घुम्दैफिर्दै, रामे र रोशन : रामारोशन

महेन्द्र चन्द  महासगर’


सुर्खेत,२६ कात्तिक ।

हाम्रा खुट्टाहरुले भन्दैनन् या भन्न सक्दैनन् की उनीहरुलाई कहाँ कहाँको यात्रा तय गर्न मन लागेको छ, जान वा घुम्न मन लागेको छ र यो पनि भन्न सक्दैनन् की सिङ् गो शरीर बोकेर हिडिरहँदा कति थकानको महसुस गर्नुपर्छ, कहाँ दुखेको हुन्छ र अप्ठेरो कहाँ भइरहेको हुन्छ भनेर । उनीहरुलाई गुलाम बनाएर गुलामी गर्न लगाउने र उनीहरुलाई आफू अनुकूल सञ्चालन गर्ने, काम त व्यक्तिको मन, मष्तिष्कले गर्दछन् जो सबै भन्दा माथि बसेका हुन्छन् कुनै राजा महाराजा जस्तै, सासक जस्तै या भनौ हाकिम जस्तै ।

खुट्टाहरुको दुखाइको अनुभव गर्ने जिम्मा पनि आफैले नै लिएका हुन्छन् । मन र मष्तिष्कले सारा शरीरलाई सन्तुलन र परिचालन गर्ने काम गरेका हुन्छन् । मन मष्तिष्कले सही ढङ्गले काम गर्न नसकेको खण्डमा व्यक्ति बिग्रन्छ र व्यक्ति बिग्रिएकै कारण समाज बिग्रन्छ अनि बिग्रने पालो देशको आउँछ । मन मष्तिष्कले खुट्टाहरुलाई सही बाटो देखाउन सके भने व्यक्तिको जीवन सुन्दर त हुन्छ नै जीवनका साना साना खण्डहरुलाई पनि निकै सुन्दर बनाउन सकिन्छ र चुम्न सकिन्छ सजिलै गन्तव्यको शिखर पनि ।

यति मात्र होइन मन मष्तिष्कले देश घुम्ने जमर्को गरे भने खुट्टालाई कति गाह्रो हुन्छ त्यो त थाहा हुँदैन तर आँखालाई भने रोमाञ्चक दृश्यावलोकनको अवसर मिल्छ भने मनलाई आनन्द र सिङ् गो शरीरलाई स्फुर्ति मिल्छ । भ्रमण जीवनको एक महत्वपूर्ण हिस्सा बनाउन मन मष्तिष्कले सक्नु पर्ने रहेछ र व्यक्तिले देश घुम्ने अवसर पाउनु पर्ने रहेछ या भनौ देश घुम्नु पर्ने रहेछ ।

यो निष्कर्ष गलत होइन भन्ने मलाई लाग्छ । देशले युद्धको नमिठो अनुभव गरेको थियो र राज्य पक्ष तथा विद्रोही पक्षको चपेटामा परेर पनि बाँचेका हामीहरुले पनि नमज्जासँग नमिठो अनुभव गरेका थियौँ र छाँै । युद्धकालमा खुब सुनिने नाम थियो रामारोशन किल्ला अछाम जसका बारेमा गीतहरु पनि घन्किने गर्थे गाउँहरुमा, सांस्कृतिक कार्यक्रमहरुमा र देउडा गायक राजाराम भाटले पनि रामरोशनका बारेमा गीत गाएका छन् “धन्न रामारोशन किल्ला, बाइ जाऊँ साली अछाम जिल्ला” त्यो बेलादेखि नै मनमा उत्सुकता बनेर बसेको थियो रामारोशन ।

अवसरको पर्खाइमा अनेकौँ प्रश्नहरु बोकेर बसेका थिए मन र मष्तिष्कहरु । अब यो अवसर आउनै लागेको थियो । रामारोशनको सामिप्यता खोज्न मेरा पाइलाहरु वीरेन्द्रनगर सुर्खेत छोडेर अछाम हानिने तरखर गरिरहेका थिए । प्रायः कामको कारण हतपत्तै बाहिर निस्कन नमिल्ने, मिले पनि लामो समय नमिल्ने, यति बेला भने परिस्थितिले मलाई बिदा मिलाइदिएको थियो ।

म अछाम घुम्न निस्नने तयारी मै थिएँ यही बेला अछामका एक गजलकार भाइ राम अविरल विष्टले फोन गरेर अछामको कमलबजारमा एउटा साहित्यिक कार्यक्रम भएको र त्यसमा उपस्थित भइदिन अनुरोध गरेका कारण पनि मलाई अछामको यात्रा तय गर्न झन सजिलो भयो । साहित्य मन पराउने व्यक्ति भएका कारण मलाई यस पालि ‘एक काम दुई पन्थ’ हुने सम्भावना बढेर गयो । दिउँसो दुई बजेतिर मेरा पाइलाहरु अछाम गन्तव्य बनाएर वीरेन्द्रनगर सुर्खेतलाई छोडेर दैलेख तर्फ लागे ।

दैलेखको गुराँस गाउँपालिकाको गुराँसेको चिसो पवनको स्पर्शसँगै अगाडि बढिरहेका पाइलाहरु तल्लो डुङ्गेश्वर पुगेर माछाको सुगन्धका कारण रोकिन पुगे । मोटरसाइकलको यात्रामा प्रायः दुईजना वा त्यो भन्दा बढी साथीहरु हिँड्दा यात्रा रमाइलो लाग्ने गर्छ । यस पालि भने म एक्लै नै आफूलाई दौडाइ रहेको थिएँ ।

खाजा खाएपछि म हतारिनु थियो किन भने म आज नै दैलेखको राकम कर्णाली पुग्नु थियो । दैलेखका गजलकार सन्देश कठायतले राकममा बास बस्ने निम्ता दिएका थिए । नभन्दै म कर्णाली राजमार्गका अनेकौँ खाल्डाखुल्डी, घुम्ति, खोला, झरना पार गर्दै साँझ सात बजेतिर बास बस्न राकम पुगेँ । भेटघाट, बार्तालाप अनि भोलि बिहान सबैरै अछाम लाग्नु पर्ने कल्पनासँगै एक रात राकममा बिताउने अबसर मलाई प्राप्त भयो ।

राकम कर्णालीको खोलीबजारमा बास बसेको हुनाले होला बिहान चरा चुरुङ्गी या भालेको डाकोले मलाई ब्युँझाउन पाएनन् खोलीबजारको खोलीको पानीको आवाजले म ब्युँझिएँ यसरी पानीको आवाजले म बिहान उठेको यो पहिलो पटक थियो ।

मैले यात्रा थालनी गर्नु थियो अछाम चाल्साको किन भने त्यहाँ अछामका गजलकार पहल असिम थापाले खाना खानेगरी पुग्न अनुरोध गरेका थिए । बिहानको चिया खाइसकेर म राकमलाई बिदाइको हात हल्लाउँदै कर्णाली नदीमा बनेको अनौठो (आधा फरक बनावट र आधा फरक बनावट भएको) खालको पुल पार गरेर म पारि अछाममा पाइला टेकेको थिएँ ।
बाँकी अंश अर्काे शनिवार

घुम्दैफिर्दै,  रामे र रोशन :  रामारोशन

कथा : आमा

घुम्दैफिर्दै,  रामे र रोशन :  रामारोशन

लघुकथा : घोषणपत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *