१० करोड खर्चेर बनाइएको कान्तिताल, दुर्व्यसनीको अखडा बन्दै

बाँके, ३० साउन ।
नेपालगञ्जको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको ऐतिहाँसिक कान्तिताल संरक्षणको अभावमा कुरुप र जीर्ण बन्दै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित यो ताल अहिले झाडी र बुट्यानले भरिएर लागुऔषध दुर्व्यसनीहरूको सुरक्षित अखडामा परिणत भएको हो ।
उपमहानगरपालिकाले विसं २०७५ मा कान्तिताललाई व्यवस्थित पर्यटकीयस्थलका रूपमा विकास गर्न करिब १० करोड रुपैयाँ लगानी गरेको थियो । तर, नियमित रेखदेख र सरसफाइको अभावमा करोडौंको लगानी बालुवामा पानी खन्याए सरह भएको छ ।
ताल क्षेत्रको सौन्दर्यका लागि बनाइएका रेलिङहरू भत्किसकेका छन् भने रातको समयमा शङ्कास्पद गतिविधि बढ्दा स्थानीयवासी असुरक्षित महसुस गरिरहेका छन् । स्थानीय चक्र बुढाले भन्छन्, ‘करोडौं खर्चेर बनाएको रेलिङ भत्किएका छन्, रातमा दुर्व्यसनीको जमघट हुन्छ । सुरक्षाका लागि सरोकारवाला निकायलाई पटक–पटक गुहार्दा पनि कुनै सुनुवाइ भएको छैन ।’
पर्यावरण र चराचुरुङ्गीको बासस्थानका रूपमा रहेको कान्तिताल जोगाउन संरक्षणकर्मीहरूले निरन्तर आवाज उठाइरहे पनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयको गुनासो छ । बार्षिक २८ लाख रुपैयाँ राजस्व उपमहानगरलाई बुझाउने गरी ताल सञ्चालनको जिम्मा पाएका ठेकेदार फनबहादुर गुरुङले लागुऔषध प्रयोगकर्ताहरूले नै रेलिङ तोडफोड गरेको हुनसक्ने बताए । उनले यस विषयमा वास्तविकता पत्ता लगाएर समाधान खोजिने उल्लेख गरे ।
त्यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कान्तिताललाई पुनः व्यवस्थित गर्न उपमहानगरले नयाँ योजना अघि बढाउन लागेको जानकारी दिए । विगतका योजना प्रभावकारी हुन नसकेको स्वीकार गर्दै उनले सरोकारवालाहरूसँग छलफल गरी दिगो संरक्षणको ठोस योजना लागू गरिने बताए ।





