बढ्यो पेट्रोल–डिजेलको मूल्य

काठमाडौं २७ जेठ ।
सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १२ रूपैयाँ बढाएको छ ।
नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ । एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ ।
त्यस्तै हवाइ इन्धन (आन्तरिक) को मूल्य लिटरको १६६ रूपैयाँ छ । यसअघि जेठ १९ गते मात्र आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा दस रूपैयाँ घटाएको थियो। सरकारले यसपालिको बजेटमार्फत् पेट्रोलियम पदार्थको भाउ घटाउने घोषणा गरेको थियो ।
पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउन अर्थ मन्त्रालयले उद्योग मन्त्रालयलाई निर्देशन दिएको थियो । पेट्रोलियम पदार्थमा पूर्वाधार १० रूपैयाँ पूर्वाधार कर लाग्दै आएको छ । यो हटाउन अर्थले उद्योग मन्त्रालयलाई निर्देशन दिएपछि भाउ कम भएको थियो ।
मूल्य समायोजन गर्दा घाटा भएको भन्दै निगमले भाउ बढाएको हो । निगमका अनुसार बिहीबार तोकिएको मूल्यअनुसार पनि आगामी १५ दिनमा करिब तीन अर्ब १ करोड ४२ लाख रूपैयाँ घाटा हुने देखिएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २४.७९ रूपैयाँ र डिजेलमा १८.०१ रूपैयाँ घाटा छ । निगमको पेट्रोल खरिद लागत भने २०२.७० रूपैयाँ र डिजेलको १८३.०१ रूपैयाँ छ ।
त्यस्तै प्रतिसिलिन्डर एक हजार ८ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा निगमलाई ७५१.१४ रूपैयाँ घाटा हुने निगमले जनाएको छ । ग्यासको खरिद लागत २५५१.१५ रूपैयाँ छ ।
निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ । मट्टीतेलमा लिटरको १७.०१ रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १७.३४ रूपैयाँ र बाह्यतर्फ ६४.५५ रूपैयाँ नाफा रहेको निगमले जनाएको छ ।
अहिले मट्टीतेलको खरिद लागत १४७.९९ रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फको १४८.६६ रूपैयाँ र बाह्यतर्फको १२७.८५ रूपैयाँ रहेको निगमले जनाएको छ।
युक्रेनमाथि रूसी आक्रमणपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो प्रभाव परेको छ । कच्चा तेलको मूल्य उकालो लागेसँगै पेट्रोल लगायत इन्धनको भाउ बढेको हो । अर्कातर्फ आयल निगम पहिल्यैदेखि घाटामा चलिरहेको थियो । त्यसैले अहिले नेपाली बजारमा इन्धनको भाउ छोटो समयमै धेरै बढिरहेको छ ।
रूसले तेल निर्यात गर्न नपाउँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य अझै बढ्न सक्ने अनुमान छ । यद्यपि यसको फाइदा अन्य तेल उत्पादक राष्ट्रलाई हुने र उनीहरूले पेट्रोलियम पदार्थ उत्पादन वृद्धि गर्न सक्ने अपेक्षा पनि गरिएको छ ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन । भारतीय आयल कर्पोरेसन (आइओसी) बाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत अन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ ।
त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ ।
यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ । यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो ।
स्रोत ः सेतोपाटी






