सुर्खेतमा प्रहरीलाई अनुसन्धान अभियोजन प्रशिक्षण

सुर्खेत,२८ मंसिर ।
मानव बेचबिखन तथा ओसारसपार अपराधको अवधारणगत प्रस्टता एवं प्रभावकारी अनुसन्धान गर्न प्रहरीलाई प्रशिक्षण दिइएको छ । यूएसड नेपाल र मानव बेचबिखन महाशाखा कार्यालयलगायतका सरोकारवाला निकायको समन्वयमा तीन दिने अनुसन्धान अभियोजन प्रशिक्षण कार्यक्रम गरिएको हो । प्रशिक्षणमा कर्णाली प्रदेशका १० जिल्लाका २९ जना जुनियर अधिकृतहरु सहभागी थिए ।
मानव बेचबिखन नियन्त्रण ब्युरो प्रमुख डीआईजी दुर्गा सिंहले यस्ता व्यावसायिक तालिमले जुनियर अधिकृतहरुको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै अपराध अनुसन्धानमा थप सुधार हुने बताइन् । अपराध कस्ता हुन्छन् र कस्ता प्रकारका हुन्छन् भनेर जुनियर अधिकृतहरुलाई पहिचान गर्न समेत गोष्ठीले सहयोग गर्ने उनको भनाइ छ ।
कर्णाली प्रदेशका प्रहरी निमित्त प्रमुख माधवप्रसाद श्रेष्ठले आमनागरिकलाई गर्ने व्यवहार दुरुस्त, न्यायिक र निष्पक्ष गर्न सुझाव दिएका छन् । प्रहरीको व्यवहार दुरुस्त भयो भने प्रहरी संगठनको छवि उच्च रहने र हरेक नागरिकलाई सम्मानजनक व्यवहार गर्न उनले जुनियर अधिकृतहरुलाई निर्देशन दिएका छन् ।
अमेरीकी राजदूत डिन थम्पसनले अमेरिकाको तुलनामा नेपालमा मानव वेचबिखनका घटना कम हुने गरेको बताए । उनले नेपाल प्रहरीलाई क्षमता अभिवृद्धिजस्ता प्रशिक्षणमा समन्वय गर्न प्रतिबद्धता जनाए ।
कान्तिपुर





