जग्गा नापजाँच गर्ने अमिनले चलाएको चाउमिन उद्योग

पुनम वि.सी.
सुर्खेत, २ भदौं ।
‘चाउमिनको रेसा कति मिटरको हुन्छ ?’
‘खै, नापेको छैन ।’
‘नाप्न सकिएला ?’
‘ननापेरै अन्दाजी भन्न सक्छु, … एक मिटरभन्दा बढि त छ होला ।’
चाउमिनका विषयमा नयाँ वहस हुँदै थियो, लम्बाईको । नाँचजाँच पनि गरियो । चाउमिन निस्कियो एक सय २० सेन्टिमिटरको । एक मिटरभन्दा अलि लामो । सबै चाउमिनको लम्बाई एकैनास भने थिएन । कोहि अलि लामा, कोहि अलि छोटा । वीरेन्द्रनगर–१ स्थित ‘शिवन चाउमिन उद्योग’मा हामी चाउमिन नापजाँज गर्दै थियौँ । कारण थियो उद्योगका सञ्चालक र नापजाँचसँग विधिबीचको पुरानो सम्बन्ध । उनी हुन्, सञ्जय जोशी ।
जग्गा नापजाँच गर्ने अमिनसम्बन्धित पढाई गरेका सञ्जय अहिले चाउमिनको लम्बाई नाप्न व्यस्त छन् । वि.सं. २०६३ सालमा अमिन पढिसकेपछि उनी आफ्नै घरमा चाउमिन उद्योग सञ्चालनमा ल्याएर यतै व्यस्त भए । एकपटक जग्गा नापजाँच गरे चार किल्ला छुट्याएपछि पटकको ३ देखि ५ हजार त कहिं मर्दैन, ठ्याक्कै अमिनको हातमा । तर पनि चाहेको क्षेत्रमा छिर्न सानो प्राविधिक कारणले नमिल्ने भएपछि उनी सब छोडछाडेर लागे उद्योगपति बन्न ।

‘किन छोडियो प्राविधिक जागिर ?’
अमिनको काम भनेकै जग्गा नापजाँच गर्नु हो । वीरेन्द्रनगरमा बढ्दो शहरिकरण महशुस गरिरहेका हामी कर्णालीवासीले अमिनको प्राविधिक काम पनि नियालेकै छौँ । नक्साअनुसार जग्गालाई चिन्ने र छुट्याउने काम अमिन हो । अमिनले निजी जग्गाहरु नाप्ने, त्यसलाई छुट्याउनेसहित चार किल्ला प्रमाणित गर्ने काम गर्छन् ।
बाटाकोे सिमांकन गर्ने, जग्गाका विवाद प्राविधिक रुपमा साम्य गर्ने, सार्वजनिकसहित विभिन्न किसिममा जग्गाहरु पहिचान गर्ने र छुट्याउने लगायतका काम अमिनले गर्छन् । फिल्डमा गएर काम गर्नुपर्ने भएकाले अमिनको काम जति चूनौतिपूर्ण जस्तो लाग्छ उत्तिकै रोमाञ्चक पनि छ । सीप सम्वन्धिको यस प्राविधिक क्षेत्रमा आम्दानीको सम्भावना पनि उत्तिकै छ ।
त्यो बेलामा अमिन पछिसकेपछि सञ्जयले चाहेरपनि लोकसेवाको परीक्षामा समावेश हुन पाएनन् । उनी पढेको शिक्षालयबाट जम्मा पाँच जना मात्र उत्तीर्र्ण भए । पाँचै जनामा सर्वश्रेष्ठ, सञ्जय नै । तर दुई महिना उमेर अपुगका कारण उनी लोकसेवाको परीक्षा दिनबाट वञ्चित भए । परीक्षा दिएका उनका अरु साथीहरु सबैले पहिलोपल्टमै नाम निकाले र अहिले उनीहरु सरकारी सेवामा छन् ।
तैपनि अर्को पटक उनले पुनः लोकसेवाको परीक्षाका प्रयास गरे । परीक्षा दिए, तर नाम निस्केन । ‘क्लासको टपर मै थिएँ तरपनि नाम निस्केन ।’ थक्थकी मान्दै उनले भने,‘ पढेको केहि वर्षपछि लोकसेवा दिएकाले सकिएन ।’ त्यसपछि अनि बझाङ, सुर्खेतलगायतका जिल्लामा सञ्चालित निजी संस्थान्मा उनले अमिनको काम सुरु गरे । चित्त बुझेन, विदेश हान्निए ।

