नेयमारको चोटले ब्राजिललाई चिन्ता

काठमाडौं, ९मंसिर ।
स्टार खेलाडी नेयमार घाइते भएपछि ब्राजिललाई कतारमा जारी विश्वकपमा समस्या थपिएको छ । समूह ‘जी’ अन्तर्गत बिहीबार राति सर्बियासँगको खेलमा नेयमार घाइते भएका हुन् ।
सर्बियाका रक्षक निकोला मिलेन्कोभिचको खराब ट्याकलका कारण दायाँ खुट्टाको गोलिगाँठोमा चोट बोकेपछि नेयमार बाहिरिएका थिए । ८९औं मिनेटमा चोटले नेमार खेल्न नसक्ने भएपछि ब्राजिलले उनको स्थानमा एन्टोनीलाई खेलाएको थियो ।
खुट्टाको गोलिगाँठो सुन्निएका कारण नेयमारले जारी विश्वकप खेल्न सक्ने या नसक्ने अहिले नै भन्न नसक्ने ब्राजिल टोलीका डाक्टर रोड्रिगो लास्मारले बताएका छन् । ‘‘नेयमारले खेल्ने या नखेल्ने सुन्निएको बसेपछि थप परीक्षणबाट थाहा हुनेछ । चोटको प्रकृति हेरेर मात्र नेयमारले खेल्ने या नखेल्ने निर्णय हुनेछ,’’ लास्मारले भने ।
ब्राजिलका प्रशिक्षक टिटेले भने नेयमारको विश्वकप यात्रा अहिले नै समाप्त भइनसकेको बताएका छन । ‘‘हामी नेयमार खेलमा फर्कनेमा विश्वस्त छौं । सुरुवातमा मैले चोटबारे थाहा पाइनँ । तर निको भएर खेलमा फर्कने आशा गरेको छु । नेयमारले कतिसम्म थेग्न सक्छन् हेरौं,’’ टिटेले भने ।
नेमारलाई खुट्टाको चोटको समस्या यसअघिदेखि नै थियो । सन् २०१८ को कोपा अमेरिका कपमा चोट बोक्नुभएका नेयमार त्यसपछि पनि चोटका कारण लामो समय मैदानबाहिर रहेका थिए । ३० वर्षीय नेयमारलाई सन् २०१४ को विश्वकपमा पनि चोटले सताएको थियो । त्यतिबेला कोलम्बियाका विरुद्धको खेलमा नेयमारलाई ढाडमा चोट लागेको थियो ।
नेयमारले यस विश्वकपलाई आफ्नो अन्तिम विश्वकप भएको सङ्केतसमेत गरेका छन् । सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिललाई छैटौं पटक उपाधि दिलाएर नेयमार विश्वकपबाट आराम लिने सोचमा छन् । तर पहिलो खेलमै उनको बल्झिएको चोटले ब्राजिल चिन्तित छ ।
यद्यपि ब्राजिलले सर्बियालाई २–० गोलले हराउँदै कतार विश्वकपमा सुखद सुरुवात गरेको छ । बिहीबार ब्राजिललाई जिताउन दुवै गोल रिचार्लिसनले गरेका थिए । समूहको दोस्रो खेल ब्राजिलले मङ्सिर १२ गते स्वीट्जरल्यान्डसँग खेल्नेछ ।






