४३९ मेगावाटको बेतन कर्णाली  निर्माणको पूर्वतयारीले लियो गति

ओम शाही

सुर्खेत, ३१ साउन ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको मुख्य लगानीमा निर्माण हुन लागेको ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाको निर्माणपूर्वका कामले गति लिएका छन् । आयोजना क्षेत्रमा रुख छपान, जग्गा प्राप्ति तथा मुआब्जा वितरण, पहुँचमार्ग निर्माण र वित्तीय व्यवस्थापनलगायतका काम अघि बढाइएको हो । 

सुर्खेत र अछामको सीमामा पर्ने कर्णाली नदीमा निर्माण हुने अर्धजलाशययुक्त आयोजनाको अनुमति पाएसँगै अध्ययन तथा निर्माणको प्रक्रिया अघि बढाइएको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ । आयोजनाका इन्जिनियर सुरेन्द्र शाहीका अनुसार अहिले मुख्यतः जग्गा प्राप्ति, मुआब्जा वितरण, रुख कटानका लागि लगत संकलन, पहुँचमार्ग निर्माण र अन्य निर्माणपूर्वका काम भइरहेको छ । 

‘अहिले प्रारम्भिक चरणका कार्यहरूमा जग्गा प्राप्ति र मुआब्जा वितरण, हदबन्दी फुकुवा, विद्युत खरिद–बिक्री सम्झौता, आयोजनास्थल जोड्ने मुख्य पहुँचमार्ग निर्माण, डिस्चार्जलगायतका काम भइरहेका छन्,’ शाहीले भने ।

आयोजना निर्माणका लागि ठूलो संख्यामा रुख कटान गर्नुपर्ने भएकाले त्यसको तयारी पनि अघि बढाइएको छ । शाहीका अनुसार आयोजना क्षेत्रमा ४६ हजारभन्दा बढी रुख कटान गर्नुपर्नेछ । त्यसका लागि आवश्यक लगत संकलन तथा अन्य प्रक्रिया अघि बढाइएको छ । आयोजनाको संरचना निर्माण हुने क्षेत्रमा पर्ने जग्गाको भोगाधिकार र मुआब्जासम्बन्धी काम पनि क्रमशः अघि बढिरहेको कम्पनीले जनाएको छ । 

निर्माणपूर्वका काम सम्पन्न भएपछि मुख्य सिभिल संरचनाको निर्माण सुरु गर्ने तयारी कम्पनीको छ । त्यसअन्तर्गत बाँध, सुरुङ र विद्युत् गृह निर्माण हुनेछन् । सिभिल संरचनासँगै इलेक्ट्रोमेकानिकल उपकरण जडानको कामसमेत अघि बढाइनेछ । टर्बाइन, जेनेरेटरलगायतका उपकरण आयोजनास्थलमा ढुवानी तथा जडान गर्ने तयारी रहेको शाहीले बताए ।

९३ अर्ब ४० करोड लागत

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाको कुल लागत ९३ अर्ब ४० करोड रुपैयाँ पुग्ने अनुमान गरेको छ । गत वर्ष तयार गरिएको अद्यावधिक लागत अनुमानअनुसार कर्जा र स्वपूँजीको अनुपात ७०ः३० कायम गर्दा निर्माण अवधिको ब्याजसहित आयोजनाको लागत ९३ अर्ब ४० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको हो । 

कम्पनीको अधिकृत पूँजी २० अर्ब र जारी पूँजी १० अर्ब रुपैयाँ रहेको छ । आयोजनाको शेयर संरचनामा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत र विद्युत् उत्पादन कम्पनीको १० प्रतिशत लगानी रहनेछ । 

त्यस्तै, सर्वसाधारण नागरिकका लागि १३ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत र अति विपन्न परिवारका नागरिकका लागि दुई प्रतिशत शेयर छुट्याइएको छ । कर्मचारी सञ्चय कोषको अगुवाइमा स्थापना भएको कम्पनीले सञ्चयकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्यले आयोजनामा लगानी गरेको हो । 

