कपुरकोट गाउँपालिकाले शारीरिक अपांगता भएका बालबालिकाको निःशुल्क उपचार गर्दे

सल्यान,१४ कात्तिक ।

सल्यानको कपुरकोट गाउँपालिकाले शारीरिक अपांगता भएका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । शारीरिक अपांगता भएकाले विभिन्न किसिमका समस्या व्यहोर्न नपरोस् र आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नपरोस् भनी गाउँपालिकाले शारीरिक अपांगता भएकाहरूको निःशुल्क उपचार गर्ने भएको हो ।

विकलाङ्ग समूह तथा अपांग बालबालिकाको निःशुल्क उपचार गर्न कपुरकोट गाउँपालिकाले अपांग बाल अस्पताल पुनःस्थापना केन्द्र बनेपासँग पाँचवर्षीय सम्झौता गरेको छ । सम्झौताअनुसार गाउँपालिकाले आफ्नो पालिकाभित्रका १८ वर्षसम्मका शारीरिक अपांगता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनःस्थापना,सहायक सामग्री तथा कृत्रिम अंग उपलब्ध गराउनेछ ।

आर्थिक अभावका कारण सामान्य उपचारबाट वञ्चित भई विभिन्न किसिमका समस्या भोग्दै आएका बालबालिकाको उपचार गर्न र उनीहरुलाई सामान्य अवस्थामा फर्काउन निःशुल्क उपचार गर्न थालिएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले बताए । अपांगता भएका बालबालिकालाई आवश्यकताअनुसार शिविर सञ्चालन गरेर उपचार गरिने उनले जानकारी गराए ।

उनका अनुसार गत वर्षको तथ्यांकअनुसार कपुरकोट गाउँपालिकामा विभिन्न किसिमका शारीरिक अपांगता भएका झन्डै ३ सय बालबालिका छन् । उनीहरूले विभिन्न समस्या भोग्दै आएका छन् । हातखुट्टा गुमाएकाहरू परनिर्भर भएका छन् । खुट्टा बाङ्गिएकाहरू हिँड्न सक्दैनन् । आउँदा दिनमा यस्ता समस्या आउन सक्ने भएकाले बालबालिका आफैँ हिँडन सक्नेछन् । खुट्टा नभएकालाई कृत्रिम खुट्टा राखिने छ भने बाङ्गिएकाहरूले शल्यक्रिया गरेर सोझो बनाइनेछ ।

अपांगता भएका बालबालिकाको निःशुल्क उपचार गर्न अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्र बनेपासँग सम्झौता भएपश्चात पुनःस्थापना केन्द्रले ८५ प्रतिशत सहयोग गर्ने र १५ प्रतिशत पालिकाले सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले बताए । विगतमा बाल अस्पताल पुनःस्थापना केन्द्रले कहिलेकाहिँ शिविर सञ्चालन गरेर उपचार गर्दै आए पनि पालिकाले नियमित उपचार गर्न थालेको पहिलो भएको उनले जानकारी दिए ।

‘बाल अस्पताल पुनःस्थापना केन्द्रले वर्षमा जिल्लाका एक÷दुई स्थानमा शिविर सञ्चालन गर्दा पालिकाका अपांगता भएका बालबालिकालाई शिविर सञ्चालन गरेको स्थानसम्म लैजान समस्या हुने गर्थ्यो । कतिपय जान नसक्दा उपचारबाट वञ्चित हुन्थे । आउँदा दिनमा अपांगता भएका बालबालिकाले त्यो समस्या भोग्नु पर्दैन‚’ उनले भने‚ ‘सहज रुपमा उपचार पाउँछन् । हिँड्न नसक्नेहरू आफैँ हिँड्न सक्छन् ।’

गत वर्षको तथ्यांकअनुसार पालिकाभित्र विभिन्न खालका अपांगता भएका ३ सय बालबालिका भए पनि अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्र बनेपासँग सम्झौता भएलगत्तै अपांगता पहिचानको काम सुरु भएको उनले जानकारी गराए । उनका अनुसार पालिकाले औषधि, मेडिकल सामग्री, शल्यक्रिया, बेड तथा खानाबापत लाग्ने खर्चको व्यवस्था गर्नेछ । अपांङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सहायक सामग्रीहरू कृत्रिम हातखुट्टा, ह्वील चियर, वाकर, वैशाखी, काम्रो आदि सामग्री निःशुल्क रुपमा उपलब्ध गराउनेछ ।

अपांगता पुनःस्थापना केन्द्रका सुपरभाइजर होमराज केसीले सल्यानका १० पालिकामा अपांगता भएका धेरै बालबालिका भएका र विगतमा पनि शिविर सञ्चालन गरेर उपचार गर्ने क्रममा सबैलाई समेट्न नसकेपछि पालिकाअनुसार सम्झौता गरेर विशेषज्ञ टोलीसहित उपचार गर्न थालिएको बताएका छन् । यस कार्यले पालिकाका सबै अपांगता भएका बालबालिकाले सहज उपचार पाउने उनको भनाइ छ ।

कान्तिपुर

कपुरकोट गाउँपालिकाले शारीरिक अपांगता भएका बालबालिकाको निःशुल्क उपचार गर्दे

कांग्रेसको आडले ह्याट्रिक गर्ने दाउमा शक्ति

कपुरकोट गाउँपालिकाले शारीरिक अपांगता भएका बालबालिकाको निःशुल्क उपचार गर्दे

पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा

Leave a comment

Your email address will not be published. Required fields are marked *