अटोमोवाईल्स एशोसिएसन कर्णालीको अध्यक्षमा खड्का

सुर्खेत, ३० साउन ।
कर्णाली अटोमोवाईल्स एशोसिएशन नेपालको चौंथो वार्षिक साधारणसभा तथा अधिवेशन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । साधारणसभाबाट इन्द्रबहादुर खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष खड्कालाई निमित्त अध्यक्ष भद्र भण्डारीले पद हस्तान्तरण गरेका छन् । पद हस्तान्तरण गर्दै भण्डारीले कर्णालीमा अटोमोवाईल्स एशोसिएशन स्थापना गर्दाका सुरुवाती दिनहरू स्मरण गर्दै संस्थालाई प्रभावकारी रूपमा अघि बढाउन सबैको निरन्तर सहयोग र सहकार्य महत्वपूर्ण रहेको बताए ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा इन्द्रबहादुर खड्का, उपाध्यक्षमा प्रकाशकुमार शाही, रामबहादुर खड्का र गोपाल पौडेल, महासचिवमा सैयद अन्वर अलि, सचिवमा अर्जुन दाहाल तथा कोषाध्यक्षमा राजन ओली चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सूर्य थापा, उमेश विष्ट, हरि पौडेल र जनकराज गिरी चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द रिजालले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै सबै पक्ष बीचको सहकार्य र समन्वयबाट कर्णालीको विकासलाई थप गति दिन सकिने बताए ।
उनले अटोमोवाईल्स क्षेत्रसँग सम्बन्धित विषयमा नयाँ कार्यसमितिसँग आवश्यक सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । रिजालले कर्णालीमा अटोमोवाईल्स क्षेत्रको विकासमा निमित्त अध्यक्ष भद्र भण्डारीले पुर्याएको योगदानको समेत प्रशंसा गरे । उनले आफू कर्णालीमा ट्राफिक प्रमुख भएर आएको सुरुवातदेखि नै ट्राफिक प्रहरीप्रति नागरिकले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन प्रयासरत रहेको बताए । उनले ट्राफिक व्यवस्थापन र सडक सुरक्षाका क्षेत्रमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर खड्काले कर्णालीका अटोमोवाईल्स् क्षेत्रसँग आबद्ध सबै व्यवसायी तथा सरोकारवालालाई समेटेर संस्थालाई थप प्रभावकारी रूपमा अघि बढाउने बताए । उनले अटोमोवाईल्स क्षेत्रका समस्या समाधान, व्यवसायीको हित संरक्षण तथा क्षेत्रको विकासका लागि सबैसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।





