सुर्खेतमा स्थानीय तहको निर्वाचन–२०७९, निर्णायक हुनेछन् थपिएका ५४ हजार मतदाता

सुर्खेत, २८ चैत्र ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दलहरु उम्मेदवार छनौटमा जुटेका छन् । आगामी निर्वाचनमा सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका पाँच दल तालमेल गरेर निर्वाचन लढ्ने तयारीमा छन् ।
अहिलेसम्म नेकपा एमाले एक्लै निर्वाचनमा जाने तयारी छ । यद्यपी कतिपय स्थानमा एमालेले पनि राप्रपा लगायतका दलसँग तालमेलको प्रयास गरिरहेको छ र निर्वाचनको माहोल तातिदै गर्दा सुर्खेतमा यसपाली थपिएका ५४ हजार ५७ जना मतदाता निर्णायक बन्ने देखिएको छ ।
पछिल्लो चार बर्षमा गुर्भाकोट नगरपालिकामा सात हजार नौ सय ९१ जना, चिङ्गाड गाउँपालिकामा एक हजार पाँचसय दुई जना र चौकुने गाउँपालिकामा तीन हजार दुईसय चार जना मतदाता थपिएका छन् ।
त्यस्तै पञ्चपुरी नगरपालिकामा पाँच हजार दुई सय ४५ जना, बराहताल गाउँपालिकामा तीन हजार पाँचसय ३९ जना, वीरेन्द्रनगर नगरपालिकामा १६ हजार चारसय १६ जना र भेरीगंगा नगरपालिकामा आठ हजार एकसय ६२ जना मतदाता थपिएका छन् ।
यस्तै लेकवेशी नगरपालिकामा चार हजार सातसय सात जना र सिम्ता गाउँपालिकामा तीन हजार दुई सय ९१ जना मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनलाई हेर्दा थपिएका मतदाता नै यसपालीको निर्वाचनमा निर्णायक बन्ने देखिएका हुन् ।
अघिल्लो निर्वाचनको मत परिणामलाई आधार मानेर दलहरुले चुनावी रणनीति बनाइरहेका छन् । कतिपय स्थानमा अघिल्लो चुनावको आधारमा आफ्नो पकड रहेको दलहरुको दाबी छ । तर पाँच वर्षको अवधिमा नयाँ थपि भएको ५४ हजारभन्दा बढी मतदाता नै यसपालीको निर्वाचनमा निर्णायक हुनेछन् । थप भएका मतदाताले दिने मतको आधारमा नै यसपाली दलहरुको शक्ति मापन हुनेछ ।
गुर्भाकोटमा काँग्रेस बलियो
अघिल्लो निर्वाचनमा उम्मेदवारले पाएको मत परिणामलाई हेर्दा गुर्भाकोट नगरपालिकामा काँग्रेसको एकल बहुमत छ । ०७४ सालमा दश हजार ६३ मत ल्याएर काँग्रेसका हस्त पुन प्रमुखमा निर्वाचित भएका थिए ।
त्यहाँ एमालेका उम्मेदवार देवहादुर खत्रीले सात हजार एकसय ३२ मत ल्याएका थिए । माओवादी केन्द्र निकै कमजोर थियो । माओवादीका उम्मेदवार हिराबहादुर थापाले एक हजार पाँचसय ९१ मत मात्रै ल्याएका थिए ।
१४ वडामध्ये काँग्रेस एक्लैले ११ वडाध्यक्ष जित्दा एमालेले तीन वडामा मात्रै जितेको थियो । माओवादीका कुनै पनि उम्मेदवारले जित्न सकेका थिएनन् ।
अब त्यहाँ थपिएका सात हजार नौसय ९१ जना मतदाता निर्णायक बन्नेछन् । अघिल्लो निर्वाचनमा गुर्भाकोटमा २५ हजार आठसय ३८ मतदाता थिए । अहिले बढेर मतदाताको संख्या ३३ हजार आठ सय २९ पुगेको छ ।
वीरेन्द्रगरमा माओवादी निर्णायक
अघिल्लो निर्वाचनको मत परिणामलाई आधार मान्दा वीरेन्द्रनगरमा माओवादी केन्द्र निर्णायक बन्ने देखिन्छ । अघिल्लो पटक वीरेन्द्रनगरमा एमाले र काँग्रेसका उम्मेदवारबीच रोमाञ्चक प्रतिस्पर्धा थियो ।
बहुमत वडा र उपप्रमुखमा एमालेले जित्दा प्रमुखमा भने काँग्रेसका देवकुमार सुवेदीले जितेका थिए । सुवेदीले १४ हजार चारसय पाँच मत पाएर विजयी हुँदा एमालेका बालाराम शर्माले १३ हजार आठसय ९९ मत पाएका थिए ।
