दाङ–२ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी

दाङ,८मंसिर ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी भएकी छिन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेता रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी भएकी हुन् । मतपरिणामको औपचारिक घोषणा भने हुन बाँकी छ ।
त्यस्तै एमाले महासचिव शंकर पोखरेल दोस्रो स्थानमा रहे । शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरे । दुई नेताबीचको अन्तर १९६ मत रहेको छ ।
यस पटक दुई दलका महासचिव पराजित भएका छन् । यसअघि लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माओवादी महासचिव देव गुरुङलाई पराजित गरेका थिए ।
पोखरेल ०५९ मा एमाले केन्द्रीय सदस्य, ०६५ मा बुटवलमा सम्पन्न पार्टीको आठौं महाधिवेशनबाट सचिव, ०६५ मा बुटवलमा सम्पन्नपार्टीको आठौं महाधिवेशनबाट सचिव र गत वर्ष मंसिरमा चितवनमा सम्पन्न दसौं महाधिवेशनबाट महासचिव भएका थिए ।
उनी ०५१ मा सांसद् तथा ०६४ मा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य भई ०६६ मा सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।पोख्रेल २०७४ मा यही क्षेत्रको प्रदेशसभा (१) बाट निर्वाचित भई लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका थिए ।
को हुन् रेखा शर्मा ?
२०२६ सालमा दाङमा जन्मिएकी रेखा शर्माले २०४२ सालमा अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट विद्यार्थी राजनीतिक यात्रा सुरु गरेकी हुन् । त्यस्तै २०५१ सालमा योङ्ग कम्युनिस्ट लिगको केन्द्रीय सदस्य भएकी थिइन् । त्यस्तै उनी २०५७ सालमा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय सदस्य भइन् ।
२०५३ सालदेखि ०५८ सम्म उनी अनेमसंघ क्रान्तिकारीको अध्यक्षको जिम्मेवारीमा रहिन् । एमाले र माओवादीको एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्यमा समेत रहिन् उनी । त्यस्तै गत वर्ष सम्पन्न माओवादी महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य बनिन् ।
शर्माको संसदीय यात्रा भने २०७० बाट सुरु भएको हो । उनी २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन् ।
२०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म उनी सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहिन् । उनी सशस्त्र द्वन्द्वको समयमा २०५८ साल चैतदेखि २०५९ चैतसम्म एक वर्ष सैनिक हिरासतमा समेत परेकी थिइन् ।






