अविरल अनि अविचलित पूर्णबहादुर

सिर्जना बुढाथोकी
सुर्खेत,१० मंसिर ।
नेपाली कांग्रेसका उपसभापति एवं पाँच दलीय गठवन्धनका साझा उम्मेदवार पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लागि पाँचौ पटकका लागि विजयी भएका छन् । नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष एवं निवर्तमान सांसद धु्रवकुमार शाहीलाई ११ हजार ६१९ को फराकिलो मतान्तरले पराजित गर्दै खड्का विजयी भएका हुन् ।
खड्काले ४२ हजार ६०७ मत पाउँदा निकटतम् प्रतिस्पर्धी शाहीले ३० हजार ९८८ मत पाए । नेपालीका कांग्रेसका समकालिन नेताहरुमध्ये तुलनात्मक रुपमा शालिन, विवादरहित र निष्कलंक मानिने नेता खड्काको राजनीतिक इतिहास भने विद्रोही पृष्ठभूमिको छ । पञ्चायती व्यवस्थाविरुद्ध विद्रोह गर्ने क्रममा २०३६ सालको प्रतिवन्धित अवस्थामा समेत बहुदल र निर्दलबीचको चुनावमा कांग्रेसले भाग लिने निर्णय गर्दा खड्काले वीरेन्द्रनगरमा मेयरको चुनाव जितेर पञ्चायतविरुद्ध विद्रोहको बिगुल फुकेका थिए ।

पञ्चायती व्यवस्थालाई समर्थन गर्नुपर्ने व्यापक दवाबमापनि अविचलित भई प्रजातन्त्रप्रतिको आफनो निष्ठामा अविरल अडिग रहेकै कारण तत्कालीन अदालतको आदेशबाट उनी मेयर भएको ६ महिनामै पदच्यूत गरिए । २०३१ सालबाट राजनीतिक यात्रा शुरु गरेका खड्का २०४८, २०५१, २०५६ मा सुर्खेत निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदै संसद र सरकारमा नियमित रुपमा आप्नो उपस्थिति जनाइरहने नेता हुन् ।
नेपाल सरकारको गृहमन्त्री, युवा तथा खेलकुद मन्त्री, सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्री भइसकेका खड्का हाल पार्टीमा प्रभावशाली उपसभापति छन् । कर्णालीबाट पार्टी र सरकारको उच्च पदमा पुग्ने उनी एक्ला नेता हुन् । संविधानसभाको पहिलो निर्वाचनमा आपूm समानुपातिकमा बसेर प्रत्यक्षतर्फको निर्वाचनमा लालबहादुर घलेलाई मैदानमा उतार्दा र २०७४ सालमा एमाले माओवादीको गठवन्धन भएका बेलाबाहेक अरु सबै निर्वाचनबाट संसदनमा उनको उपस्थिति टुटेको छैन ।
हालसम्म कुनैपनि किसिमको विवाद र आरोपबाट आफुलाई अलगै राख्न सफल खड्का आफनो निर्वाचन क्षेत्र सुर्खेतको १ का जनताका नजरमा ‘विकासप्रेमी नेता’ का रूपमा स्थापित गराउन सफल भएका छन् । निर्वाचनको अन्तिम परिणामपछि मतदातालाई धन्यवाद दिंदै खड्काले विकासकै एजेण्डालाई पहिलो प्राथमिकता दिंदै ‘सुर्खेतकासंगै सिंगो कर्णालीको विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने’ प्रतिवद्धता दोहोर्याएका छन् ।
पार्टीमा प्रभावशालीः कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकट सहयोगी मात्र नभई देउवालाई पर्ने हरेक राजनीतिक र पार्टीगत संकटहरुमा पूर्णबहादुर खड्का सधैँ संकट मोचकका रुपमा अग्रपंतिमा उभिने गरेका छन् । कर्णाली कांग्रेसकै एक बलिया खम्बा मानिने नेता खड् कालाई समर्थकहरुले पार्टी र सरकार दुबैमा देउवाको योग्य र सक्षम उत्तराधिकारीका रुपमा चर्चा गर्दै भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने गरेका छन् ।
प्रधानमन्त्रीपछिको दोश्रो वरियता र पावरफुल मानिने गृहमन्त्रालयसमेतको जिम्मेवारी सम्हालीसकेपछि माथि उक्लने भनेकै प्रधानमन्त्री बाहेक अर्को कार्यकारी पद नभएकाले खड्का समर्थकहरुले यस्तो चर्चा चलाएको हुनसक्छ । सामान्यतया सार्वजनिक चर्चा र मिडियाबाट टाढै रहने स्वभावका खड्काले यसबारेमा आधिकारिक रुपमा केहि नबोले पनि ‘अब मन्त्री नखाने’ उनको व्यक्तिगत ईच्छाले राजनीतिक स्थिति अनुकुल भए कर्णालीबाट पहिलो प्रधानमन्त्रीका बन्ने प्रतिक्षामा रहेको अनुमान गरिएको छ ।
कांग्रेसमा सधै अन्तरघातकै किचलो