त्यसबेला वीरेन्द्रनगरमा माओवादीका रत्नबहादुर गाहा मगरले पाँच हजार दुईसय ३७ मत मात्र ल्याएका थिए । १६ वडा रहेको वीरेन्द्रनगरमा एमाले नौ, काँग्रेस ६ र माओवादीले एउटा वडा जितेको थिए ।
वीरेन्द्रनगरमा अहिले १६ हजार चारसय १६ जना मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा ५० हजार ६ सय ४० मतदाता रहेको वीरेन्द्रनगरमा अहिले बढेर ६७ हजार ५६ मतदाता पुगेका छन् । एमाले र काँग्रेसको कडा प्रतिस्पर्धा रहेको वीरेन्द्रनगरमा यसपाली माओवादी निर्णायक हुने दखिन्छ ।
पञ्चपुरी र भेरीगंगामा काँग्रेस–एमालेको प्रतिस्पर्धा
अघिल्लो निर्वाचनमा पञ्चपुरी र भेरीगंगामा काँग्रेस र एमालेकै प्रतिस्पर्धा थियो । पञ्चपुरीको नगर प्रमुखमा विजयी उपेन्द्रबहादुर थापाले पाँच हजार एकसय ३४ मत ल्याएर विजयी हुँदा एमालेका मनबहादुर कामीले चार हजार सातसय ३२ मत पाएका थिए ।
११ वडा रहेको पञ्चपुरीमा काँग्रेसले ६ र एमालेले पाँच वडाध्यक्ष जितेका थिए । त्यहाँ अहिले पाँच हजार दुई सय ४५ मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा १७ हजार दुईसय ७८ मतदाता थिए । अहिले बढेर २२ हजार पाँचसय २३ जना पुगेको छ ।
यस्तै भेरीगंगा पनि काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भएको थियो । प्रमुखमा काँग्रेसका भूपेन्द्रबहादुर चन्द्रले सात हजार पाँचसय ४३ मत ल्याएर विजयी हुँदा एमालेका उम्मेदवार यज्ञ ढकालले सात हजार तीनसय ८४ मत पाएका थिए ।
१३ वडा रहेको भेरीगंगामा काँग्रेसले नौ, एमालेले तीन र माओवादीले एउटा वडाध्यक्ष जितेका थिए । भेरीगंगामा अहिले आठ हजार एकसय ६२ जना निर्णायक मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा २३ हजार एकसय १२ मतदाता रहेको भेरीगंगामा अहिले मतदाताको संख्या ३१ हजार दुई सय ७४ जन पुगेको छन् ।
चौकुने र बराहतालमा त्रिपक्षीय प्रतिस्पर्धा
अघिल्लो निर्वाचनमा चौकुने गाउँपालिमा त्रिपक्षीय प्रतिस्पर्धा थियो । त्यहाँ एमाले, काँग्रेस र माओवादीको कडा प्रतिस्पर्धा भएको थियो । अध्यक्ष पदमा एमालेका धीरबहादुर शाहीले माओवादीका उम्मेदवार खड्क विकलाई ६ सय नौं र काँग्रेसका गजराज जोशीलाई नौसय ९२ मतले पछिपार्दै विजयी भएका थिए ।
शाहीले तीन हजार दुईसय ४२ मत ल्याउँदै विजयी हुँदा विकले दुई हजार ६ सय ३३ र जोशीले दुई हजार दुईसय ५० मत ल्याएका थिए । १० वडा रहेको चौकुनेमा एमालेले चार ६, काँग्रेस र माओवादीले दुई–दुई वडाध्यक्ष जितेका छन्् ।
अघिल्लो निर्वाचनमा १२ हजार पाँचसय ३१ मतदाता रहेको चौकुनेमा अहिले बढेर मतदाताको संख्या १५ हजार सातसय ३५ जना पुगेको छ । बराहतालमा पनि त्रिपक्षीय प्रतिस्पर्धा थियो ।
अध्यक्षमा विजयी काँग्रेसका तेजबहादुर बस्नेतले एमालेका उम्मेदवार ताराकेशर गौतमलाई तीनसय सात र माओवादीका बलबहादुुर कठायतलाई एक हजार दुई सय ३७ मतले पछि पार्दै विजयी भएका थिए ।
बस्नेतले तीन हजार दुई सय २१ मत ल्याएर विजयी हुँदा गौतमले दुई हजार नौसय १४ र कठायतले एक हजार नौसय ८४ मत पाएका थिए । दश वडा रहेको बराहतालमा काँग्रेसले पाँच, एमालेले तीन र माओवादीले दुई वडा जितेका थिए ।
बराहतालमा पनि तीन हजार पाँचसय पाँचसय ३९ जना निर्णायक मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा १३ हजार सातसय ५७ मतदाता रहेको बराहतालमा अहिले बढेर १७ हजार दुइसय ९६ जना पुगेको छ ।






