवस्था छ । यी तालिमहरु तालिम प्रदायक संस्थाले तोकेको निश्चित अवधिको तालिम हुन्छन् ।

दुई हजार बढी सेवाग्राही

सुर्खेतमा सुरक्षित गर्भपतन सेवा लिनेहरुको संख्या प्रत्येक वर्ष उस्तै देखिन्छ ।  जिल्लामा २०७८÷०७९ मा दुई हजार ६ सय १५ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतको तथ्यांक छ । २०७७÷०७८ मा दुई हजार चार सय ९१ जना र २०७६÷०७७ मा दुई हजार ६ सय तीन जनाले सुरक्षित गर्भपतन सेवा लिएको कार्यालयले जनाएको छ ।

तीन आर्थिक वर्षमा २० वर्ष भन्दा कम उमेर भएका महिलाहरुको संस्था आठ सय ४३ जना रहेको छ । २०७६÷०७७ मा दुई सय ७५ जना, २०७७ -७८ मा  २ सय ४२ जना र  २०७८ -७९ मा ३ सय २६ जना २० वर्ष मुनिका महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन ।

सुरक्षित गर्भपतन सेवा महिला अधिकार 

कानूनमा समेत सुरक्षित गर्भपतन सेवालाई महिलाको अधिकारका रुपमा व्याख्या गरिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १५ ले महिलाले सुरक्षित गर्भपतन गर्न पाउने व्यवस्था गरेको छ । गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भ सुरक्षित पतन गराउन सकिन्छ ।

यसका साथै गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्ने वा विकलाङ बच्चा जन्मने भनी इजाजत प्राप्त चिकित्सकको राय÷सल्लाह भएमा महिलाको मञ्जुरी बमोजिम २८ हप्तासम्मको समेत गर्भपतन गराउन सकिने ऐनमा व्यवस्था छ । जबरजस्ती करणी वा हाड् नाता करणी, एचआईभी वा त्यस्तै प्रकृतिको रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु वा निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा समेत २८ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ ।

भ्रुणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुनसक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको, वंशाणुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवती महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गर्न सकिने कानूनी व्यवस्था छ ।

यस्तो सेवा प्राप्त गर्न चाहने गर्भवती महिलाले इजाजत प्राप्त स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई तोकिए बमोजिमको ढाँचामा मञ्जुरीनामा दिनु पर्छ । तर भ्रुणको लिङ्ग पहिचान गरी गर्भपतन भने गर्न मिल्दैन । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐनको दफा १७ मा लिङ पहिचान गरी गर्भपतन गर्न नहुने व्यवस्था छ ।

यसरी गर्भपतन गराएमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १८८ बमोजिमको सजाय हुन्छ । लिंग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँ जरिवाना र ६ वर्षसम्मको कैद सजाय तोकिएको छ । यसमा १२ हप्तासम्मको गर्भ भए एक वर्ष कैद र दश हजार जरिवाना, १२ देखि २५ हप्तासम्मको गर्भ रहे तीन वर्षसम्म कैद र ३० हजार जरिवाना तथा २५ हप्ताभन्दा बढीको भए ६ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ  । 

तपाईको प्रतिक्रिया