हरेकजसो निर्वाचनपछि अरु पार्टीमा चुनावी रणनीति, परिणाम र कमीकमजोरीका समीक्षा हुने गर्छ, तर सुर्खेत कांग्रेसमा भने प्रत्येक चुनावपछि घात अन्तर्घातको किचलो हुने गरेको छ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पनि अन्तरघातको आरोप लगाउँदै जिल्लाभरका ६ सयभन्दा बढि नेता कार्यकर्तालाई स्पष्टिकरण सोधेको विषय नसेलाउँदै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावपछि फेरि त्यस्तै रोइलो शुरु भएको छ ।
कसले कहाँ कसरी अन्तर्घात गर्यो भन्ने कसैलेपनि ठोसरुपमा प्रमाण सार्वजनिक नगरेपनि पार्टीका केहि पदाधिकारीदेखि भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका जिम्मेवारीमा रहेका व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत ‘बतासे’ आरोप लगाइरहेका छन् । घात अन्र्तघातको आरोप लगाउने क्रम, सामाजिक सञ्जालमामात्र सीमित रहेन, शुक्रबार केहि कांग्रेस कार्यकर्ताहरु पार्टी कार्यालयमै भेला भएर अन्तरघातीलाई कारवाही गर्न माग राख्दै नाराजुलुश मै उत्रिए ।
पार्टी कार्यालयमा नाराजुलुश गर्न आईपुगेकी वीरेन्द्रनगर—९ की पुष्पा कोइरालाले पार्टी र गठबन्धनबाटै अन्र्तघात भएको दाबी गर्दै पार्टीविरुद्ध आन्दोलनसम्म जाने अवस्था सिर्जना गरेको प्रतिक्रिया दिईन् । प्रदेशसभातर्फ क्षेत्र नं २ (ख) का उम्मेदवार कालिप्रसाद शाक्यले न्याय पाउनुपर्ने भन्दै उनले उम्मेदरवार शाक्यलाई भोट दिने मतदातालाई न्याय माग्न आफ् नो मूल घर ‘पार्टी कार्यालय’मा धाउनुपर्ने अवस्था आएको उल्लेख गरिन ।
मंसिर ४ को निर्वाचनमा सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नं २ (ख) मा खसेको मतमध्ये एक सय अठासी मत हराएको भन्दै कोइरालाले यसको सोधिखोजीमा पार्टी नेतृत्वले चासो नदिएकाले दवाब दिन आफुहरु आएको बताईन। पार्टी कार्यालयमा जम्मा भएर विरोधसभा गर्दै मतगणनाका क्रममा १ सय ८८ मत हराएको र हराएका मतको खोजी पार्टी नेतृत्वले गर्नुपर्ने र नगरेसम्म पार्टी कार्यालय घेराउ गरिने कांग्रेस समर्थक प्रकाश शाहीले बताए ।
पार्टी एकढिक्का भएको सोचाई आम कार्यकर्तामा बढिरहेका बेला आएको यस्तो परिणामले पार्टी निराशा बढाएको भन्दै उनले गठवन्धनका एक मात्र उम्मेदवारको आश्चर्यजनक हार हुँदा कांग्रेसको मात्रै नभएर लोकतन्त्रकै हार भएको टिप्पणी गरे । अर्का कांग्रेस कार्यकर्ता राजबहादुर बुढाले पनि हराएका मत र गठबन्धनको अन्र्तघातले गर्दा आपूmहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको जिकिर गरे ।
‘इमान्दारितापूर्वक हालेको मेरो भोट पो हरायो कि ? त्यो त मेरो अधिकार हनन् भएको हो नी’, उनले भने, ‘न्याय नपाउँदासम्म हामीले पार्टी कार्यालय छोड्ने छैनौ ।’ गठबन्धनले सबै ठाउँमा उत्साहजनक जीत हात पार्दा शाक्यले मात्रै हार्नु षडयन्त्रपूर्वक रचिएको चाल भएको तरुण दलका कार्यकर्ता करणसिंह गन्दर्भले आरोप लगाए ।
यता, नेपाली कांग्रेस कर्णाली प्रदेश समितिका महामन्त्री निरन्जन के.सीले यस विषयमा छानविनपछि मात्र आधिकारिक प्रतिक्रिया दिने बताए । ‘यो कुरा होइन भन्नपनि सकिन्न र हो भन्न पनि सकिन्न उनले भने, ‘किनकी हावा नचलेर पात पक्कै हल्लिन्न होला तर आधिकारिक के हो छानविन हुन्छ ।
’ यता, कांग्रेसको कर्णाली प्रदेश समितिका प्रचार विभाग संयोजक गोविन्द कोइरालाले भने पार्टीको प्रदेश कार्य समिति २ का सभापति कर्ण बुढाको संयोजकत्वमा ५ सदस्यीय छानवनि समिति गठन भएको जानकारी दिए । अन्तरघातका विषयमा अहिले नै यकिन भन्न नसकिने भन्दै उनले यकिन कुरा नआउँदासम्म अन्र्तघात भयो, मत हरायो भन्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् ।





