१२ वर्षसम्म कैद सजाय माग गर्दै सन्दीप लामिछानेविरूद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौं,१४ कात्तिक ।

नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध आज सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने भएको छ। काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध सोमबार मुद्दा दर्ता गरिन लागेको कार्यालय प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि न्यौपानेले जानकारी दिए ।

‘फाइल तयार पारेका छौ। आजै मुद्दा दर्ता हुन्छ,’ उनले  भने । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन।

प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ। उक्त उफदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको हो।

यस्तै पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै मागदाबीसमेत गरेको परिसर स्रोतले बतायो। क्षतिपूर्ति दिन प्रहरीले लामिछानेको सम्पत्ति पनि छानबिन गरेको खुलेको छ । ‘पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भएकाले हामीले उनको सम्पत्ति पनि छानबिन गराएका छौं। यथोचित क्षतिपूर्ति दिन पनि माग गरेका छौं,’ स्रोतले भन्यो, ‘मालपोत, राष्ट्र बैंक, क्यानलगायत विभिन्न निकायमा पत्राचार गरेर हामीले सम्पत्ति विवरण पनि खुलाएका छौं।’

प्रहरीले लामिछानेविरूद्ध होटलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ। लामिछानेले इन्कारी बयान दिँदै आएका छन्। तर प्रहरीले यसमा उनीविरूद्धको मुद्दा पुष्टि हुने प्रमाण संकलन गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

‘मुद्दामा चाहिने खालका प्रमाणहरू सबै संकलन गरेका छौं। थुप्रैसँग बयान पनि लिएका छौं,’ उनले भने। यस्तै उनीहरूबीच भएका कुराकानीका च्याटहरू पनि रिकभर गरेको स्रोतले जनाएको छ। प्रहरीले अर्का क्रिकेटर देव खनाल, होटलका सञ्चालक, होस्टेल सञ्चालक लगायतसँग बयान लिएको छ ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछाने गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आ रोप लागेको थियो। भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी–२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।

उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। प्रहरीले काठमाडौंको उक्त होटलको सिसिटिभी फुटेजलाई पनि प्रमुख प्रमाणको रूपमा लिएको छ। उक्त फुटेजमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। उनीहरू राति ११ः५५ मा होटल पसेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेका थिए।

सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्। त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ।

सेतोपाटी

१२ वर्षसम्म कैद सजाय माग गर्दै सन्दीप लामिछानेविरूद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा

१२ वर्षसम्म कैद सजाय माग गर्दै सन्दीप लामिछानेविरूद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

चाड सकेर गाउँ पसे उम्मेदवार: ‘ठूला नेता’

Leave a comment

Your email address will not be published. Required fields are marked *