चाड सकेर गाउँ पसे उम्मेदवार: ‘ठूला नेता’ हात जोड्दै गमक्क, मतदाता त्यसैमा मख्ख

सिर्जना बुढाथोकी
सुर्खेत,१४ कात्तिक ।

दशैंतिहार लगायतका चाडवार्डका कारण घरपरिवार र आफन्तसंगै व्यस्त भएका आगामी निर्वाचनका उम्मेदवार एवं राष्ट्रिय राजनीतिका हस्तिहरू अहिले हात जोड्दै, मतदाताका घरदैलो धाउन शुरू गरिसकेका छन् । चाडबाडका कारणले सार्वजनिक रूपमा चुनाव प्रचारको अन्य काम गर्न नभ्याएपनि सामाजिक सञ्जालमार्फत भोट माग्ने र चाडबाडकै बीचमा पनि पार्टी कार्यकर्ता र मतदातासँग अन्तक्रिया भने गर्दै आएका थिए ।

चाडबाडबाट उछार पाएलगत्तै गाउँ पसेका राष्ट्रियस्तरको ‘ठूला नेता’को छवि बनाएका उम्मेदवारहरू अहिले जनता र मतदाता अगाडि हात जोड्दै आ–आफ्नो पक्षमा मत माग्दै घरदैलो गरिरहेका छन् । नेपाली कांग्रेसका केन्द्रिय उपसभापति एवं सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्णबहादुर खड्का आफ्ना एजेण्डा लिएर मतदाताका घरदैलोमा दिनहुँजसो पुगिरहेका छन् ।

प्रदेशसभातर्फका गठवन्धनका उम्मेदवार बनेका माओवादीका कृष्णबहादुर जीसी, आफ्ना भाइ एवं कांग्रेस जिल्ला उपसभापति विष्णुबहादुर खड्कासहितको दलबलसहित खड्का घरदैलोमा व्यस्त भएका हुन । गाउँघर दौडाहामा रहेका खड्काले विगतको नेतृत्वबाट मतदाता असन्तुष्ट रहेको र विकल्प खोजेको महशुस भएकाले आफू मतदाताका असन्तुष्टि सम्वोधन गर्न घरदैलोमै पुग्ने गरेको प्रतिक्रिया दिएका छन् ।

कतै बसमै चढेर त कतै पैदलै हिंडेर मतदाताका घरदैलोमा पुगिरहेका उनले युवादेखि वृद्धवृद्धासम्मको शुभेच्छा र आशीर्वाद आफूलाई प्राप्त भइरहेको दाबी गरे । गत निर्वाचनमा पराजय व्यहोरेपनि यसपटक सत्ता गठबन्धनका कारण चुनाव जित्न सहज हुने अनुमानसहित यसपटक जित निकाल्ने लक्ष्य लिएर हिंडिरहेका खड्काले माहोल राम्रो रहेको उल्लेख गरे ।

यसैगरी तिहार मनाउन गृह जिल्ला पुगेका अर्थमन्त्री एवं माओवादी केन्द्रका रुकुम पश्चिमबाट प्रतिनिधिसभाका उम्मेदवार जनार्दन शर्मापनि यतिखेर घरदैलोमै व्यस्त छन् । चुनावका बेला उम्मेदवार जनताको घरदैलोमा पुग्दा हात जोड्दै भोट माग्ने गरेपनि तिहारको छेको भएर होला शर्मा जहाँ पुगेपनि सिङ्गारु, मयुरनाच तथा प्रगतिशील गीतसंगीतमा नाचगान गर्दै आएका छन् ।

आफ्नो चुनावी अभियान नभनेर ‘जनभेटघाट’ कार्यक्रम भन्ने गरेका शर्माले अरू उम्मेदवारजस्तो दैलोमा पुग्नासाथ हात जोडेर विभिन्न आश्वासन बाँड्ने काम भने गरेका छैनन् । शर्मा जहाँ पुगेपनि, सबैको सन्चो–बिसन्चो सोध्ने र स्थानीयबाट आशीर्वाद माग्ने गरेपनि चुनाव र चुनावी घोषणाका सम्बन्धमा कुरै गर्दैनन् ।

यता, माओवादी केन्द्रका उपहासचिव एवं पूर्वमन्त्री शक्ति वस्नेत हात जोड्दै आफ्नो आँगनको टेकेपछि जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाडाँकी रामकली बुढा केहिबेर दंग परिन् । लिम्सामा आयोजित प्रशिक्षण कार्यक्रममा घरको कामले जान नपाएकी बुढाले आफ्नो गाउँमा बास बस्न बस्नेत आएपछि जनयुद्धमा गुमाएको छोराले घर खोज्दै आएझैँ लागेको प्रतिक्रिया दिइन ।

नौ महिना गृहमन्त्री, चार महिना स्वास्थ्यमन्त्री र दुई वर्षभन्दा बढी समय वनमन्त्री भइसकेका बस्नेत पार्टीको माथिल्लो तहमा पुग्ने जाजरकोटको पहिलो नेता हुन् । छ ‘ब’ सिद्धान्त कार्यान्वयन गर्ने भन्दै भोट माग्दै हिंडेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही अहिले पनि त्यहि दोहोर्याउँदै आफूले हुम्ला बनाउने सपना नभइ योजना लिएर आएको बताउने गरेका छन ।

उनले कर्णाली करिडोर निर्माण कार्यको सुरुवात गर्ने जसपनि आफूले नै लिने गरेका कांग्रेस केन्द्रिय सदस्य शाही २०७४ को निर्वाचनमा कर्णालीभरमा कांग्रेसको बिउ जोगाउने गरी प्रत्यक्षतर्फ चुनाव जित्ने एक मात्र नेता हुन । पूर्व पर्यटनमन्त्री समेत रहेका एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सभा सदस्यका उम्मेदवार यामलाल कंडेलले विकासका लागि एमाले सधै प्रतिवद्ध रहेको भन्दै एमालेलाई जिताउन समेत आग्रह गर्दै आएका छन् ।

आइतबार वडा नं १३ का विभिन्न वडामा घरदैलो गर्दै उनले सडक, खानेपानी, लालपूर्जा र अन्य विकासको पुरानै आश्वासन दिंदै भोगको अपिल गरिरहेका छन् । सुर्खेतको प्रदेश सभा (क) अन्तर्गतका वडाहरूमा कात्तिक २८ गतेसम्म घरदैलो अभियान सञ्चालन गर्ने एमालेको प्रचार विभागका प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिएका छन् ।

चाड सकेर गाउँ पसे उम्मेदवार: ‘ठूला नेता’ हात जोड्दै गमक्क, मतदाता त्यसैमा मख्ख

१२ वर्षसम्म कैद सजाय माग गर्दै सन्दीप

चाड सकेर गाउँ पसे उम्मेदवार: ‘ठूला नेता’ हात जोड्दै गमक्क, मतदाता त्यसैमा मख्ख

आर्थिक भार थप्दै निर्वाचन, पैसा नहुने चुनावदेखि

Leave a comment

Your email address will not be published. Required fields are marked *