माओवादीका २० सांसद चुनावी मैदानमा

काठमाडौँ, २७ असोज ।
पूर्वसभामुख अग्निप्रसाद सापकोटासहितका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रभावशाली नेताहरू सांसदको भूमिकाबाट बाहिरिँदै हुनुहुन्छ। मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा ४९ मध्ये २९ जना सांसदले उम्मेदवारी दिएनन् ।
सापकोटासहित माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, जयपुरी घर्ती, उपमहासचिव हरिबोल गजुरेल, सचिव सुरेन्द्र कार्कीलगायतका नेता आगामी प्रतिनिधि सभामा हुनुहुने छैन। उपाध्यक्ष महरालाई समानुपातिकमा राख्ने भनिए पनि अन्तिममा नाम समावेश भएन।
पहिलो संविधान सभा निर्वाचनदेखि निरन्तर निर्वाचित हुँदै आउनुभएका सापकोटाले उम्मेदवार बन्न अनिच्छा व्यक्त गर्नुभयो। उहाँले आफ्नो क्षेत्रमा माधव सापकोटा (सुबोध)लाई प्रस्ताव गरेका छन् । गठबन्धनका कारण विगतमा प्रत्यक्ष चुनाव जितेका गजुरेल, कार्कीलगायतका नेताले यस पटक टिकट पाएनन् ।

टिकट बाँडफाँटमा असन्तुष्ट देखिएका माओवादी केन्द्रका उपमहासचिव गजुरेलले कुनै प्रतिक्रिया दिएनन् उनले भने , “अहिले म यस विषयमा बोल्नै चाहन्नँ।” २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ३७ र समानुपातिकतर्फ १६ जना गरी माओवादी केन्द्रका ५३ जना सांसद प्रतिनिधि सभामा थिए ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुँदा माओवादीका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरी एमालेतिर प्रवेश गरेपछि माओवादीको सिट ४९ मा घटेको थियो। ४९ सांसदमध्ये १९ जना प्रतिनिधि सभाको चुनावी प्रतिस्पर्धामा हुन्छन् ।
एक जना रामेश्वर राय यादव समानुपातिक बन्दसूचीमा समावेश छन् । विगतका समानुपातिक सांसदलाई नदोहो¥याएका कारण पनि धेरै नेता सांसदको भूमिकाबाट बाहिरिनु परेको छ। विगतमा समानुपातिक सांसद बनेका स्थायी समिति सदस्यत्रय रेखा शर्मा (दाङ–२), पूर्वसभामुखसमेत रहनुभएकी ओनसरी घर्तीमगर (काठमाडौँ–२) र अञ्जना विशङ्खे (काठमाडौँ–१०)मा उम्मेदवार बनेका छन । विशङ्खे माओवादी केन्द्रका बागी उम्मेदवार बनेका छन् ।
माओवादीबाट पूर्वसांसद पूर्णकुमारी सुवेदी, सत्या पहाडी, कमला रोका, इन्दुकुमारी शर्मा, गजेन्द्रबहादुर महत, गङ्गाबहादुर तामाङ, चूडामणि खड्का, टेकबहादुर बस्नेत, दिलकुमारी, दुर्गबहादुर राउत, दुर्गा विश्वकर्मा, धर्मशीला चापागाईं, यशोदा सुवेदी गुरुङ, रामकुमारी चौधरी, बोधमायाकुमारी यादव, शशी श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, सन्तकुमार थारू, सुरेशचन्द्र दास, हरिराज अधिकारी, हेमकुमार राई, सुरेशकुमार राईलगायतका नेता प्रतिनिधि सभाबाट बाहिरिएका छन् ।
गोरखापत्र






