कर्णाली प्रदेशसभामा पुरानै पाँच दल

पुनम वि.सि.
सुर्खेत,१४ मंसिर ।
कर्णाली प्रदेशसभामा पहिलो कार्यकाल प्रतिनिधित्व गरेका पुरानै पाँच दलले नै दोश्रो कार्यकालमा पनि उपस्थिति जनाउने भएका छन् । समानुपातिकतर्फको मतगणना सकिएसंगै दलहरुले पाएको मतका आधारमा कर्णालीको प्रदेशसभामा साविककै दलहरुको उपस्थिति रहने निश्चित भएको हो ।
नेकपा (एमाले) र नेपाली काँग्रेसले पाँच–पाँच जना, नेकपा (माओवादी केन्द्र)ले चार जना, नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक– एक जना सांसद पाउने निर्वाचन आयोगको प्रारम्भिक तथ्यांकले जनाएको छ । कर्णालीमा खसेकामध्ये कुल पाँच लाख ७७ हजार आठ सय २९ मत सदर भएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

त्यसमध्ये एमालेले एक लाख ८३ हजार नौं सय ५०, काँग्रेसले एक लाख ७० हजार सात सय ५६ पाएका छन् । समानुपातिक मत पाउनेमा तेश्रो बनेको नेकपा माओवादी केन्द्रले एक लाख ३७ हजार ६ सय २९, नेकपा–समाजवादीले ३५ हजार आठ सय २६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार एक सय ८६ मत प्राप्त गरेका छन् । समानुपातिक निर्वाचन प्रर्णालीतर्फ सहभागी अरु दलहरुले भने ‘थ्रेसहोल्ड’ कटाएनन् ।
समानुपातिक निर्वाचनमा कुल सदर मतको तीन प्रतिशत बढी मत प्राप्त गर्ने दलबाट उम्मेद्वार छनौट हुने व्यवस्था हुन्छ । कर्णाली प्रदेशसभाका लागि प्रत्यक्षतर्फ नौं सिट र समानुपातिकबाट पाँच सिट पाएको कांग्रेस १४ जना सदस्यसहित प्रदेश सभामा पहिलो दल बनेको छ ।
प्रत्यक्षबाट नौं सिट र समानुपातिकबाट चार सिट गरी १३ जना सदस्यसहित नेकपा (माओवादी केन्द्र) दोस्रो तथा प्रत्यक्ष र समानुपातिकतर्फ समान पाँच–पाँच सिट गरी १० सिट पाएको एमाले तेश्रो दल बनेको छ । समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सिट पाएको छ भने प्रत्यक्षतर्फ एक जना स्वतन्त्र उम्मेद्वार निर्वाचित भएका छन् ।
‘थ्रेसहोल्ड’ नपु¥याउनेहरु
कर्णाली प्रदेशसभाका लागि निर्वाचनमा सहभागिता जनाएका कुल २८ दलमध्ये २४ वटा दलले ‘थ्रेसहोल्ड’ नै कटाउन सकेनन् । पाँच लाख ७७ हजार आठ सय २९ सदर मत हुँदा थ्रेसहोल्ड कटाउनका लागि न्यूनतम् १७ हजार तीन सय ३५ मत अनिवार्य ल्याउनुपर्ने भएपनि २३ वटा दल असफल भए ।
नेमकिपा ८ हजार ९९३, नेकपा (माक्र्सवादी लेलिनवादी) ३ हजार ९९, नेकपा माओवादी समाजवादी १ हजार ८७१, राष्ट्रिय जनमोर्चा १ हजार ८३६, हाम्रो नेपाली पार्टी १ हजार ६६२ र जनता समाजवादी पार्टीले १ हजार १२४ मत मात्र पाए । यसैगरी राप्रपा नेपालले ६०६, मंगोल नेशनल अर्गनाइजेशन ५७४, नेपाली काँग्रेस (बी.पी.) ५३८, विवेकशील साझा पार्टी ४८९, जनसमाजवादी पार्टी, नेपाल ४४५, नेपाली जनता दलले ४२३ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरी नेश्नलिष्ट पिपल्स पार्टी ४११, नागरिक उन्मुक्ति पार्टी ३८६, नेपालका लागि नेपाली पार्टी ३६०, नेपाल आमा पार्टी ३२६, सामाजिक एकता पार्टी ३२०, संघइी लोकतान्त्रिक राष्ट्रिय मञ्च ३१२, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल २५४, राष्ट्रिय जनमुक्ति पार्टी २०४, नेपाल लोकतान्त्रिक पार्टी १४६, बहुजन शक्ति पार्टी ६३ र नेपाल संघइी समाजवादी पार्टी ४० मत मात्र पाएका छन् ।
समानुपातिक छनौट व्यवस्था के छ ?
समानुपातिकतर्फ उम्मेद् वारहरुको बन्द सूचि निर्वाचन अघि नै राजनैतिक दलहरुले निर्वाचन आयोगलाई बुझाईसकेका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले पाएको पाँच–पाँच जना सोहि बन्द सूचिबाट छनौट हुन्छन् ।
पाँच जना उम्मेद्वार पाएका दलहरुमा आदिवासी जनजातीबाट एक जना, खस आर्यबाट तीन जना र दलितबाट एक जना छनौट हुने व्यवस्था प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ मा रहेको छ ।
छनौट भएका यी समूहमध्ये दुई जना पिछडिएको क्षेत्रबाट समेत हुनुपर्ने निर्वाचन आयोगको सुर्खेत स्थित प्रदेश कार्यालयका निर्वाचन अधिकृत दुर्गा चालिसेले जानकारी दिए ।
यसैगरी चार जना उम्मेद्वार पाएको दलका लागि आदिवासी जनजाति समूहबाट एक जना, खस आर्यबाट दुई जना र दलित समुदायबाट एक जना उम्मेद्वार छनौट हुन्छ । यी उम्मेद् वार समूहमध्य एक जना पिछडिएको क्षेत्रबाट हुनुपर्ने व्यवस्था छ । एक जना मात्र उम्मेद्वार पाएको दलको खसआर्य समूह तर्फ छनौट हुने निर्वाचन अधिकारी चालिसेले जनाकारी दिए ।






