सडकमा बर्सेनि ५० करोड खर्च, काम भने टालटुले

सल्यान,२५ असोज ।
राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडक खण्ड ओटासिल पिच गरेको एक दसक भयो । ओटासिल पिच गरेको राप्ती राजमार्ग मर्मत गर्न सडक डिभिजन कार्यालय दाङले प्रत्येक वर्ष ५० करोडसम्म खर्चिंदै आएको छ ।

प्रत्येक वर्ष करोडौं खर्च गरे पनि सडक सुधार हुनेभन्दा बिग्रँदै गएको छ । मर्मत तथा स्तरवृद्धिको जिम्मेवारी पाएका निर्माण कम्पनीले झारा टार्ने मात्र काम गरेकाले राप्ती राजमार्ग सुधार आउनेभन्दा बिग्रँदै गएको हो । करोडौं खर्च गरी मर्मत गर्दै आएको सडक ठाँउठाँउमा खाल्डाखुल्डी परेको छ । वर्षात्को समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । सडकमा पहिरो थुप्रिएका कारण साँघुरो भएको छ । सडक माथिबाट खस्ने पहिरोका कारण सडकस्वरूप बिग्रँदै गएको छ ।
नाला पुरिँदा जमेको पानी पास हुन नसक्दा हिलाम्मे हुने गरेका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडक दुरवस्थाका कारण यात्रुले बाह्रै महिना सास्ती भोग्दै आएका छन् । सडक डिभिजन कार्यालय दाङले प्रत्येक वर्ष टेन्डर गरेर काम गराउँदै आए पनि प्रगति भने शून्यजस्तै छ । कार्यालयले गत वर्ष टेन्डर आह्वान गरेसँगै काम गर्ने जिम्मेवारी पाएका निर्माण कम्पनीले निर्माणमा खासै चासो दिएका छैनन ।

