ब्राण्ड स्टोरी : कर्णालीलाई च्याउ चखाउने ‘ईमान’

पुनम वि.सी
सुर्खेत,२६ कात्तिक ।

वि.सं. २०६४ ताका सुर्खेतको बजारमारमा नयाँ उत्पादन प्रवेश गर्दै थियो । जंगली च्याउका पारखीसामु व्यवसायिक रुपमा उत्पादित च्याउले आफ्नो स्थान बनाउने प्रयासमा देखिन्थ्यो । भान्सामा पाक्ने च्याउको जोखिम पनि उत्तिकै हुन्छ, विषालु च्याउ खाएकै कारण वर्षेनी कतिपयको मृत्यु भएको खबर पनि आईरहन्छन् ।

यो अवस्थामा व्यवसायिक खेतिबाट उत्पादित च्याउलाई बजारको व्यवस्था गर्नु पनि कम जोखिम थिएन । यसैबीच च्याउको व्यवसायिक खेति सुरु गरेका वीरेन्द्रनगर नगरपालिकाका युवा ईमानसिंह बस्नेतका सामु चुनौति पनि उस्तै । अहिले, कर्णाली प्रदेशमै उनी च्याउको नामबाट परिचित छन् । च्याउको व्यवसायिक उत्पादनतर्फ सफल भएका ईमानको पहिलो परिचय च्याउ बनेको छ ।

उनी भन्छन्, ‘ अहिले १४ वर्ष भयो मैले च्याउ खेति गर्न थालेको । च्याउ भनेपछि मानिसहरु मलाई सम्झने वातावरण बनेको झैं लाग्छ ।’ वीरेन्द्रनगर–११ स्थित उनको दुर्गा, पशु, कृषि तथा च्याउ फर्मले हाल दैनिक रुपमा च्याउ उत्पादन गरिरहेको छ । यो प्रक्रिया वर्षभर रहन्छ । उनले भने, ‘अहिले हामीले वर्षभर च्याउ उत्पादन गरिरहेका छौँ । सबै मौसममा हामीसँग च्याउ उत्पादन भईरहन्छ ।’

दुई सय डल्लादेखि सात हजारसम्मको यात्रा

दुर्गा, पशु, कृषि तथा च्याउ फर्ममा हाल सात हजार वटा च्याउका डल्ला बराबरको क्षमता छ । च्याउ उत्पादनका लागि ठूला खाले ६ वटा घर बनाइएका छन् । यी घरहरुमा स्वचालित सिँचाई प्रविधि जडान छन् । च्याउ घरको लागि आवश्यक तापक्रम, आद्रतालगायतका पक्ष प्रविधिसँग जोडिएको छ ।

जसकारण जुनसुकै मौसममा पनि च्याउ उत्पादन गर्न सहज हुन्छ । च्याउसँग ईमानको यात्रा भने दुई सय डल्लाबाट सुरुवात भएको हो । यसअघि उनी व्यवसायिक कुखुरा पालन तथा खेति समेत सञ्चालन गरेका किसान हुन् । उनी भन्छन्, ‘सुरुमै च्याउबाट सुरु गरिएको भने होइन । पहिला कुखुरा पनि पालियो । तरकारी पनि लगाइयो ।

तर, अन्त्यमा च्याउतर्फ मात्र केन्द्रित रहेर काम गरेका हौं ।’ सुरुवाति समयमा उनले घरको कोठाबाट च्याउ खेति सुरु गरे । उनले भने, ‘च्याउकै लागि भनेर कोठा बनाएन । घरकै कोठाबाट सुरु गरेको थिए। पछि स्वरोजगार कोषले ४० हजार ऋण सहयोग गरेपछि भने च्याउको घर बनाएको थिएँ ।’

च्याउ उत्पादन सम्वन्धि तालिम तथा ज्ञानबिनै खेति सुरु गरिएको उनी बताउँछन् । सो समयमा उनको गाउँमा दलित समुदायका लागि च्याउ उत्पादनको तालिम सञ्चालन गरिएको थियो । उनी त्यो कार्यक्रममा सहभागी त भएनन्, तालिमका प्रशिक्षार्थीलाई भने प्रयोग गरे । मुस्कुराउँदै उनले भने, ‘यहाँका स्थानीयले च्याउको तालिम लिए र खेति सुरु पनि गरे । उनीहरुले पहिलो खेतिपछि यो व्यवसायलाई निरन्तरता दिएनन् । मैले भने उनीहरुलाई नै ज्यालादारीमा प्रयोग गरेर खेति सुरु गरे ।

उनीहरुसँग ज्ञान थियो । जो मलाई काम लाग्यो’, उनी भन्छन् । अहिले फर्मको कुल पूँजी ७० लाख पुगेको उनको दाबी छ । परिवारका चार जना सदस्य व्यवसायिक खेतिमा प्रत्यक्ष जोडिएका छन् भने अन्य सात जनाको जनशक्ति नियमित दैनिक ज्यालादारीमा काम गरिरहेकाछन् ।

