लिमीमा चौरी गाईको सङ्ख्या वृद्धि

हुम्ला, २६ कात्तिक ।
नाम्खा गाउँपालिका –६ हिमालपारिको गाउँ लिमीमा चौरी गाईको सङ्ख्या वृद्धि भएको छ । चौरी स्रोत केन्द्र स्थापना भएपछि पशुपालक किसानमा पनि चौरी पाल्ने आकर्षण बढेकाले सङ्ख्यामा वृद्धि भएको हो ।

दुई वर्ष अगाडिसम्म लिमीमा पचास वटा चौरी गाई थिए । यो पेसा बढी दुःख हुने भन्दै किसानले अन्य व्यापार गर्न थालेपछि चौरी पालन लोप हुने अवस्थामा पुगेको थियो । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले दुई वर्ष यता चौरीको सङ्ख्या ३९० पुगेको बताए । लिमीवासीले बिस्तारै चौरी पालन छाड्दै गएकाबेला चौरी स्रोत केन्द्र स्थापना भएपछि स्थानीयमा चौरी पाल्ने आकर्षण बढेको उनको भनाइ छ ।

हाल स्थानीयसँग डेढ सय चौरी रहेको र स्रोत केन्द्रमा २४० भन्दा बढी चौरी पुगेको उनँले बताए । उनका अनुसार लिमीमा दुई वर्षको अन्तरमा छ गुणाले चौरीको सङ्ख्या वृद्धि भएको छ । लिमीका तीन गाउँ चौरी पालनका लागि बढी सम्भावना भएको गाउँ हो । बिशेषगरी कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा स्रोत केन्द्र स्थापना हुँदा स्थानीय पुनः चौरी पालनमा फर्कन थालेको उनको भनाइ छ ।

पहिले एउटै घरमा चालीसदेखि पचास वटा चौरी रहेको स्मरण गर्दै वडा अध्यक्ष तामाङले चरन समस्या, दुख बढी, अन्य व्यापारबाट फाइदा देखेपछि लिमीमा चौरी पालन घटेको भए पनि अहिले सङ्ख्या बढेको बताए । चौरी पालनमा सकारात्मक आशा पलाएको उनले बताए । चौरी पालन बढ्न थालेपछि घ्यु, छुर्पी, चीज, नौनी उत्पादनमा समेत वृद्धि भएको उनको भनाइ छ ।

गोरखापत्र

लिमीमा चौरी गाईको सङ्ख्या वृद्धि

हुम्लामा खाद्यान्न मौज्दात न्यून

Leave a comment

Your email address will not be published. Required fields are marked *