पहिरो पिडितहरुको पुनःस्थापना र क्षति ग्रस्त भौतिक संरचनाको पुनर्निमाणमा चुनौती

शंकर केसी,
सल्यान, २५ असोज ।

घर गोठ र जोतखन गरी खाने जमिन नै पहिरोले बगाएपछि सल्यान कपुरकोट ५ सल्लाम पात्ला गाउँका पहिरो पिडितहरुको पुनःस्थापना र क्षति ग्रस्त भौतिक संरचनाको पुनर्निमाणमा चुनौती देखिएको छ । पहिरोले घर गोठ नै पूर्ण रुपमा क्षति भएका ६ घरपरिवार र पहिरोको उच्च जोखिममा परेका १० घरपरिवार अहिले असह्य पिडामा छन् । पहिरो पिडित केशरसिंह रानाले घरवास संगै पशुचौपाया र गरिखाने पाखोबारी समेत पहिरोले लगेपछि अब कहाँ बस्ने कसरि बाँकी जीवन कटाउने भन्ने चिन्ताले रातदिन सताउने गरेको बताउँछन् ।

गत असोज २१ गते अविरल वर्षापछि आएको पहिरोले सल्लाम पात्ला गाउँमा ३ घर र ३ गोठ बगाएको थियो भने अन्य १० घर पहिरोको उच्च जोखिममा छन् । सल्लाम स्थित केशरसिंह रानाको एउटा घर र एउटा गोठ पहिरोमा पुरिएको छ । यस्तै विजयसिंह बुढाको एउटा घर र एउटा गोठ पुरिएका छन् भने विर बहादुर रानाको पनि घर पहिरोमा बगेको छ । गोपी बुढाको पनि गोठ पहिरोमा पुरिएको छ । अन्य १० घरपरिवार पनि पहिरोका कारण विस्थापित छन् ।

दिर्घकालिन समाधानका लागि गाउँपालिकाको पहल

कपुरकोट गाउँपालिकाले भने पिडितहरुको पुनःस्थापनाका लागि पहल सुरु गरिएको बताएको छ । पहिरो लगत्तै उद्धार, राहत तथा सुरक्षित स्थानमा राख्ने कार्य गरिएको जनाउदै जिल्ला प्रशासन लगाएत प्रदेश तथा संघीय सरकारसंगको समन्वयमा पिडितहरुको पुनस्र्थापनाको पहल सुरु भएको गाउँपालिकाको भनाई छ । पालिकाले अकल्पनीय दुखद घटना व्यहोर्नुपरेको बताउँदै गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले दिर्घकालिन समस्या समाधानका लागि निरन्तर पहल थालिएको जानकारि गराए ।

यस्तै गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले हाल विभिन्न निकाय र पक्षसंग समन्वय गरेर पिडितहरुलाई राहत उपलब्ध गराउने काम संगै अव वस्ती नै बसाल्न नसक्ने गरी पहिरोले क्षति गरेकाले पिडितहरुको व्यवस्थापनका लागि काम सुरु गरिएको बताए । अहिले पनि पिडितहरुलाई राहतको खाँचो रहेको बताउँदै उनले सहयोगी हातहरुको आवश्यकता रहेको बताए । आफु जिल्ला प्रशासन कार्यालयमै गएर पहिरो पिडितहरुको पुनस्र्थापनाका लागि के गर्न सकिन्छ भन्ने बारे छलफल गरेर आएको बताउँदै उनले पिडितहरुलाई नआत्तिन र संयमित हुन आग्रह गरे ।

कलाकार, उम्मेदवार तथा राजनीतिक दलले राहत प्रदान गरे

पहिरो पिडितहरुलाई कलाकारहरु, रेडक्रम, आगामी मंशिर ४ गतेको निर्वाचनका लागि उम्मेदवारहरु, स्थानीय राजनीतिक दल लगाएत विभिन्न व्यक्तिले राहत उपलब्ध गराएका छन् । कपुरकोट गाउँपालिका संगको समन्वयमा इन्द्रेणी फाउण्डेशन, लालिगुरास डटकम, इशा फाउण्डेशन, हेम एण्ड माया फाउण्डेशनले संकलित रकम पहिरो पिडितहरुलाई हस्तान्तरण गरेका थिए ।

पहिरोले घर, गोठ तथा खेतीयोग्य जमिन पूर्ण रुपमा क्षति गरेका पिडित तथा पहिरोबाट प्रभावितहरुलाई कलाकारहरुले ३ लाख १४ हजार ५ सय रुपैयाँ संकलन गरेर काठमाण्डौबाट सल्यान कपुरकोट सम्म आएका थिए ।

पहिरोबाट सबैभन्दा बढी पिडित र तत्काल कहीकतैबाट पनि आम्दानीको श्रोत नभएका ६ घरपरिवारलाई प्रतिपरिवार नगद ३० हजार र अन्य पिडित १० घरपरिवारलाई प्रतिपरिवार १० हजारको दरले राहत रकम प्रदान गरिएको लालिगुरास डटकमका म्यानेजिंग डाइरेक्टर कमल सरगमले जानकारी दिए । विपद र पिडाको बेला सबैले सक्दो सहयोग गर्नुपर्ने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका प्रशासनीक सचिव कृष्ण रेउलेले बताए ।

