भूकम्पले घर भत्काउँदा डोटीमा ६ जनाको मृत्यु

डोटी,२३ कात्तिक ।
गए रातिको भूकम्पले घर भत्काउँदा डोटीमा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का ६ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको जानकारी दिइन् ।
पाँच जना घाइते भएका छन्,’ उनले भनिन्, ‘एउटा बच्चाको सकुशल उद्धार गरिएको छ।’ पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको छ। गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । खप्तड केन्द्र भएर गए राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले डोटीमा धेरै घरहरूमा क्षति पुगेको अनुमान गरिएको छ। भूकम्प गएपछि मानिसहरू रातभर घरबाहिरै बसेका थिए।
सेतोपाटी