कोषले आर्जन गर्ने वार्षिक प्रतिफलबाट नियमानुसार सञ्चयकर्तालाई प्रदान गरिने मुनाफाको निश्चित प्रतिशत बचत गरी त्यसलाई जलविद्युत आयोजनाको शेयरमा लगानी गर्ने अवधारणाअनुसार कम्पनी स्थापना गरिएको हो । यसबाट कर्मचारी सञ्चयकर्ताको बचतलाई दीर्घकालीन लगानीमा रूपान्तरण गर्दै मुलुकको ऊर्जा विकासमा योगदान पुर्‍याउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।

दैनिक चार देखि ६ घण्टा पिकिङ

बेतन कर्णाली नदी प्रवाहमा आधारित अर्धजलाशययुक्त आयोजना हो । आयोजनालाई दैनिक चारदेखि ६ घण्टासम्म विद्युत्को उच्च माग हुने समयमा बढी विद्युत् उत्पादन गर्ने गरी डिजाइन गरिएको छ । अर्थात्, केही समय पानी सञ्चय गरेर विद्युत्को माग बढी हुने समयमा उत्पादन बढाइनेछ । 

यसले राष्ट्रिय प्रणालीमा विद्युत्को माग व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौताअनुसार आयोजनाबाट वार्षिक कुल दुई हजार तीन सय दुई गिगावाट आवर विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । 

त्यसमा वेट इनर्जी एक हजार ६ सय ११.६७ गिगावाट आवर, ड्राई पिक इनर्जी चार सय ५८.५६ गिगावाट आवर र ड्राई अफपिक इनर्जी दुई सय ३०.८२ गिगावाट आवर रहनेछ । हाल कायम विद्युत् खरिद–बिक्री दरका आधारमा आयोजनाले विद्युत् बिक्रीबाट पहिलो वर्ष १५ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ । आयोजनाको निर्माण अवधि पाँच वर्ष रहने अनुमान गरिएको छ ।

पाँच किलोमिटर क्षेत्रमा फैलिने

बेतन कर्णाली आयोजना अछामको टटालिघाटदेखि सुर्खेतको बेतन हबसम्म करिब पाँच किलोमिटर क्षेत्रमा फैलिनेछ । कर्णाली नदीको पानी उपयोग गरी विद्युत् उत्पादन गर्ने आयोजनाले सुर्खेत र अछामको सीमावर्ती क्षेत्रमा पूर्वाधार विकास र स्थानीय आर्थिक गतिविधिमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

आयोजनाको विकास र निर्माणका लागि भने लामो समयदेखि तयारी हुँदै आएको छ । ३१ असार २०७८ मा अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तृत इन्जिनियरिङ अध्ययन तथा प्रतिवेदन तयार भएको थियो । सोही वर्ष अस्थायी क्याम्प, आर्मी क्याम्प र बंकर निर्माण सम्पन्न गरिएको थियो । १७ पुस २०८० मा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएको थियो । 

त्यसपछि २१ असोज २०८१ मा उत्पादित विद्युत् राष्ट्रिय ग्रीडमा समाहित गर्न ४०० केभी प्रसारण लाइन निर्माणको अनुमति प्राप्त भएको कम्पनीले जनाएको छ । कम्पनीले १५ असार २०८२ मा विद्युत् उत्पादनको लाइसेन्स प्राप्त गरेको थियो । 

त्यसैगरी २४ मंसिर २०८२ मा लगानी बोर्डबाट आयोजनामा लगानी गर्न औपचारिक स्वीकृति प्राप्त गरेको थियो । अब निर्माणपूर्वका बाँकी कामलाई तीव्रता दिँदै मुख्य संरचना निर्माणमा प्रवेश गर्ने तयारीमा आयोजना पुगेको कम्पनीको भनाइ छ । प्रारम्भिक चरणका काम समयमै सम्पन्न गर्न सके बेतन कर्णाली कर्णाली प्रदेशमा निर्माण हुने ठूला जलविद्युत आयोजनामध्ये महत्वपूर्ण आयोजनाका रूपमा अघि बढ्नेछ ।

 

४३९ मेगावाटको बेतन कर्णाली   निर्माणको पूर्वतयारीले लियो गति

सम्पादकीय : मन्त्रालय भागवण्डामा सौदाबाजी नगर

४३९ मेगावाटको बेतन कर्णाली   निर्माणको पूर्वतयारीले लियो गति

बाँकेका वनमा देखिन थाले पाँचधर्के लोखर्के बीउ

Leave a comment

Your email address will not be published. Required fields are marked *