कालिकोटमा छाउविरुद्ध जागे किशोरी

कालीकोट,,२५ मंसिर ।

 तिलागुफा–५ खल्लागाउँकी १७ वर्षीया सरिता न्यौपानेले छाउ (महिनाबारी) बार्न छाडेका दुई वर्ष पुग्यो । ‘पहिले त छाउ भएको बेला छुट्टै गोठमा बस्नुपर्थ्यो,’ उनले भनिन् ‘अचेल घरभित्रै बस्छौं, दूधदही पनि खान पाउँछौं ।’

१४ वर्षको उमेरमा पहिलो पटक छाउ भएकी न्योपानेले दुई वर्षसम्म छाउ गोठ बस्नुपरेको थियो । दुई वर्षअघि गाउँमा भएको सामूहिक छलफलमा गाउँका अभिभावक र धामी झाँक्रीले छाउपडी प्रथालाई सामाजिक विकृतिका रूपमा लिँदै छुवाछूत नगर्ने प्रतिबद्धता गरेपछि छाउ बार्न छाडेको सुनाइन् ।

छाउ भएको बेला गाईगोठमा बस्नुपर्ने बाध्यता हटेकामा अर्की किशोरी हिमा चदारा खुसी छिन् । उनले बाह्मण बस्तीमा बढी जातीय छुवाछूत हुने परम्परामा पनि सुधार हुँदै आएको बताइन् । ‘गाउँ समाज बदलिन थालेको छ,’ कालिका माविमा पढ्ने १० कक्षाकी छात्रा हिमाले भनिन्, ‘विद्यालयमा पनि कुनै विभेद छैन ।’

गाउँमा रहेको छाउपडी प्रथा, जातीय छुवाछूत, छोराछोरीबीचको विभेद कम गर्न गाउँमा गठन भएको किशोरी समूहले सक्रियता देखाएको कक्षा ९ की छात्रा अन्जु रेग्मीले बताइन् । ‘दाइ–दिदीहरू नै रूपान्तरणको कक्षामा सहभागी भएर हामीलाई पनि सिकाए,’ उनले भनिन्, ‘अचेल कसैले विभेद गर्दैनन् ।’

खल्लागाउँकी १९ वर्षीया नवीना न्यौपानेले छाउगोठ त्यागेको पनि दुई वर्ष पुग्न लाग्यो । पहिलो पटक महिनाबारी हुदा नवीनालाई आमाबुवाले नै गोठमा सुत्न पठाएका थिए । तीन वर्ष छाउगोठमा बसेपछि गत वर्ष गाउँमा सञ्चालन भएको किशोरी समूहमा गोठ बस्ने चलनविरुद्ध अभियान चलाउने सल्लाह भयो ।

उनीजस्तै २० किशोरी मिलेर बनेको परिवर्तन किशोरी समूहका सदस्यहरूबीचमा गोठमा सुत्दा बिरामी हुने, वर्षामा बिच्छी सर्पले टोक्ने डर हुने र अन्य व्यक्तिबाट पनि त्रास भइरहने हुँदा गोठ त्यागेर घरमै बस्ने सल्लाह भयो ।

त्यस्तै, गाउँकै अर्की किशोरी यशोदा चदारा पनि अचेल छाउ बार्न गोठ जाँदिनन् । महिनाबारीलाई त किशोर अवस्थामा सुरु हुने विशेष शारीरिक अवस्था भएको थाहा पाएपछि छाउगोठ जान छाडेको उनले सुनाइन् । समूहमा आबद्ध बालबालिका र किशोरकिशोरीहरूले भेला र अन्तर्क्रिरयामार्फत आफ्ना समस्या राख्दा सकारात्मक सहयोग पाएको बताए ।

अभियानले बालबालिकाको शिक्षा, संरक्षण र सहभागितामा महत्त्वपूर्ण योगदान पु¥याएको तिलागुफा–५ का वडाध्यक्ष उपेन्द्र न्यौपानेले सुनाए । उनका अनुसार वडालाई गत वर्ष बालविवाह र हिंसामुक्त वडा घोषणा गरिएको छ ।

‘बालविवाहमुक्त वडा घोषणापछि उमेर नपुग्दै विवाह गर्ने चलन बन्द भएको छ,’ उनले भने, ‘फाट्टफुट्ट भागेर केही किशोरकिशोरीले विवाह गर्न प्रयास गरे पनि प्रहरीको सक्रियतामा रोकियो ।

’कान्तिपुर 

कालिकोटमा छाउविरुद्ध जागे किशोरी

हुम्लाबाट समानुपातिकतर्फ प्रदेश सभामा तीन जना सिफारिस

कालिकोटमा छाउविरुद्ध जागे किशोरी

व्यावसायिक ओखर खेतीमा जुम्लाका किसान

Leave a comment

Your email address will not be published. Required fields are marked *