‘जुम्लाले खेलकुदमा पनि आफ्नो सामर्थ्य देखाउनुपर्छ’,उपसभामुख यशाेदा न्यौपाने

गोल्डेन बुढा

जुम्ला ,२१ असोज 
जुम्लाले कृषि, पर्यटन र खस भाषाको उद्गमस्थलका रूपमा मात्र नभई खेलकुदको क्षेत्रमा पनि आफ्नो सामर्थ्य देखाउनुपर्ने कर्णाली प्रदेशसभा उपसभामुख यशोदा न्यौपानेले बताएकी छन्। विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायादेखि सुनमाया, विश्वरूपा र राममायाजस्ता खेलाडी जन्माएको जुम्लामा नयाँ प्रतिभाको सम्भावना अझै ठूलो रहेको उनले बताइन्।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लाबाट खेलाडी छनोट गर्न मंगलबारदेखि सुरु जिल्ला स्तरीय छनोट प्रतियोगिताको उद्घाटन गर्दै उपसभामुख न्यौपानेले खेलाडी छनोटमा कुनै पूर्वाग्रह नराखी प्रतिभा र क्षमताका आधारमा अवसर दिन आग्रह गरिन्। उनका अनुसार जुम्लाले राष्ट्रिय खेलकुदको मञ्चमा आफ्नो पहिचान स्थापित गर्ने गरी तयारी गर्न आवश्यक छ।


‘जुम्लाले खेलकुदको क्षेत्रमा पनि आफ्नो सामर्थ्य देखाउनुपर्छ,’ उनले भनिन्, ‘हरिबहादुर रोकायाजस्ता विश्व कीर्तिमानी खेलाडी जन्माएको जुम्लाले सुनमाया, विश्वरूपा र राममायाजस्ता सयौँ प्रतिभा जन्माउने सम्भावना बोकेको छ।’ उनले छनोट प्रतियोगिताबाट वास्तविक प्रतिभा पहिचान गरी अवसर दिन सके जुम्लाको खेलकुद अझ बलियो बन्ने बताइन्।
कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २७ गतेसम्म राजधानी वीरेन्द्रनगरमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लाबाट उत्कृष्ट खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय जुम्लाका प्रमुख कविदत्त न्यौपानेले बताए। उनका अनुसार एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, बुद्धिचाल, तेक्वान्दो, आईटीएफ तेक्वान्दो, उसु, बास्केटबल, फुटबल, कबड्डी, भलिबल र ह्यान्डबललगायत विधामा महिला तथा पुरुष खेलाडी छनोट गरिनेछ।
कर्णाली प्रदेश खेल विकास परिषद्का बोर्ड सदस्य पंखबहादुर शाहीले छनोट प्रक्रियामा सबै विधाका उत्कृष्ट खेलाडी नछुट्ने गरी पारदर्शिता र निष्पक्षता कायम गर्न आग्रह गरे। ‘खेल क्षेत्रमा लगानी गर्नु भनेको स्वास्थ्य क्षेत्रमा लगानी गर्नु हो,’ उनले भने, ‘जुम्लाबाट छनोट भएका खेलाडीले राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ।’
जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले जुम्लामा खेल क्षेत्रमा प्रतिभावान् खेलाडी उत्पादन गर्ने सम्भावना भए पनि राज्यको अपेक्षाकृत लगानी अभावमा खेल क्षेत्रले गति लिन नसकेको बताए। तीनै तहका सरकारले खेलकुदको पूर्वाधार र प्रतिभा विकासमा प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले खेलाडीले आफ्नो प्रतिभा र मेहनतमार्फत जिल्ला, प्रदेश र देशको नाम उच्च बनाउन सक्ने बताए। जुम्लाबाट हरेक विधामा उत्कृष्ट, योग्य र दक्ष खेलाडी छनोट गर्नुपर्नेमा उनले जोड दिए।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित सुरु भएको छनोट प्रतियोगिताले राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोटसँगै जुम्लामा नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने अपेक्षा छ।

‘जुम्लाले खेलकुदमा पनि आफ्नो सामर्थ्य देखाउनुपर्छ’,उपसभामुख यशाेदा न्यौपाने

घुयँत्राे:सुर्खेत कांग्रेसको नयाँ सूत्र : चुनाव नहोस्,

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!