बाँकेका वनमा देखिन थाले पाँचधर्के लोखर्के बीउ फैलाएर वन पुनर्स्थापनामा महत्वपूर्ण योगदान

बाँके, ३१ साउन ।
बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका मध्यवर्ती क्षेत्रमा पछिल्लो समय पाँचधर्के लोखर्के अर्थात् गिलहरीको चहलपहल बढ्न थालेको छ । वन संरक्षणमा सुधारसँगै पर्याप्त आहारा र सुरक्षित बासस्थान उपलब्ध हुन थालेपछि लामो समयपछि गिलहरीका गतिविधि वन क्षेत्रमा देखिन थालेका हुन् ।
वन क्षेत्रमा चञ्चल र फुर्तिलो स्वभावको गिलहरी दैनिक आहारा खोजीमा व्यस्त देखिन्छ । मुखभन्दा ठूलो फलसमेत अगाडिका दुवै खुट्टाले समातेर बिस्तारै टोकेर खाने यसको शैली आकर्षक देखिन्छ । फलफूल, बीउ, नरम कोपिला तथा कहिलेकाहीँ किरा–फट्याङ्ग्रा समेत यसको आहारामा पर्ने गर्छन् ।
बाँके राष्ट्रिय निकुञ्ज नेचर गाइड एसोसिएसनका अध्यक्ष भीम डाँगीका अनुसार केही समयअघिसम्म निकै कम देखिने गिलहरी पछिल्लो समय वन संरक्षणसँगै यसको आहारा र बासस्थान सुरक्षित हुँदै गएपछि पुनः देखिन थालेको हो । यसले गिलहरीको संरक्षणसँगै यसको प्राकृतिक बासस्थान जोगाउनुपर्ने आवश्यकता पनि देखाएको उनी बताउँछन् ।
गिलहरीले फलफूल तथा बीउ खाएर वा विभिन्न ठाउँमा लुकाएर राख्ने क्रममा बीउ एक स्थानबाट अर्को स्थानमा फैलाउने गर्छ । त्यस्ता बीउबाट नयाँ बिरुवा उम्रने भएकाले वनको प्राकृतिक पुनरुत्पादन र पुनर्स्थापनामा यसको महत्वपूर्ण भूमिका रहने वन्यजन्तु संरक्षणकर्मीहरू बताउँछन् ।
सामान्यतया तराईका वन क्षेत्रमा पाइने पाँचधर्के लोखर्केको ढाडमा देखिने सेता धर्का यसको प्रमुख पहिचान हो । यसको शरीरको लम्बाइ करिब १५ देखि २० सेन्टिमिटर र पुच्छर १३ देखि १८ सेन्टिमिटरसम्म हुने गर्छ । बाक्लो तथा झुप्प परेको पुच्छर यसको अर्को विशेषता हो ।
गिलहरी निकै सतर्क प्राणी मानिन्छ। कुनै खतरा महसुस हुनेबित्तिकै रुख चढेर आफूलाई सुरक्षित बनाउने गर्छ। यही सतर्क स्वभावका कारण चील, उल्लु, सर्प र जङ्गली बिरालोजस्ता प्राकृतिक शिकारीबाट जोगिन यसलाई सहज हुने गरेको छ ।
वन संरक्षणको चर्चा गर्दा बाघ, हात्ती, गैँडा जस्ता ठूला वन्यजन्तुलाई प्राथमिकतामा राखिए पनि गिलहरीजस्ता साना जीवको उपस्थितिले पनि वनको पारिस्थितिकीय प्रणालीलाई सन्तुलित राख्न महत्वपूर्ण भूमिका खेल्छ । यस्ता जीवले बीउ फैलाउने, खाद्य शृङ्खला कायम राख्ने र वनको प्राकृतिक पुनरुत्पादनमा सहयोग गर्ने भएकाले तिनको संरक्षण पनि जैविक विविधता संरक्षणकै महत्वपूर्ण हिस्सा हो ।
बाँके राष्ट्रिय निकुञ्जमा वन संरक्षणका प्रयाससँगै साना स्तनधारी प्राणीको संख्या र गतिविधि बढ्दै जानुले वनको पारिस्थितिकीय स्वास्थ्यमा सुधार भइरहेको संकेतसमेत गरेको छ । त्यसैले ठूला वन्यजन्तुको संरक्षणसँगै गिलहरीलगायत साना जीवको प्राकृतिक बासस्थान संरक्षणमा समेत ध्यान दिन आवश्यक देखिएको छ ।





