सुर्खेतमा एमआरआई मेसिन खरिदमा अनियमितता
सुर्खेत, १ पाैष ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतले थ्री टेस्ला क्षमताको एमआरआई मेसिन खरिदमा अनियमितता गरेको बारे गत असारमा कर्णाली प्रदेशसभा सांसदहरूले कुरा उठाएका थिए। प्रदेशसभामा मेसिन खरिदबारे कुरा उठेपछि सांसदको सार्वजनिक लेखा समितिका तत्कालीन सभापति करवीर शाहीको टोलीले छानविन थाल्यो।
छानविन समितिले खरिद प्रक्रियादेखिका सवै फाइल अध्ययन गर्यो। निजामती अस्पताल काठमाडौंले खरिद गर्ने एमआरआई मेसिन र प्रदेश अस्पताल सुर्खेतले खरिद गर्ने मेसिन एउटै भएको र दुवै अस्पतालको मेसिन खरिदको जिम्मा ईष्ट वेस्ट कन्सर्न प्रालिलाई दिएको थियो।
तर, लागत मुल्य फरक भएको जानकारी पाएपछि छानविन थालेको लेखा समितिका सभापति शाहीले बताए। ‘निजामती अस्पतालले गरेका सवै खरिद प्रक्रियाका फाइल पनि अध्ययन गर्यौं’, सभापति शाहीले भने, ‘मेसिनको क्षमता उही छ।
दुवै अस्पतालले थ्री टेस्ला क्षमताका एमआरआई खरिद प्रक्रिया अगाडि बढाएका छन्। तर, निजामती अस्पतालभन्दा करिब सात करोडबढी रकममा कर्णाली प्रदेश अस्पताल सुर्खेतले टेण्डर स्वीकृत गरेको पाइएको छ। दुवै अस्पतालले उपकरणका लागि तयार पारेको स्पेसिफिकेसनमा अधिकांश विवरणहरू समान छन्।
नियतवस नै एउटा कम्पनीलाई पार्नका लागि कार्यविधि बनाइएको छ। मेसिन खरिदबारे छानविन गर्दा प्राप्त तथ्यका आधारमा हामीले मिलेमतोमा अनियमितता भएको निश्कर्ष निकालेका छाै ।’ आफूहरूले मेसिन खरिद छानविन गरेको प्रतिवेदन नै तयार गरेको उनले बताए।
‘ प्रतिवेदन संसदमा पेश गर्ने भनेर तयारी गरेका थियौं। छानविन गर्दागर्दै वर्खे अधिवेशन सकियो। फेरी बसेन। चुनाव भइहाल्यो’, उनले भने। मेसिन खरिदमा मिलेमतोमा मूल्य बढाइएको र नियतवस नै ईष्ट वेस्ट कन्सर्न प्रालिलाई खरिदको जिम्मा दिन दुई बुँदामा ‘नो चेन्ज’ भनेर कार्यविधि बनाइएको सभापति शाहीले बताए। ‘१० वटा प्रस्ताव परेकामध्ये अन्तिममा तीन प्रस्ताव छनौट गरिएको र त्यसमध्ये पनि अस्पताल प्रशासनले ईष्ट वेस्ट कन्सर्नलाई नै खरिदको जिम्मा दिनेगरी सिन्डिकेट लगाएको देखियो,’ सभापति शाहीले भने, ‘नीतिगत र प्रक्रियागत दुवैमा अनियमितता देखिन्छ।’ मेसिन राख्ने थ्री फेजसहितको कोठा निर्माण गर्ने जिम्मा आफ्नो नभएको कम्पनीले जनाएपछि त्यस कार्यका लागि थप अढाई करोड रुपैयाँ खर्च हुने भएको देखिएको उनले जनाए।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रादेशिक अस्पतालले उक्त कम्पनीलाई २९ करोड ७१ लाख ६६ हजार ७ सय ९२ रुपैयाँमा खरिद गर्न जिम्मा दिएको छ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा.डम्बर खड्काले मेसिन खरिदमा कुनै किसिमको अनियमितता नभएको जिकिर गरे। उनले नेपाल सरकारको नियम अनुसार नै खरिद प्रक्रिया अघि बढाइएको दावी गरे। उनले भने, ‘हामीले ल्याउन थालेको मेसिन नेपालमै उत्कृष्ट मेसिन हो।
सरकारी नियम कानुनभन्दा हामी बाहिर गएका छैनौं। विधि, पद्धती र प्रक्रिया अनुसार नै एमआरआई मेसिन आउँदैछ। खरिद प्रक्रियामा कुनै किसिमको अनियमितता भएको छैन।’ नेपालका उत्कृष्ट फर्मले टेण्डर हाल्न पाउनेगरी मेसिन खरिद प्रक्रियाको कार्यविधि बनाएका छौं। हामी उत्कृष्ट मेसिन ल्याएर कर्णालीमा उत्कृष्ट सेवा दिन चाहन्छौं।’
अन्नपुर्ण