डिभिजन कार्यालयले पनि लापरबाही गर्दा दाङको साततलेदेखि सल्यानको अरिंगाले फेदीसम्मको करिब १२ किलोमिटर सडक खण्डमा दुर्घटनाको जोखिम बढेको छ । उक्त सडकमा यात्रुहरू यात्रा गर्न डराउने गरेका छन । प्रत्येक वर्ष मर्मत तथा स्तरवृद्धिका लागि सडक डिभिजन कार्यालयले बजेट विनियोजन गर्दै आएको छ । निर्माण कम्पनीले गुनस्तरहीन काम गरेका र छोटो समयमै बिग्रने, कालोपत्रे उप्कने गर्दा सडकको दुरवस्था भएको केही दिनअघि सल्यानदेखि दाङ मोटरसाइकलमा सवार गर्दै आएका एक यात्रु निराजन बस्नेतले बताए ।
निर्माण कम्पनीको मात्र नभई सडक डिभिजन कार्यालयले पनि लापरबाही गरेको उनले जनाए । ‘केही दिनयता लगातार परेको पानीले त साना गाडीमा सवार गर्न धेरै गाह्रो भएको छ । सडकको दुरवस्थाका कारण गन्तव्यमा नपुग्दासम्म मनमा अनेक कुरा खेल्ने गर्छ ,डर मात्रै लाग्छ,’ उनले भने, ‘सडकको दुरवस्थाले गर्दा दाङ पुग्छुजस्तो लाग्दैन । गोटीखोला पुगेपछि बल्ल मात्र बाँचेजस्तो लाग्छ ।’
अहिले जताततै हिलाम्मे र पहिरोले गर्दा बसमा सवार गर्न थालेको रोल्पा झ्यामका चक्रबहादुर घर्तीले बताए । उक्त सडक खण्डमा हिँड्न मन नलागे पनि विकल्प नभएकाले बाध्य हुनुपरेको उनले जानकारी गराए । ‘सडकको काम हुन नसक्नुमा ठेकेदार कम्पनी मात्र नभई सम्बन्धित कार्यालय पनि दोषीजस्तो लाग्छ ।
निर्माण कम्पनीलाई कारबाही गर्नुको साटो काम नगर्ने सरकारले म्याद थपिरहने गर्छ,’ उनले भने, ‘जबसम्म सम्बन्धित निकायले काम नगर्ने कम्पनीलाई कारबाही गर्दैन र निर्माण कम्पनीले यो हामी सबैका लागि हो भन्ने सोच्दैनन् तबसम्म सडक गुणस्तर हुन सक्दैन ।’
सडकको दुरवस्थाका कारण कतिखेर के हुन्छ भन्न नसकिने अवस्था भएकाले डराईडराई गाडी चलाउनुपर्ने अवस्था रहेको गाडी व्यवसायी तथा चालकहरूले बताएका छन । दैनिकजसो सडकको चारैतिर च्यापेर भाग च्यापेर गुड्ने सिमेन्ट फेक्ट्रीका कच्चा पदार्थ चुनढुंगा बोक्ने टिप्परका कारण झनै दुर्घटनाको जोखिम बढेको उनीहरूले जनाएका छन ।
‘सडक हिलाम्मे भएकाले बसका टायर चिप्लने गर्छ, यताउता ढल्किन्छ, आफैंलाई डर लाग्छ गन्तव्यसम्म कसरी पुग्छौं, थाहा हुँदैन,’ गाडी व्यवसायी मानबहादुर रेउलेले भने । ट्राफिक कार्यालय कपुरकोटमा कार्यरत प्रसनि डिल्लीप्रसाद आचार्यले दैनिक दुई हजारसम्म गाडी आउजाउ गर्ने राप्ती राजमार्गको अवस्था दयनीय भएकाले दैनिकजसो सानाठूला गाडी दुर्घटना हुने गरेको बताएका छन् । वैकल्पिक मार्ग गतिलो नहुँदा ज्यान जोखिममा पारेर गाडी व्यवसायी तथा यात्रु उक्त सडक खण्डमा यात्रा गर्न बाध्य भएका उनले जानकारी गराए । ‘
केही महिनाअघि मात्रै सुक्खा पहिरोले एक डोजर पुरिएको थियो भने गत वर्ष वर्षात्को समयमा पहिरो जाँदा चार गाडी पुरिएका थिए,’ उनले भने । सडकको दुरवस्था र माथिबाट पहिरो खसिरहने भएकाले सावधानी अपनाउन आवश्यक रहेको उनको दाबी छ । दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको जाँच नियमित भइरहेको उनको भनाइ छ ।
सडकको दुरवस्थाका कारण यात्रुलाई आउजाउ गर्न कठिनाइ हुँदै आएकाले बारम्बार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीलाई बोलाएर निर्देशन दिँदै आए पनि कम्पनीले अटेर गरिरहेको र अहिले वर्षात् भएपछि त कामै नगरेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । वर्षात्का कारण अवरुद्ध नभए पनि राप्ती राजमार्ग झनै खराब भएको उनले जानकारी गराए । उनका अनुसार सडकको दुरवस्थाका कारण सल्यानवासी मात्र नभई रुकुम, रोल्पा र दाङवासीसमेत प्रभावित भएका छन् ।
‘ठेकेदार विभिन्न बहाना बनाई जेठदेखि नै काम नगरेपछि हामीले काम नगर्नेलाई कारबाही गर्ने भनी सडक डिभिजन कार्यालयमार्फत पत्र काटन लगाएका थियौं, ठेकेदार कम्पनीले काम सुरु गर्ने तयारी गरेका थिए । सरकारले काम नगर्ने कम्पनीको म्याथ थप गरेपछि सक्रियता देखाएका छैनन्,’ उनले भने । राप्ती राजमार्गको दाङदेखि रुकुमको सिमानासम्म १ सय ४७ किलोमिटर सडक खण्डमध्ये सबैभन्दा बढी कपुरकोट खण्डमा बिग्रिएको उनको भनाइ छ ।
कान्तिपुर