लाखौंमा हुन्छ आम्दानी
विदेश यात्रापछि, नेपाल फर्केर उनले चाउमिन उद्योग सञ्चालनमा ल्याए । करिव आठ लाख रुपैयाँ लगानीमा उनको चाउमिन उद्योग वि.सं. २०७२ सालमा सञ्चालनमा आएको हो । कोभिड–१९ संक्रमणकालिन समयपछिको हालको अवस्थामा व्यापार घटेको छ । तरपनि उनको उद्योगले मासिक रुपमा एक लाख रुपैयाँ भन्दा बढि नै आम्दानी दिएको उनी बताउँछन् ।
उद्योगमा तीनजनाले पूर्णकालिन रोजगार पाएका छन् । उद्योग विस्तारमा लगानी करिव ३० लाख रुपैयाँ पुग्दैछ । दैनिक तीन–चार क्विन्टल चाउमिन बजारमा पठाइएको छ । उनले भने, ‘दैनिक रुपमा ३०–३५ हजार रुपैयाँको चाउमिन बजारमा बिक्रि गरिरहेका छौँ । मासिक एक लाखदेखि एक लाख बीसह हजारसम्म आम्दानी हुन्छ ।’

कारोबार र लगानीको असमान रेखा
उद्योग सञ्चालनका बेला आपूmसंग भएको केहि रकमका साथै सरकारी तथा लघुवित्तबाट उनले ऋण लगानी गरेका थिए । आप्mनै घरमै सञ्चालन भएको उद्योगले आफ्नो खर्च कटाएर मासिक एक लाख बढी आम्दानी गर्नु सामान्य नभएपनि उद्योगको आर्थिक सञ्चालनमा भने उनी आफै सन्तुष्ट छैनन । ‘हाम्रो आर्थिक कारोवार सहकारी र लघुवित्तसँग भईरहेको छ । आम्दानी गरेको देखिन्छ । तरपनि समयमा किस्ताको समस्या सधै पर्छ ।’ उनले दुःखेसो सुनाए ।
लघुवित्त तथा सहकारीबाट लिएको सानो ऋणको मासिक किस्ताले उनलाई सँधै सताउँछ । बैंकसँग उनले कारोवार सुरु गरेका भने छैनन् । कच्चा पदार्थ खरिद गर्नैपर्यो, कर्मचारीलाई तलब दिर्नैपर्यो अनि समयमा साँवाब्याजसहितको किस्ता पनि तिर्नैपर्यो ।
‘एक लाख ऋण लिएर लगानी ग¥र्यो भने ८–१० हजार किस्ता पर्छ ।’ उनी भन्छन, ‘यो कारोवार हाम्रोजस्तो सानो उद्योगको हितमा नभएको महशुस गरेका छौँ । यसले उद्योगलाई माथि उठ्न कहिल्यै सहयोग गरेन ।’

बजार भाउ बढ्दैन, कच्चा पदार्थ महंगियो
वीरेन्द्रनगरलगायत आसपासका क्षेत्र नै शिवन चाउमिनको बजार क्षेत्र हो । प्रति किलो ९० रुपैयाँमा उद्योगले चाउमिन बिक्रि गरिरहेको छ । पछिल्लो समय ईन्धनमा भएको मूल्य वृद्धि लगायतका कारणले हालको समयमा मैदा–पिठोको मूल्यपनि अत्यधिक बढिसक्यो तरपनि उनको चाउमिनको बजार मूल्य बढेको छैन ।
बाहिरबाटै मैदा आयात गर्नुपर्ने वाध्यतामा रहेका सञ्जय आफ्नो उद्योगबाट चाउमिन मात्र बेच्न चाहन्नन् । यससँग प्रत्यक्ष जोडिने अन्य उत्पादन पनि उद्योगबाटै उत्पादन गर्ने योजनामा छन् । यसका लागि लगानीको तयारी हँुदैछ । उनले भने, ‘हामीले चाउमिमन पु¥याउने ठाउमा सस, भिनेगर जस्तै अरु सामान पनि जानसक्छ नि ।’ चाउमिनसँग जोडिने ती उत्पादनहरु उनी आफ्नै उद्योग मार्फत उत्पादन गरि बिक्रिm वितरण गर्ने उनको आगामी योजना छ ।







