सुर्खेतमा बैकल्पिक विमानस्थल रामघाटमा निर्माण गरिँदै

सुर्खेत, २८ साउन ।
सुर्खेतको भेरीगंगा नगरपालिकामा विमानस्थल निर्माणका लागि प्रक्रिया सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा सुर्खेतमा बैकल्पिक विमानस्थल निर्माणको लागि बजेट विनियोजन गरेको छ ।

वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थल विस्तारमा खर्चिलो हुने र विस्तारका लागि थप जग्गा उपयुक्त नभएपछि बैकल्पिक विमानस्थल निर्माण गर्न प्राधिकरणले बजेट विनियोजन गरेको हो । प्राधिकरणले विमानस्थल निर्माणका लागि भेरीगंगाको वडा नम्बर ९, १० र ११ मा क्षेत्र निर्धारण गर्नुपर्ने भएकाले प्रभावित क्षेत्रका सरोकारवालालाई सात दिनभित्र लिखित राय तथा सुझाव उपलब्ध गराउन भनेको छ ।

प्रभावित नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति तथा संस्थासँग लिखित राय सुझाव माग गरिएको छ । सरोकारवालाको राय सुझाव आएलगत्तै आयोजनाको वातावरणीय प्रभाव मुल्याङकनको काम सुरु हुने प्राधिकरणले जनाएको छ ।

भेरीगंगामा नयाँ विमानस्थल बनाउन शुरुवाती अवस्थामा चार करोड ४२ लाख ४७ हजार बजेट विनियोजन गरेको प्राधिकरणले जनाएको छ । उक्त बजेट विमानस्थल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर र वातावरणीय प्रभाव मुल्याङ्कन आाइए गर्ने काममा खर्चिने उल्लेख छ । रामघाटमा विमानस्थल बन्न योग्य छ वा छैन् भन्ने अध्ययनपछि मात्रै थप बजेटका लागि प्रस्ताव गरिने प्राधिकरणले जारी गरेको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश छ ।

यसअघि प्राधिकरणले कर्णालीका मुगु, जुम्ला र डोल्पा जिल्लामा रहेका विमानस्थलहरुमा टर्मिनल भवन निर्माणका लागी नौ करोड बजेट विनियोजन गरेको छ । यस्तै, प्राधिकरणले हुम्लामा रहेको सिमकोट विमानस्थलमा पार्किङ एप्रोन विस्तार गर्न थप ६ करोड बजेट छुट्याएको छ । सिमकोटमा आर्थिक वर्ष २०७४ र ०७५ मा कुल १९ करोड ८६ लाख रुपैयाँ लागतमा पार्किङ विस्तार गर्न सम्झौता भइसकेको छ ।

कालिकोटमा रहेको कोटबाडा विमानस्थल कालोपत्रे लगायत अन्य कामका लागि चार करोड २५ लाख, रिेटेनिङ वाल तथा ड्रेन बनाउन ५० लाख, डोल्पाको जुफालमा रहेको विमास्थलको धावनमार्ग स्तरोन्नतिका लागि तीन करोड, मुगुको रारा विमानस्थलमा एप्रोन तथा धावनमार्गका पूर्वपट्टी पहिरो नियन्त्रणका लागि नौ करोड ९६ लाख ४६ हजार र स्लरी सिल गर्न दुई करोड बजेट प्राधिकरणले विनियोजन गरेको छ ।

सुर्खेतमा बैकल्पिक विमानस्थल रामघाटमा निर्माण गरिँदै

कविता : म स्वास्नी बन्न सक्दिन

Leave a comment

Your email address will not be published. Required fields are marked *