पहिले बजार खोजियो, अहिले बजारले खोज्छ

च्याउ उत्पादनका क्षेत्रमा सुर्खेतमा ईमानलाई बजारले आफै खोज्छ । उनको तुलनामा कर्णालीमा नियमित च्याउ उत्पादन गर्ने किसान छैनन् भन्दापनि हुन्छ । यसबीच बजार व्यवस्थापनतर्फ पनि ईमान कुशल मानिन्छन् । ‘सुरु–सुरुमा घरघर डुलाएर च्याउ बेच्थे । मानिसहरु खाएर मरिन्छ कि भन्थे । मरेपछि मलाई फोन गर्नु भन्दै फर्मको कार्ड थमाएर फर्कन्थे’, ‘जुन टोलमा च्याउ बिक्रि भयो त्यहि टोलको तरकारी पसललाई च्याउ बेचे ।

मेरा ती ग्राहकले अब आफ्नै टोलको तरकारी पसलबाट च्याउ खरिद गर्न सक्थे । ती पसलहरु हाम्रो उत्पादनको लागि डिलर जस्ता भए ।’ बजार माग हेर्दा हालको उत्पादन पनि अभाव भएको उनको अनुभव छ । माग बमोजिम च्याउ पु¥याउन नसकिएको उनको भनाई छ । यस क्षेत्रमा फुटकर तथा थोक व्यवसायी तथा ग्राहक च्याउका लागि ईमानसँगै जोडिएका छन् ।

कृषिमा प्रविधिसंगको यात्रा

च्याउ खेति आफैमा बढि जनशक्ति आवश्यक पर्ने खेति हो । पराल काट्ने, उसन्ने, प्लाष्टिकका डल्ला बनाउने, झुण्डाउने, सिँचाई गर्ने, उत्पादन टिप्नेलगायतका क्षेत्रमा नियमित मानव जनशक्तिको खाँचो छ । च्याउ खेतिमा मानव जनशक्ति लागत कम गर्न उनले प्रविधि अपनाएका छन् । च्याउलाई आवश्यक पर्ने सिँचाई अहिले पूर्ण स्वचालित भएको छ ।

च्याउका डल्ला झुण्डाईसकेपछि उत्पादन टिप्न मात्र ती घरमा पसे हुन्छ । यसैगरी तामक्रम, हावाको आद्रतालाई आवश्यकता बमोजिम थपघट गर्न मिल्छ । एकैसाथ धेरै पराल उसन्न सकिन्छ । च्याउका डल्ला बनाउने प्रविधि पनि छ । उनले भने, ‘कृषि क्षेत्रमा प्रविधि जोड्न सकियो भने लागत धेरै कम हुँदो रहेछ ।

अहिले हामीले प्रयोग गरिरहेको प्रविधिहरुले एक त जनशक्तिमा खर्च हुने लागत घटाएका छन् । अर्कोतर्फ च्याउमा मानिसबाट सर्न सक्ने संक्रमण जोखिम पनि कम भएको छ ।’ अहिले ईमानसँग ६० वटा च्याउका डल्लाको लागि प्रयोग हुने पराल एकैपटक उसन्न सकिने सामाग्री छ । यसका साथै दैनिक रुपमा एक हजार च्याउका डल्ला तयार गर्न सकिने मेशिन प्रयोगमा छ ।

उत्पादनसँग जोडिन आग्रह

कर्णालीको कृषि क्षेत्रमा ठूला लगानी र धेरै उत्पादन गर्ने किसानहरुको संख्या ज्यादै न्यून छ । बैंक तथ वित्तीय क्षेत्रबाट कृषिका लागि भएका लगानी पनि सहि ठाउँमा उपयोग नभएको ईमानको भोगाई छ । यसबीच कृषि क्षेत्रमा लगानी अनुरुपको आम्दानी नहुनेमा विश्वास गर्नेहरुको जमात पनि धेरै छ । तर, आफ्नो अनुभवका आधारमा ईमान भने उत्पादनसँग जोडिन अनुरोध गर्छन् ।

कोभिड–१९ संक्रमणकालिन समयमा अन्य व्यवसायहरु धरापमा परेपनि कृषि उत्पादन क्षेत्रको व्यवसाय कहिल्यै समस्यामा नपरेको उनको अनुभव छ । ‘लकडाउनका समयमा पनि हामीले च्याउ उत्पादन ग¥र्यौ । काठमाण्डौंबाट आफै गाडी रिर्जव गरेर पनि च्याउको बिउ मगाइयो उनले भने, ‘कर्णालीमै कृषि उत्पादनतर्फ जोडिन सकियो भने यहाँका अर्थतन्त्रलाई पनि सघाउ पुग्ने र किसानको जीवनस्तरमा समेत सुधार आउनेछ ।

ब्राण्ड स्टोरी : कर्णालीलाई च्याउ चखाउने ‘ईमान’

YUGAAWHAN NATIONAL DAILY (2079-07-25)

फुर्सदिला भए प्रदेश सरकारका मन्त्री : ‘मन्त्रालयमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!