नाग्म–गमगडी सडकको ५२ किमि ग्राभेल, दश पक्की पुल निर्माण हुँदै

सागर परियार/कारोबार
जुम्ला, ९ फागुन ।
जुम्ला–नाग्म–गमगडी राजमार्गको ५२ किलोमिटर सडक ग्राभेल भएको छ । सडक डिभिजन कार्यालय जुम्लाले वर्षांैदेखि अलपत्र रहेको जिरोदेखि १३ किमिसम्मको ग्राभेलको काम अगाडि बढाएपछि हालसम्म ५२ किमि सडक ग्राभेल सम्पन्न भएको हो ।
जुम्ला कालिकोटको सीमा क्षेत्र नाग्मदेखि मुगुको गमगडीसम्म ९३ किलोमिटर दूरी रहेको नाग्म–गमगडी राजमार्गको ५२ किमि सडक ग्राभेल सम्पन्न भएको डिभिजन सडक कार्यालय जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले बताए ।
उनले भने, ‘जम्मा ९३ किलोमिटर लम्बाइ भएको नाग्म–गमगडी राजमार्गको ५२ किमि ग्राभेल सकिए पनि अन्य सडक खण्डको पनि स्तरवृद्धि नियमित रूपमा भइरहेको छ । नाग्म–गमगडी सडकलाई सहज सुरक्षित र स्तरीय बनाउन हामी जुटिरहेका छौं ।’
जुम्ला र कालिकोटको सीमा नाग्म–गमगडी सडकको जिरोदेखि १३ किमि हिमा गाउँपालिकासम्म ग्राभेलका लागि सांसद बहादुर सिंह लामाले ठेक्का लिए पनि विगत पाँच वर्षदेखि अलपत्र अवस्थामा थियो । सडक डिभिजन जुम्लाको ताकेता र म्यान नाघे पनि थप जरिवाना तिराएर काम अगाडि बढेको छ ।
उक्त १३ किमिको ग्राभेल काम अहिले स्थानीय निर्माण व्यवसायी बलिबहादुर शाहीले गरिरहेका छन् । भौगोलिक विकटता, निर्माण सामग्री अभाव, ढिलासुस्ती गर्ने निर्माण व्यवसायी र मौसम प्रतिकूलताका कारण पनि नाग्म–गमगडी सडकको ग्राभेलसँंगै स्तरवृद्धि कार्य तीव्र गतिमा अघि बढिरहेको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए ।
उनले भने, ‘राजमार्गको विभिन्न स्थानमा गरी अहिले ५२ किलोमिटर ग्राभेल कार्य भइसकेको छ । अन्य जोखिमयुक्त खण्डलाई प्राथमिकता दिएर स्तरवृद्धिको कामलाई अघि बढाएका छौं भने मुगुको गमगडीबाट ताल्चासम्मको सडक कंक्रिट सिमेन्टले निर्माण गर्न थालिएको छ । केही वर्षभित्र नाग्म–गमगडी राजमार्गलाई पूरै कालोपत्रे गर्ने गरी काम अघि बढाएका छौं ।’
२० किमि सडक कालोपत्रे हुने
सडक डिडिजन जुम्लाले नाग्म–गमगडी सडकको २० किलोमिटर सडक कालोपत्रे गर्नका लागि प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको छ । चालू आवको बजेटमा संघीय सरकारले नाग्म–गमगडी सडकको स्तरवृद्धिका लागि छुट्याइएको बजेट र योजनाअनुसार कालोपत्रे गर्ने तयारी भएको हो ।
सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठ भन्छन्, ‘२० किमि सडक कालोपत्रे गर्ने स्टिमेटसहित अर्थमा पठाएका छौं । चालू आवमा नाग्म–गमगडी कालोपत्रे गर्ने कामलाई विशेष प्राथमिकता दिएका छौं । अर्थ मन्त्रालयले बजेट सहमति दिने बित्तिकै ठेक्का लगाएर काम अघि बढ्छ ।’
नेपालकै सबैभन्दा ठूलो रारा ताल जाने एकमात्र सडक नाग्म–गमगडी सडक भएकाले उक्त सडकको स्तरवृद्धिमा संघीय सरकारले चासो दिनु आवश्यक छ । २० किमि कालोपत्रेका लागि प्रस्ताव पठाएका छौं ।
अर्थको स्वीकृतिको बाटो कुरिरहेको समेत सडक डिभिजन जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले बताए । उनका अनुसार कनकासुन्दरी गाउँपालिकाको गुरुचौरदेखि मुगु–गमगडीतर्फको २० किमि कालोपत्रे गर्ने योजना छ ।
अर्थ मन्त्रालयलाई बजेटसहितको स्वीकृत माग गरिएकोले फाइल पेस भइसकेको छ । केही दिनमा स्वीकृत आउने अपेक्षा गरिएको उनको भनाइ छ । ग्राभेल गरेर ठेक्का सकिएको खण्डमा कालोपत्रे गरिने छ ।
पर्यटकीय मार्गका रूपमा हेरिएको नाग्म–गमगडी सडक स्तरवृद्धि नहुँदा रारा आउने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती पाएका छन् । हिउँदमा धुलाम्मे, वर्षामा हिलाम्मे हुने उक्त सडकलाई यात्रुमैत्री बनाउनका लागि स्तरवृद्धिको काम धमाधमअघि बढाएको सडक डिभिजनले जनाएको छ ।
१० वटा पक्की पुल बन्दै
नाग्म–गमगडी राजमार्गको विभिन्न खण्डमा १० वटा पक्की पुल निर्माण हुने भएका छन् । नाग्म–गमगडी राजगर्माको विभिन्न भागमा चालू आवभित्र १० वटा साना पक्की पुल निर्माण हुने भएका हुन् ।
पुल नभएका कारण नाग्म–गमगडी सडकको प्रस्थान विन्दुमा रहेको खोलामा वर्षायाममा आउने बाढीले झण्डै दर्जन बढी मोटरसाइकल बगाइसकेको छ । पटक पटक पुल निर्माण गर्नुपर्ने माग भए पनि सुुनुवाइ भएको थिएन ।
चालू आवमा सडक डिभिजन जुम्लाको पहल पुल महाशाखाले नाग्म–गमगडी सडकको प्रस्थान विन्दुमा रहेको खोलासँंगै अन्य ठाउँमा गरी १० वटा पुल निर्माण हुने इन्जिनियर सन्तोष भण्डारीले जानकारी दिए ।
इन्जिनियर भण्डारीका अनुसार सडक विभागको पुल महाशाखाअन्तर्गत नाग्म, बाजागाडासहित विभिन्न खोलाका १० वटा पुल ठेक्का प्रक्रियामा गई सम्झौतासमेत अगाडि बढेका छन् ।
उनले भने,‘१० वटै पुल निर्माणको ठेक्का एकै ठेकेदारलाई परेको छ । एकै साथ विभिन्न ठाउँमा पुल निर्माण हँुदैछन् । कार्य सम्झौता भइसकेकाले निर्माण कार्य पनि अघि बढिसकेको छ । पुल निर्माण पश्चात वर्षामा खोलामा आउने बाढीले दिने सास्तीबाट यात्रुले मुक्ति पाउने छन् ।’






