जुम्लामा कांग्रेसका जिल्ला उपसभापतिसहित ७ जनामाथि कारबाहीका लागि सिफारिस

जुम्ला, ३० कात्तिक ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले ७ जना कार्यकर्तालाई कारबाहीका लागि केन्द्रीय कार्यालय समक्ष सिफारिस गरेको छ । नेपाली कांग्रेस जुम्लाका सभापति कर्णबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएअनुसार जिल्ला उपसभापति दिपक शाही, महाधिवेशन प्रतिनिधि भक्त बहादुर रोकाया, नगर सभापति रवि थापा, गोविन्द बहादुर शाही, आसे बस्नेत, भक्त रोकाया र गोर बहादुर सुनारमाथि कारबाहीका लागि सिफारिस गरिएको हो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका आधिकारिक उम्मेदवार र लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार विरुद्ध कार्य गरेको पाइएको भन्दै उनीहरुलाई कारबाहीका लागि सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुलाई कार्तिक १४ गते स्पष्टीकरण सोधिएकोमा नगर सभापति रवि थापाले मात्रै स्पष्टीकरणको जवाफ दिएको र निजको स्पष्टीकरण पनि चितबुझ्दो नभएको सभापति शाहीले जनाए ।

रातोपाटी





