वीरेन्द्रनगर मुख्य बजारको सडक विस्तारको काम शुरु

सुर्खेत, ३० भदौं ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको सडक विस्तार तथा नाला एवं फुटपाथ व्यस्थापनको काम शुरु गरेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा विस्तार र व्यवस्थापनमा अवरोध गर्नसक्ने संरचनाहरु हटाउन नगरपालिकाले बुधबारदेखि शुरु गरेको हो ।
वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र मंगलगढी–गणेशचौकसम्मको झण्डै एक हजार सात सय मिटर सडक विस्तार गर्नुपर्ने भएकाले सडकका दुवै किनारामा रहेका अवैध संरचना हटाउन यसअघि नै जारी सूचनाअनुसार निकालिएको थियो ।
मंगलगढी चोकबाट प्रवेश गर्ने मुख्य बजार क्षेत्रमा रहेका विद्युत, नेपाल टेलिकमका पोल तथा तारहरु र सडक किनारामा रहेका अशोकका रुखहरु हटाउन थालिएको छ । ‘गत वर्ष नै सडक विस्तारका लागि ठेक्का आह्वान गरिएको हो ।

अवैध संरचनाका कारण निर्माण काम शुरु गर्न सकिएको थिएन्,’ प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले भने, ‘सर्वदलीय, सर्वपक्षीय बैठकमा सहमति जुटाएर सडक विस्तार गर्न अन्तिम सूचना प्रकाशन गरेपछि त्यसैको निरन्तरताका लागि काम थालेका हौं ।’
नगरपालिकाले अवैध संरचनासहित सडक क्षेत्राधिकार भित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना पनि हटाउने उनले जानकारी दिए । प्रदेशको पूर्वाधार विकास निर्देशनालयले मंगलगढीे–गणेशचौक, वीरेन्द्रचौक–भानूचौक, हुलाक चोक–राम मन्दिर, वीरेन्द्रचौक–खोर्के खोला लाइनसम्मको सडक स्तरोन्नोती गर्न विभिन्न प्याकेजमा बजेट विनियोजन गरेको छ ।
यी सबै सडक डबल लेनको हुने निर्देशनालयका ईञ्जिनियर सूर्य शाहीले जानकारी दिए । ‘मुख्य बजार क्षेत्रको सडक निर्माण लागत करिव १३ करोड ६७ लाख रहेको छ,’ शाहीले भने, ‘यो आर्थिक वर्ष सक्नेगरी अघिल्लो आर्थिक वर्षमा खड्का निर्माण सेवा बाँकेसँग सम्झौता भइसकेको छ । नगरपालिकाले साइट क्लीयर गरेपछि निर्माण थालनी गरिनेछ ।’
८ सय ३४ मिटर लम्बाइसहित सडकको १५ मिटर चौडाइसम्म कालोपत्रे गरिने र बाँकी पार्किङ्गका लागि रहने बताइएको छ । निर्देशनालयले सिर्जनशील टोल तार र पोलका कारण क्रुप बनेको बजार क्षेत्रमा रहेका संरचना समयमै नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानून अनुसार अटेरी गरे कारवाही गर्ने नगरपालिकाले जनाएको छ ।



