टिकट विवादमा एमालेले गुमायो राष्ट्रिय सभामा एक सिट
काठमाडौ,२४ असोज ।
नेकपा एमालेले राष्ट्रिय सभामा एक सिट गुमाएको छ । रूपन्देही– ५ मा प्रतिनिधिसभा निर्वाचनका लागि भएको टिकट विवादमा एमालेले राष्ट्रिय सभाको एक सिट गुमाएको हो । एमालेका राष्ट्रिय सभा सांसद खिमलाल भट्टराईले राष्ट्रिय सभाको सांसद पदबाट राजीनामा दिँदै रूपन्देही–५ बाट उम्मेदवारी दर्ता गराएका थिए । जबकि त्यसअघि नै एमालेबाट रूपन्देही– ५ मा बासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका थिए ।
घिमिरेले उम्मेदवारी दर्ता गराए पनि एमालेले खिमलाललाई पनि टिकट दिएको थियो । निर्वाचन कार्यालयमा आइतबार दुबैको उम्मेदवारी दर्ता भएको थियो । एमालेले निर्वाचन कार्यालयलाई पत्र पठाएर बासुदेव घिमिरेको उम्मेदवारी भुलबस भएको उल्लेख गर्दै खिमलालको टिकटलाई मान्यता दिएको थियो ।

तर निर्वाचन कार्यालयले पहिला दर्ता भएको उम्मेदवारीको उम्मेदवारी मान्य हुने निर्णय गर्दै बासुदेव घिमिरेको उम्मेदवारी कायम गरिदिएको छ । योसँगै एमालेका खिमलाल भट्टराईले निर्वाचनको टिकट र राष्ट्रिय सभाको सांसद दुवै गुमाएका छन् ।
एमालेको नेतृत्वले समयमै विचार नपु¥याउँदा राष्ट्रिय सभामा एमाले खुम्चन पुगेको हो । योसँगै राष्ट्रिय सभामा नेकपा एमालेका सांसदको संख्या १६ मा झरेको छ । खिमलाल भट्टराई राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक थिए। प्रमुख सचेतकको हैसियतमा उनले राज्यमन्त्री सरह सुविधा पाउँदै आएका थिए ।
५९ सदस्यीय राष्ट्रिय सभामा अब नेकपा एमालेका १६ सांसद भएका छन् भने नेकपा माओवादी केन्द्रका १५ सांसद, नेपाली कांग्रेसका १०, नेकपा एकीकृत समाजवादीका ८, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद १ जना छन्। त्यस्तै, राष्ट्रपतिबाट ३ जना मनोनीत छन्।
सेतोपाटी





