कांग्रेसको आडले ह्याट्रिक गर्ने दाउमा शक्ति

जाजरकोट,१४ कात्तिक ।

माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र कांग्रेसका राजिवविक्रम शाह २०७४ सालको चुनावमा प्रतिस्पर्धी थिए। एमाले सहितको बाम गठबन्धनका साझा उम्मेदवार बस्नेतलाई कांग्रेस उम्मेदवार शाहले कडा टक्कर दिएका थिए। शक्तिले ३२ हजार २८१ मत प्राप्त गरी विजयी भएका थिए। राजिवले २३ हजार २८९ मत प्राप्त गरे। माओवादी केन्द्रका उपमहासचिव समेत रहेका शक्ति गृह, स्वास्थ्य र वन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

केन्द्रीय राजनीतिमा पहुँच राख्ने र माओवादी केन्द्रका प्रभावशाली नेताका रूपमा रहेका शक्ति यसपटक अघिल्लो चुनावका प्रतिस्पर्धी राजिवकै सहयोगमा ह्याट्रिक गर्ने दाउमा छन्। जिल्लामा लोकप्रिय छवि बनाएका राजिव र शक्ति सँगसँगै भोट मागिरहेका छन्। अघिल्लो चुनावमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका उनीहरू यसपालि भोट साटासाट गर्ने गरी चुनावी मैदानमा छन्।

बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा शक्ति प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएका छन् भने राजिव प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन्। शक्तिले राजिवलाई सघाउने छन् भने राजिवले शक्तिलाई सघाउने छन्।

राजिव भन्छन्– ’शक्ति भान्जा देशकै लिडर हो। जिल्लाका लागि झनै चाहिने मान्छे हो। म पनि जिल्लामा केही गरौं। मेरो पुख्यौली ठाममा भनेर नै समाजसेवा गर्दागदै राजनीतिमा आएको हो। हामी दुवै जिल्लाका लागि चाहिने मान्छे हो। त्यही भएर मैलै पार्टीको निर्देशन अनुसार संघमा छोडेर प्रदेशमा आएको हुँ। प्रदेशबाट पनि जिल्लाको धेरै विकास गर्न सकिन्छ। कर्णालीको समग्र विकास गर्न सकिन्छ। हाम्रो विश्वास छ। हामी आगामी पाँच बर्ष भित्र जिल्लालाई कायापलट गर्नेछौ।’

प्रदेश ’क’ मा पनि युवा नेता कांग्रेस सभापति बेदराजजी चुनाव लडेको उनले बताए। ’संघमा माओवादी र दुवै प्रदेश कांग्रेसले पाएकाले पनि हामीलाई प्रचार गर्न र मत माग्न सजिलो भएको छ। हाम्रो जित सुनिश्चित छ नेता शाहले भने ’हामी इमान्दारीपूर्वक जाजरकोटको समृद्धिका लागि काम गर्नेछौं। हामीलाई विश्वास गरेर भोट दिनुहोस्।’

माओवादी केन्द्रका नेता बस्नेत पनि जिल्लाको समृद्धिका लागि राजिव र आफू बाम लोकतान्त्रिक गठबन्धनमार्फत एक ठाउँमा उभिएको बताए। जिल्लाका महत्वपूर्ण पूर्वाधार विकासको जग बसालेको बताउँदै आमागी पाँच वर्षभित्र जिल्लामा देखिने र अनुभूति हुने गरी विकास र समृद्धिको बाटामा लम्कने दावी गरे।

एक मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटमा बस्नेतका प्रतिस्पर्धीका रूपमा एमालेका निरज आचार्य र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की खडा भएका छन्। एमालेका आचार्य र स्वतन्त्र कार्की दुवै जना यस अघि बस्नेतका सारथी थिए। २०७४ सालमा बामगठबन्धन साझा उम्मेदवार रहेका बस्नेतलाई दुवै जनाले सघाएका थिए।

आचार्य एमालेमा थिए भने कार्की माओवादीमै थिए। बामगठबन्धन भएपछि कार्की विप्लप नेतृत्वको नेकपा हुँदै स्वतन्त्र उम्मेदवार हुन पुगे भने आचार्य एमालेका उम्मेदवार। आचार्य र कार्की दुवै नयाँ अनुहार हुन्। बस्नेत भने २०७० सालमा एक्लै र २०७४ सालमा एमालेको सहयोगमा चुनाव जितेका थिए। यस अघिका दुई जना सारथी आचार्य र कार्की अहिले प्रतिस्पर्धामा छन्।

माओवादी उम्मेदवार बस्नेत तेस्रो पटक चुनाव जितेर ’ह्याट्रिक’ गर्ने दाउमा छन्। सत्तारूढ कांग्रेस र एकीकृत समाजवादीको साथ पाएकाले पनि उनले सहज महसुस गरेका छन्। वैशाख ३० गते भएको स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा एमालेले २४ हजार ४ मत, कांग्रेसको २२ हजार ३४२ र माओवादीको १८ हजार ६२२ मत छ।

एकीकृत समाजवादीको २ हजार ३३४ मत देखिन्छ। कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीको भोट र एमालेको भोटको अन्तर करिव १८ हजारको छ। आफ्नो मत जोगाउँदा पनि गठबन्धन सहज अवस्थामा देखिन्छ तर क्रस भोट, स्वतन्त्रले काट्ने मत र किनबेच हुने मतले चुनावी नजिता तलमाथि पार्न सक्ने सम्भावना पनि उत्तिकै छ।

अन्नपुर्ण

कांग्रेसको आडले ह्याट्रिक गर्ने दाउमा शक्ति

प्रचारका लागि उम्मेदवार लिमी जान पाएनन्

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!