कविता : म स्वास्नी बन्न सक्दिन

सुमित्रा समी

तिमी निसास्सिएर
शिकार खोसिएको बाघले झैँ झम्टन्छौ

आफ्ना क्रुर पञ्जाले मलाई चिथोर्छौ
मेरो मुलायम छाती गिद्धले झैँ लुछ्छौ

लाखेका झैँ डरलाग्दो आँखाले हेर्छौ
सजिलै मेरो भावानाको निर्मम हत्या गर्छौ

आफ्नो मनको सारा भोक मेट्छौ
अनि निर्विवेक मेरै निर्दोष मुटुमा लात बजार्दै फर्कन्छौ

बस् यत्ति सहनकै लागि म स्वास्नी बन्न सक्दिनँ
ज्यूँदो भएर पनि मैले ज्यूँदो हुनुको पराकाष्ठा त्याग्नुपर्छ

आफैँलाई तिलान्जली दिएर बाँच्नुपर्छ
तिमीलाई निर्विरोध जवानी पिलाएर हरपल मैले आँसुले तिर्खा मेट्नुपर्छ

यदि यस्तै–यस्तै नियत स्वीकार गर्दै
तिम्रो आरामदायी बिछ्यौना मात्र बनिदिनुपर्ने हो भने भयो म स्वास्नी बन्न सक्दिनँ

शब्दकोषमा स्वास्नीको अर्थ सुवासिनी लेखिएजस्तै
प्रेमले बोलिने प्रेमिका र शास्त्रमा मानिने अर्धाङ्गिनी जस्तै

जीवनको आवश्यकता जीवनसाथी तर
जो साथै भएकाबाट पनि पाउनुपर्ने सहारा मिल्दैन भने

भो महासय तिम्रो कामुकता मेटाउन मात्र म स्वास्नी बन्न सक्दिनँ
हर कोही नारीको जिन्दगी तयारी चाउचाउ होइन

भोक लागेको बेला काँचै खान र
होइन पनि बाँदरको सिरानी निद पुर्याएर च्यात्ने फाल्ने

त्यसैले त मलाई स्वयं म हुनुको अर्थ खोज्नुछ
भयो अब खोक्रो तिम्रो देखावटी रक्षाशास्त्र आफैँसँग राख

जर्जर समाजको सामन्ती वकपत्र सुन्नुछैन
मलाई निदाउँनकै लागि स्लीपिङ ट्याब्लेट खानु पनि

छैन मलाई त केवल निर्दयी मान्छेका
बन्द आँखा खोलेर अन्धो धृतराष्ट्रलाई

नारीभित्रकी आमा प्रिया छोरी चिनाउनु छ
प्रेम आफ्नोपन र मानवीयता पढाउनुछ त्यसैले माफ गर प्रिय

म कोही कसैको भोक र मृगतृष्णा मेटाउन मात्र स्वास्नी बन्न सक्दिनँ
जरुर, म स्वास्नी बन्न सक्दिनँ ।

कविता : म स्वास्नी बन्न सक्दिन

सुर्खेतमा बैकल्पिक विमानस्थल रामघाटमा निर्माण गरिँदै

कविता : म स्वास्नी बन्न सक्दिन

YUGAAWHAN NATIONAL DAILY (2079-04-28)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!