सरकारले थोरै भएपनि मासिक तलब दिए हुन्थ्यो

सिर्जना बुढाथोकी
सुर्खेत,१४ मंसिर ।
सुर्खेतको वीरेन्द्रनगर–५ चिसापानीमा वि.सं. २०२८ सालमा मेरो जन्म भएको हो । चिसापानीको पनि माथिल्लो भेग जसलाई ढाब भन्ने गर्थे त्यहाँ मेरो बाल्यकाल बितेको हो । हामी दश भाईबहिनी हौ, पाँच भाई पाँच बहिनीमध्येकी कान्छी हुँ म । म डेढ वर्षको हँुदा मेरो बुवाको विरामी भएर मृत्यु भयो ।
जुन समयमा म बुझ्ने पनि थिइन् जब बुझ्ने भए बुवाको हात र साथ थिएन । जसोतसो मेरी आमा र दाईहरुले दुःख गरेर हामी हुर्कियौ । वीरेन्द्रनगरको इत्राम स्कुल, भैरवस्थान स्कुलमा गरेर मैले कक्षा ८ सम्म पढ्ने मौका पाएँ र पढे । आर्थिक समस्याका कारण मैले त्यो भन्दामाथि पढ्न पाईन् ।
कक्षा आठ पास गरेपछि मेरो मागी विवाह भयो । विवाह पछि म लेकफर्सा–७ मा आफ् नो कर्मथलो आएँ । विवाहपछि पराई घर आएपछि पढाईको के आशा कामको मात्रै प्यारो हुँदो रहेछ । त्यसपछि मेरो दिन घर व्यवहार चलाउँदै खेतबारी काम धन्दा मै बित्न थाल्यो ।

समय बित्दै गयो तीन छोरी र एक छोराको जन्म भयो । छोराछोरीलाई पढाउनका लागि श्रीमान्को कमाई नभएपछि निकै सकस भयो र भारततर्फ जानुभयो । भारतमा काम गर्दै परिवारका लागि पैसा पठाउन थाल्नुभयो । दुःख सुख गरेर मेरो छोरीहरु कक्षा ८ सम्म त पढे त्यसपछि विवाह गरेर गए ।
अनि छोराले भने कक्षा १२ सम्म पढ्यो । वि.सं. २०५३ सालदेखि लेखफर्सा वडा–७ मा रहेको आमा समूहका सदस्यहरुको प्रोत्साहन र उत्प्रेरणाले गर्दा मैले स्वास्थ्य स्वयम्सेविकाका रुपमा छनौट हुने अवसर पाएँ । उहाँहरुकै विश्वास र मायाले म आजका मितिसम्म मका रुपमा यस ठाँउमा परिचित छु।
म बिहे भएर गएको केहि समयपछि त्यहाँकी एक मात्रै स्वयम्सेविकाले काम गर्न नभ्याउने भएपछि गाँउमा मलाई मेरो समाजले इमान्दारिता र काम गर्न इच्छुक भएकाले पनि काम गर्न प्रोत्साहन गर्नुभयो । म स्वयम्सेविका हँुदा पोषण तथा खाद्य सुरक्षा व्यवहार परिवर्तन भन्ने तालिम लिएर पहिलो पटक लिएर त्यसलाई व्यवहारमा लागू गर्दै गाउँघरमा भएका समस्या समाधानतर्फ लागिपरे ।
मैले आमा समूहलगायत सुनौला हजार दिनका आमाहरुलाई बच्चा र आमाहरुका लागि चाहिने पोषणयुक्त खाना हरेक बार खाना चार भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै खाना बनाउन र खुवाउन सिकाउने काम गरे । पोषण मात्रै होइन बालबालिकाले पाउनुपर्ने पूर्णखोपको बारेमापनि घर घरमा गएर जानकारी गराउने काम गर्ने गर्छु।
जसका कारण सानो समस्या हुँदा अस्पताल जानुपर्छ, बालबालिकाको खोपदेखि नियमित चेकजाँचका लागि जाने कुरा र गर्भवती महिलाले गर्नुपर्ने चेकजाँचका सवालमा पनि अहिले मेरो गाउँ पूर्ण जानकार छ ।
म आफैपनि पहिलो सन्तान जन्माउँदा स्वास्थ्यचौकी जान नचाहने गाउँका दिदीबहिनीहरुलाई अहिले नियमित गर्भ जाँचका लागि स्वास्थ्यकेन्द्र नियमित जाने बनाएकी छु, गाँउलाईनै परिवर्तन गरेकी छु। मैले सेवा शुरु गर्दा गाउँमा स्वास्थ्यचौकी नै थिएन र मैले आफ्नो घरमै राखेरपनि सुत्केरी सेवा दिएकी छु।
सामान्य टाउको दुखाई भएकादेखि सुत्केरी हुनेसम्मका मेरै घरमा आउने गर्थे । हाम्रो गाउँमा स्वास्थ्यचौकी थिएन, जगंलको बाटो करिब आधा घण्टा लाग्थ्यो स्वास्थ्यचौकीमा जानका लागि । अहिलेपनि सामान्य उपचार मैले नै गर्छु। स्वयम्सेविकाका लागि मात्रै होइन हरेक कामका लागि मैले आफ्नो विश्वास कायम राखेकाले सबैले सम्झिनु हुन्छ ।
स्वास्थ्य संस्थामा जाँदा हुने फाइदा र अकाल मृत्युको विषयमा सिकाउन अग्रसर भएकी छु। त्यो खाना जुटाउनका लागि मैले आफ्नै खेतबारीमा उत्पादन गर्नका लागि कृषि तथा खाद्य सुरक्षाले दिएको सल्लाहबाट उत्पादन गर्न थाले । श्रीमान पनि घर फर्किसकेकाले उहाँले खेतबारीमा काम गर्दै यस कार्यमा मलाई सघाउ पुराउन थाल्नुभयो ।
