जाजरकोटमा नमुना मतदान

जाजरकोट,२६ कात्तिक ।

जाजरकोटका सबै पालिकामा नमुना मतदान भएको छ । स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका सातै पालिकामा नमुना मतदान गरिएको हो । भोट बदर हुने संख्या कम गर्न नमुना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी नवीन कठायतले बताए ।

पालिकाका कर्मचारीको सहयोगमा मतदातालाई सहभागी बनाएर दल्ली, लिम्सा, खलंगा, शिवालय, मनघाट, भाम्र र जुनीचाँदेमा नमुना मतदान गरिएको थियो । त्यस्तै, निर्वाचन शान्ति सुरक्षा र भयरहित तरिकाले सम्पन्न गर्न कात्तिक २० देखि मंसिर ४ गतेसम्म जिल्लाभर मेला, जात्रा, महोत्सव, खेलकुद प्रतियोगिताजस्ता कार्यक्रम स्थगित गरिएको छ ।

जिल्ला प्रशासनले स्थगित गराएको हो ।  मङ्सिर ४ को चुनावलाई लक्ष्य गर्दै जनसहभागिता हुने कार्यक्रम बन्द गराइएको प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानले बताए ।

११ सय कर्मचारी खटिने

निर्वाचनका लागि जाजरकोटमा १ हजार १ सय ४० कर्मचारी खटिने भएका छन । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवकलगायतका कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय जाजरकोटका प्रमुख नवीन कुमार कठायतले बताए ।

जिल्लाभर १ सय ४२ स्थायी र एक अस्थायी मतदान केन्द्र र ८३ मतदानस्थल छन्  । प्रतिमतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक कार्यालय सहयोगी कर्मचारी रहने छन् । अस्थायी मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, एक सहायक कर्मचारी र एक कार्यालय सहयोगी हुनेछन्  ।

त्यसैगरी चार स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोटका सातवटै स्थानीय तह गरी १ लाख ३ हजार ६३ मतदाता छन् । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ मा पुरुष २९ हजार ४ सय २२, महिला २७ हजार १ सय ४३ र अन्य १ जना गरी जम्मा ५६ हजार ५ सय ६६ मतदाता छन्  ।

क्षेत्र नं. २ मा पुरुष २४ हजार ८ सय ७९, महिला २१ हजार ६ सय १४ र अन्य १ जना गरी जम्मा ४६ हजार ४ सय ९४ जना रहेको निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।

मतदाता शिक्षाका लागि सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संयोजक रहने गरी वडा सचिव र महिला स्वयंसेविकालाई परिचालन गरिनेछ । मतदाता शिक्षाका लागि जिल्लास्तरीय समितिसमेत गठन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्लामा ८ सय ६० म्यादी प्रहरी निर्वाचनको सुरक्षामा खटिने जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

कान्तिपुर

जाजरकोटमा नमुना मतदान

कविता : चुनाव

Leave a comment

Your email address will not be published. Required fields are marked *