लाप्कोमा गुड्छन् गाडी

जुम्ला,२४ मंसिर ।
पतारासी गाउँपालिकाका ६५ वर्षीय मयालाल बोहोरा स्थानीय जवाखोलामाथिको काठको फल्याक (लाप्को) मा गाडी गुड्दा सधैं झस्किन्छन् । ‘गाडी वारपार गर्दा पुल नै हल्लिन्छ, कतिखेर पुल भाँचिने हो भन्ने त्रासले मन पिरोलेको वर्षौं बितिसक्यो,’ उनले भने, ‘भगवान् भरोसामा गाडीहरू पुल वारपार गर्छन्, कतिबेला पुल भाँचिएर ठूलो दुर्घटना हुने हो भन्ने चिन्ता लाग्छ ।’
जुम्ला–डोल्पा सडकअन्तर्गतको पातारासी–४ स्थित लुम खोलामा बनाइएको काठको लाप्को बर्सेनि बाढीले बगाउँछ । केही समय त खोला तर्न नसकेर छिमेकी गाउँमा समेत आवतजावत बन्द हुन्छ । तत्कालीन जिल्ला विकास समितिबाट ३५ लाख रुपैयाँमा ७ वर्षअघि पहिलो पटक खोलामा काठको लाप्को बनाइएको थियो । त्यो लाप्को वर्षदिन पनि टिकेन । त्यसयता हरेक वर्ष खोलामा आएको बाढीले पुल भत्काउँछ ।
वर्षा सकिएपछि स्थानीयले श्रमदानमा फेरि अस्थायी पुल बनाउने गरेका छन् । यो वर्ष भने नेपाली सेनाको श्रमदानमा लाप्को बनाइएको छ । जसमा अहिले दैनिक झन्डै दुई दर्जन साना गाडी र ट्याक्टरहरू गुडिरहेका छन् । सडक बने पनि पुल नबन्दा आफूहरूले वर्षौंदेखि जोखिममा यात्रा गर्नुपरेको स्थानीय ओमलाल बोहोराले बताए ।
‘पुलदेखि धारा–पधेंरा बनाउने भन्दै कैयौं नेता जिताएर पठायौं, तर अहिलेसम्म कसैले पनि यहाँ पुल बनाउन पहल गरेनन्,’ उनले भने, ‘हामीले कहिलेसम्म विकास नहुँदा सास्ती भोग्ने ?’
कात्तिक १९ देखि २६ गतेसम्म परेको अविरल वर्षाका कारण लाप्को बगाएको थियो । जसका कारण झन्डै एक महिना सदरमुकामसँग पातारासीवासीको सम्बन्धविच्छेद भयो । स्थानीयले आफ्नो उत्पादन बजारसम्म ल्याउन सकेनन् । अहिले सेनाले लाप्को बनाएपछि सहज भएको स्थानीय गोविन्द बोहोराले बताए ।
‘सडक बनेको दशक बितिसक्यो, अझैं पिच हुन सकेको छैन,’ उनले भने, ‘न डोल्पा सदरमुकामसम्म सडक जोडिएको छ न स्तरोन्नति नै ।’ बरु खनिसकेको खण्डमा पनि सडक पहिरोले भासिएर झन्झन् जीर्ण बनिरहेको उनको भनाइ छ ।
पातारासी–४ का कालीबहादुर बुढा पुरानो पुस्ताका नेताले विकास गर्न नसकेको बताए । ‘पञ्चायत, बहुदल र संसदीय व्यवस्था हुँदै गणतन्त्रको अनुभव पनि भोगिसक्यौं, तर विकासको अनुभूति अझै पातारासीमा आउन सकेन,’ उनले भने, ‘अहिले त सडक पनि जताततै भासिन थालेको छ, पुल पनि नहुँदा गाडी चढ्नै डर लाग्छ ।
’ उनका अनुसार यो सडक सदरमुकाम खलंगादेखि उर्थु हुँदै डोल्पा जोड्ने भनेर खनिएको हो । अहिलेसम्म करिब २५ किलोमिटर सडक निर्माणको काम मात्र सकिएको छ ।
कान्तिपुर