कृषि तथा खाध्य सुरक्षाले तरकारी खेतीको लागि आवश्यक सामाग्री ड्रम पाइप, बिउबिजन र उनीहरुलेनै सिकाएका आधुनिक तरिकाले तरकारी खेती गर्दा राम्रो उत्पादन भएर सघाउ भयो । स्वयम्सेविका भएदेखि मैले आफ्नो परिवारसंगै सिंगो गाँउको रेखदेख गर्न थाले ।
खाँदै गरेको गास छोडेर पनि छिमेकमा परेको समस्यामा मलम लगाउन हिडे । बेलाबेखतमा हुने तालिमहरुमा सहभागी हुँदा र स्वास्थ्यचौकीमा भएका विभिन्न कार्यक्रममा सहभागी हुँदा पाउने भत्ताले मात्रै हामी स्वयमसेविका भएका छौ । गाउँ समाजका लागि दिन रात नभनी खटिने हामीलाई सरकारले मासिक रुपमा थोरै भएपनि तलब दिए हुन्थ्यो भन्ने मेरो माग हो खासमा ।
अहिले पनि मैले गर्भवती र सुत्केरी आमाका अनि बालबालिकाका लागि चाहिने आवश्यक पौष्टिक खाना, प्रोटिन, भिटामिन, कार्बोहाइड्रेट जस्ता खाने कुराहरुको तालिमहरुले हामीलाई धेरै कुरा सिकायो र अहिले समाजमा यसैलाई महत्व दिइरहेका छौ ।
अहिले मानिसको सोचाई परिवर्तन भएको छ । स्वास्थ्यचौकीसम्म कहिल्यै नजाने समाज अहिले हरेक सानो समस्यामा पनि जान्छन् र अनुभवी चिकित्सकको माग गर्ने भैसकेका छन् । म कक्षा ८ मात्रै पढेकी स्वयम्सेविका बनेपछि यति धेरै कुरा सिक्ने अवसर मिल्यो की मलाई आज यसले सक्षम बनाएको अनुभूति भएको छ ।
गाउँघरमा कसैलाई स्वास्थ्य सम्बन्धि समस्या पर्दा मात्र होईन छरछिमेक र समाजमा झैंझगडा हुँदापनि मै पुग्नुपर्ने अवस्था भएको छ । गाउँघरमा आमा समूहले पनि निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । हामीले केहि तालिममा सहभागी भएर सिकेका ज्ञान आमा समूहको बैठकमा जानकारी गरायो भने टोलभरीको मानिसले थाहा पाउनुहुन्छ र यसले गर्दा समाजमा छिटो परिवर्तन हुने र सिकाईको काम गर्ने गरेको छ ।
म सामान्य परिवारमा जन्मिएर सामान्य परिवारमै विवाह गरेर आएकी थोरै मात्रै पढेकी मान्छे अहिले समाजमा परेका हरेक घटनामा अग्रजका रुपमा भूमिका निर्वाह गर्न पाउँदा निकै खुशी छु। पढेको भन्दा परेकोले केहि गर्न सक्छन् भन्ने कुरा पनि केहि हदसम्म मेरो जीवनमा सहि सावित भएको छ ।
अहिले नमूना कुखुरा पाल्ने तरिकादेखि तरकारीका लागि धेरै कुराको सिकाई भएकाले धेरै ज्ञान प्राप्त भएको छ । विषादीमुक्त गाउँपनि निर्माण गरिसकेका छौ हामीले । अब अरु नयाँ पुस्तालाई मैले आफ्नो स्थान दिने निधोसम्म गरेकी हुँ तर मलाई मेरो काम देखेर छोड्नै दिनु हुँदैन ।
काम गर्दा खुशी त हुन्छ खुशीले मात्रै केहि दिदैन रहेछ । नामले मात्रै खान दिदैन रहेछ त्यसैले सरकारले पनि यसतर्फ ध्यान दिन आवश्यक रहेको देख्छु मैले । दुःख छ तर दुःख मिहिनेत अनुसारको पारिश्रिमक नहुँदा निकै सकस हुने गर्छ । मैले सक्ने बेलासम्म सेवा गरे अब आफ्नै खेतबारीमा खेतीपाती गरेर खर्च धान्ने योजना पनि बनाएको छु।
महिला भएकै कारण खेप्नुपर्ने दुःख, संघर्ष, पीडा भन्दामाथि उठेर सिकाई, आत्मनिर्भर र आयआर्जनका सीपमूलक काम गर्न आवश्यकता छ । म पढेको छैन मैले घरकै काम धन्दामा व्यस्त हुने हो भन्ने सोच भन्दामाथि उठेर कसरी के कुरा सिक्ने नयाँ कुराको ज्ञान लिने काम गरे मात्रै अघि बढ्न सकिने कुरामा हामी आफै अग्रसर हुनुपर्ने जस्तो लाग्छ मलाई ।
हामीले सिक्ने र सिकाउने कुरालाई आफैले चासो दिएर लाग्नुपर्छ अनि मात्रै सफल हुन सकिन्छ । महिला भनेको चुलोचौको र घरधन्दामै व्यस्त हुने हो भन्ने सोचनै हामी आफैले परिवर्तन गर्नपर्छ भन्ने लाग्छ मलाई ।