यस्तै आगामी प्रतिनिधीसभा निर्वाचनका लागि सल्यानबाट उम्मेदवार तथा एकिकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले नगद १० हजार रुपैयाँ पहिरो पिडितको लागि राहत कोषका संयोजक कपुरकोट ५ का वडा अध्यक्ष होमराज खड्कालाई हस्तान्तरण गरे । यस्तै प्रदेशसभा सदस्य पदका उम्मेदवार तथा नेपाली कांग्रेस सल्यान क्षेत्र नम्बर २ का सभापती सुरेश अधिकारीले पनि कोषमा १० हजार रुपैयाँ हस्तान्तरण गरे ।

नेपाल रेडक्रसबाट प्राप्त २ सेट राहत सामग्री उपलब्ध गराएको छ । यस्तै नेकपा माओबादी केन्द्र कपुरकोटले राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । चामल, दाल, नुनतेल लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको माओवादी केन्द्र कपुरकोट गाउँपालिकाका सहसचिव पवन कार्कीले जानकारी दिए । ६ बोरी चामल, १२ किलो दाल, ६ लिटर तेल, ६ किलो नुन पिडित परिवारका लागि हस्तान्तरण गरिएको उनले जनाए । यस्तै चिनी, च्युरा, जिरा, चियापत्ती, बेसार लगायतका खाद्यान्न सामग्री पनि मओवादी केन्द्र कपुरकोटका इन्चार्ज प्रदिप वस्नेत सहित माओवादी कार्यकर्ता पिडितकहाँ पुगेर उपलब्ध गराएका थिए ।
यस्तै एकिकृत समाजवादी कपुरकोट ३ का अध्यक्ष भुुवनेश्वर गौतमले ३० किलो चामल, ४ थान विस्तारा, भाँडावर्तन लगाएतका राहत सामग्री प्रदान गरेका थिए ।

कलाकारहरुको तर्फबाट कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत १ लाख रुपैयाँ, इसा फाउन्डेसन मार्फत विभिन्न सहयोगी दाताहरुबाट१ लाख ५४ हजार ५ सय रुपैयाँ, हेम माया फाउन्डेसन मार्फत ३० हजार रुपैयाँ संकलन भएको थियो । राहत संकलन अभियानमा पहिरोबाट पिडित लोक दोहोरी गायीका हिरा अञ्जली राना मार्फत पनि साझा कल्याणकारी समाज नेपालबाट २० हजार तथा काठमाण्डौा स्थित दाङ सल्यान कपुरकोट होटेलका संचालक सम्शेर राना मगरबाट १० हजार पनि राहत रकम संकलन भएको थियो । पिडितलाई तत्कालको लागि आवश्यक पर्ने भएकाले राहत रकम हस्तान्तरण गरिएको र बाँकी रहेको रकम वडा स्थित राहत कोषमा जम्मा गरिने पिडित कलाकार रानाले जानकारी दिइन् ।

राहत रकम लिएर आएका कलाकारहरु प्रतिष्ठानका केन्द्रीय सचिव रेउले संगै इन्द्रेणी फाउन्डेसनका विवेक वली, लालिगुरास डटकमका म्यानेजिंग डाइरेक्टर कमल सरगम, गायिका टीका सानू, पहिरोबाट पिडित दोहोरी गायिका हिरा अञ्जली राना, पत्रकार एच आर मगर, लालिगुरास डटकमका सरद चौलागाईं, कलाकार शान्तराम सेन्चुरी लगायतलाइ स्वागत गर्दै गापा उपाध्यक्ष भण्डारीले कपुरकोट गाउंपालिकालाइ लागेको दुखको घाउमा मल्हम पट्टि लगाउने कार्य गरेकोमा धन्यवाद र आभार प्रकट गरेका थिए ।

राहत उपलब्ध गराउने कार्यक्रममा सल्यानबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार ज्वालाले तत्काललाई सानो सहयोग गरिएको भन्दैे वस्ती नै पहिरोको पूर्ण जोखिममा रहेको भन्दै उक्त वस्ती स्थानान्तरण गर्नका लागि सम्बन्धीत निकायसंग थप छलफल गरेर आवश्यक निर्णय गरिने प्रतिवद्धता जनाए । यस्तै प्रदेशसभा सदस्यका लागि सल्यान ख बाट उम्मेदवार सुेरश अधिकारीले पनि पिडितहरुको राहत, पुनस्र्थापनाका लागि आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्धता जनाए ।

पहिरो पिडितहरुको पुनःस्थापना र क्षति ग्रस्त भौतिक संरचनाको पुनर्निमाणमा चुनौती

हिमपातले लिमीको उवा बालीमा क्षति

पहिरो पिडितहरुको पुनःस्थापना र क्षति ग्रस्त भौतिक संरचनाको पुनर्निमाणमा चुनौती

छिन्चु जाजरकोट सडक खण्डमा ठुला सवारीसाधन अझै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!