घुम्दैफिर्दै : बाईकमा सरर डोल्पा जाने धुन
तेजेन्द्र रावल
सुर्खेत,२६ असोज ।
दुनै–राडी असोज १८ गते बिहानको चिया नास्ता खाएर हामी सुर्खेत आउन तयार भएका थियौ । निकुन्जका लोकराज दाइ, रामु दाइ, अक्षय दाइ सहितको टोलि हामिलाई स्वागत तथा बिदाई गर्न आइपुग्नु भयो । चिया खाइसकेपछि निजामती कर्मचारीहरुको अधिकारिक ट्रेड युनियन, जिल्ला कार्यसमीत, डोल्पाका अध्यक्ष गोर बहादुर बुढा दाजुको स्वागत मन्तब्य सहित वन कार्यालयको प्रतिक्षालयमा हामीलाई स्वागत गर्नुभयो ।
उक्त कार्यक्रमको उद्घोषण रामु दाजुले मिठो स्वरमा गर्नु भएको थियो । हाम्रो तर्फबाट शेरबहादुर दाजुले धन्यवाद सहित आफ्ना कुराहरु राखेर पुन चिया बिस्कुट खादै हाम्रो टोलि सुर्खेतको लागि अगाडी बढ्यो, हिड्नु पर्ने झन्झट सकिएको थियो हामि सबै मोटरसाइकलमा हुईकियौ । त्रिपुराकोटमा आएर त्रिपुरासुन्दरी माताको मन्दिर दर्शन गर्यौ ।
मन्दिरको संरक्षक पुजनीय बुवा लक्ष्मीकान्त उपाध्याय हुनुहुदो रहेछ । उता अमेरिकाबाट सुरज दाजुले घरमा जानु बुवा आमा उतै हुनुहुन्छ, भेटेर आउनु भनेर म्यासेज गर्नुभएको कुरा पछी थाहा भयो, दुनैमा वहाँको घर चाही देखियो । अब हामीलाई हतार थिएन, बिस्तारै अगाडी बढ्यौ, कैले खोलाबाट मोटरसाइकल तार्दै, कैले पुलबाट तार्दै, अल्छी लागेको बेला मोटरसाइकल लडाऊदै खदांगमा बिहानको खाना खाएर दिउसको करिब ३ बजे राडीमा रहेको आठबिसकोट सब–डिभिजनमा पुग्यौ ।
त्यहाँ साथी मन बहादुरले हाम्रो लागि खाजाको व्यवस्था गरेका रहेछन । भर्खर खाजा खाएर सकेको थियौ, एउटा अकल्पनीय घटना भएको कुरा सुनियो, वन कार्यालय दैलेखमा काम गर्ने भाई चन्द्र खड्काको हृदयघातका कारण हामीबाट भौतिक रुपमा सधैका लागि टाढा भएको खबर थियो । सबैको मन अमिलो भयो, आँखा रसाए ।
यो दैवको लिला भर्खर लाउलाउ खाउखाउ भन्ने कलिलो २२ वर्षको उमेरमा टपक्कै टिपेर लग्यो, भगवान कति निष्ठुरी छ । अरु सबैको घर रुकुममै भएकोले मन दुखित पार्दै घरतिर जानुभयो, म र उत्तम भाई त्यहिँ बस्यौ । दैलेखबाट टोलि आउदै छ भन्ने खबर थियो, हामि भोलिपल्ट चन्द्र भाइको अन्तिम श्रदान्जलीमा सहभागी भएर सुर्खेततिर लाग्ने निधो गर्यौ ।




