सात चरण पूरा गर्नुपर्ने लिमीको विवाह

हुम्ला, २७ कात्तिक ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा सात चरण पूरा गर्नुपर्ने हुन्छ । वर्षौंदेखि लिमीमा विवाह गर्दा तिब्बतको प्रभाव देखिने भएका कारण यी चरण पूरा भएपछि मात्रै विवाह भएको मानिन्छ।
लिमीका स्थानीय कुन्चोक तामाङका अनुसार अन्यत्र भन्दा लिमीका तीन गाउँमा विवाह गर्ने फरक चलन छ। उनले सात चरण पूरा भएपछि मात्र विवाह भएको मानिने बताए । उनका अनुसार पहिलो चरण भनेको प्रस्ताव (स्थानीय भाषामा जापत्रा), दोस्रो चरण स्वीकृति (होटन गगुचे), तेस्रो चरण दोस्रो चरणको स्वीकृति (जिरन्कमा), चौथो चरण उत्सव (एस्कोट), पाँचौँ चरण संलग्नता (गोकसा पाइक्षे), छैटौँ चरण विवाहको गीत र नाच (छोल छ्याङ) र सातौँ चरण विवाह (बानलेन) हुन्।

यी चरण विवाहका लागि दुलाहा पक्षले अपनाउनैपर्ने हुन्छ। पहिलाका चारवटा चरण अन्य संस्कृतिसँग मिले पनि पछिल्लो तीन चरण भने फरक रहेका छन्। फरकमध्ये पाँचौँ चरणमा दुलाहाका पक्षबाट तीनदेखि पाँच जना मिलेर दुलहीको घरमा गएर दुलहीलाई ल्याएर दुलाहाको घरमा भित्र्याइन्छ र संलग्नताको प्रक्रिया पूरा गरिन्छ।
दुलाहा पक्षबाट नाँच र गीतको प्रस्तुति गरिन्छ। खानापान र दुलही पक्षलाई सम्मान गरेर विवाहको रीति पूरा गरिन्छ। विवाहको समयमा बाक्रिल ( विशेष गरी गहुँको पिठोको डल्ला) र डारमा (खानायोग्य जरा) दुलाहादुलही र दुवैतर्फका नजिकका आफन्तलाई खुवाइन्छ।
त्यसपछि विवाहका लागि बोलाएको पाहुना तथा आफन्तलाई ठूलो हल तथा चौरमा जम्मा गरिन्छ र तयार पारेका परिकार खान दिने गरिन्छ। त्यसपछि विवाहका लागि तयार गरिएको नाँच र गीतको थालनी गरिन्छ। विवाहपछिको चार दिनसम्म चल्छ। विवाहको पाँचौँ दिन बिहेको सुरुदेखि अन्तिमसम्म सहयोग गर्ने अथवा विवाहको समयमा आगो बाल्न दाउरा बटुल्ने आफन्तलाई विशेष खानपिन गराइन्छ। त्यसबेला आफन्त, छिमेकी र सहयोगी सबैलाई खाना खुवाएर विवाह समारोह बिदा गरिन्छ।
गोरखापत्र






