ब्राण्ड स्टोरी : गाईपालनमै सन्तुष्टि

पुनम वि.सी.
सुर्खेत,२२ मंसिर ।

‘हरेक विहान दूध बिक्री गर्न बजार जान्छु। दिनभर केहि फूर्सद हुन्छ । परिवारसँग रमाउन पाएको छु। साथीभाई, इष्टमित्रसँग सदैव गफ– गाफ भईरहन्छ । खान लगाउन पुगेकै छ’, बुधबार मध्यान्नको समयमा वीरेन्द्रनगर–११ स्थित आचार्य कृषि फर्मको आगनमा घाम ताप्दै बसेका कृषक चन्द्रप्रसादले मुस्कुराउदै भने, ‘घरका ६ जना सबै स्वरोजगार भएका छन् । यो भन्दा सन्तुष्टी के चाहियो ।

’ गाई पालनका क्षेत्रमा उनि, चन्द्रप्रसाद आचार्यसँग १६ वर्षको अनुभव छ । चन्द्रप्रसादले आफ्नो अनुभव साटे, ‘०६३ सालबाट मैले कृषि क्षेत्रमा व्यवसाय सुरु गरेको हुँ । अहिलेसँम्म पनि यो पेशाबाट पलायन हुने अवस्था आएको छैन । खुशी छु।’ अहिले उनका फर्ममा १९ वटा गाई र एउटा भैसी छ ।

दैनिक एक सय लिटर दूध बजारमा निर्यात हुन्छ, मासिक ३० किलोग्राम घिउँ बजार पु¥याइन्छ । वीरेन्द्रनगरमा गाई पालन व्यवसाय सञ्चालन गरिरहेका चन्द्रप्रसाद अहिले यस व्यवसायमा सफल किसानमा रुपमा परिचित छन् । ३५ हजारबाट सुरु भएको व्यवसाय कृषक चन्द्रप्रसादले वि.सं. २०६३ सालदेखि दूध उत्पादन तर्फको व्यवसाय सञ्चालनमा ल्याएका थिए ।

पारिवारिक रुपमा पनि सो समय अघि गाउँघरमा एउटा–दुईवटा भैसी पालन भईरहन्थ्यो । उनले पनि सो समयमा त्यही नै गरे । कृषि विकास बैंकबाट ३५ हजार रुपैयाँ ऋण लिएर सो समयमा उनले एउटा भैसी खरिद गरे । वीरेन्द्रनगर–१३ मा उनले त्यो भैसी दुई वर्षसम्म पाले ।

यसबाट उनलाई दूध उत्पादनका क्षेत्रमा थप अनुभव प्राप्त भयो । ०७२ मा उनको व्यवसायिक कृषि फर्मको नाम पनि जु¥र्यो, ‘ आचार्य कृषि फर्म ।’ ०७२ को माघमा उनले फर्मलाई सरकारी निकायमा दर्ता गराए र पाँच लाख रुपैयाँ ऋण निकाले । सो समयमा वीरेन्द्रनगर स्थित वातावरण सहकारी संस्थाबाट उनले ऋण लिएका थिए ।

हाल फर्म रहेको स्थानमा, यसअघि पहिले नै रहेको गाई फर्म खरिद गरी उनले फर्मलाई थप विस्तार समेत गरे । उनले भने, ‘०७२ चैत्रमा यहाँ फर्म सुरु भएको हो । यसअघि अर्का व्यक्तिको फर्म थियो । सो समयमा १० वटा गाईबाट मैले व्यवसाय सञ्चालन गरेको हुँ । ऋण पनि लिए र यसैमा लगानी गरे ।’

हालको समयमा उनले मासिक रुपमा दुई देखि तीन लाख रुपैयाँको दूध बिक्रि गर्दै आएका छन् । उनले भने, ‘ अहिलेको अवस्थामा फर्मको कुल पूजी ४० लाख रुपैयाँ भन्दा धेरै भएको छ । १९ वटा गाई मात्रै छन्, यि गाईलाई दुई लाख रुपैयाँ भन्दा पनि कमै होला ।

’ भैसी भन्दा गाई नै उत्तम दूध उत्पादनमा क्षेत्रमा आवद्ध किसान विच गाई पाल्ने कि भैसी भन्ने विषयमा पटक पटक वहस भईरहन्छ । दूध उत्पादन पछि मासुका लागि पनि बिक्रि गर्न सकिने भएकाले भैसी पालन लाभदायी रहने एकथरी किसानको भनाई छ ।

चन्द्रप्रसाद भने भैसी पालन भन्दा गाई पालन नै व्यवसायिक सफल हुने धारणा राख्छन् । उनले भने, ‘मासुको रुपमा अन्त्यमा बिक्रि गर्न सकिने भन्नु ठिकै हो तर उत्पादनका रुपमा गाईले भैसीको तुलनामा दूधबाट पहिले नै धेरै आम्दानी गरिसकेको हुन्छ ।’

फार्ममा अहिले होल्स्टेन जातका गाईहरु पालन गरिएको छ । होल्स्टेन गाईले वार्षिक रुपमा सरदर सात हजार लिटर भन्दा बढी दूध दिन्छन् । तीन पटक सम्मको गर्भावधी समयमा औसतमा प्रति वेत आठ हजार लिटर बढी दूध दिने बताइन्छ । उनले भने, ‘भैसीमा बाँझोपनको समस्या पनि धेरै आउछ । मैले यसअघि सात वटासम्म पनि भैसी पनि पालेको थिए। सबैतिरबाट विचार गर्दा मैले गाईपालन नै उत्तम मानेको छु।’

बजारले लुकाउछ गाईको दूध

आचार्य कृषि फर्मलाई बजारिकरणमा सहजता भने छैन । सदैव एक नासको बजार माग पन फर्मले पाउदैन । खासगरी जाडोयामका समयमा दूधको माग घट्न जान्छ । चन्द्रप्रसादले भने, ‘यो जाडो मौसममा दूधको माग घट्छ । यो मौसममा बजारमा दहीका माग घट्ने भएकाले दूध माग घटेको हो ।

’ यो समयमा भने फर्मले घिउ उत्पादन तिर ध्यान दिन्छ । बिक्रि पछि बचेको दूधबाट घिउ बनाइन्छ । हालको समयमा फर्मले मासिक रुपमा ३० किलोग्राम बढी घिउ समेत बिक्रि गर्दै आएको छ । सो सबै बजारिकणबाट बचेको दूध प्रयोग गरिएको हो । भैंसीको दूधको तुलनामा गाईको दूधमा कम फ्याट हुन्छ । भैंसीको दूधमा बोसोको मात्रा बढी हुने भएकाले, यो गाईको दूधको तुलनामा गाढा हुन्छ ।

भैंसीको दूधलाई प्राकृतिक रूपमा लामो समयसम्म सुरक्षित राख्न सकिन्छ । प्रोटिन र क्याल्सियमको मात्राको विषयमा, भैंसीको दूध अलि बढी हुन्छ तर गाईको दूधको तुलनामा यसमा क्यालोरी बढी हुन्छ । चन्द्रप्रसादले भने, ‘तौल घटाउने आहारका रुपमा गाईको दूध राम्रो विकल्प हो ।

भैंसीको दूधको तुलनामा गाईको दूध सजिलै पचाउन सकिने भएकाले बच्चाका लागि पनि उत्कृष्ट हुन्छ । तर माग कम भएको बेला डेरी व्यवसायीहरुले गाईको दूधलाई भने प्राथमिकता दिदैनन् । दूधबाट फ्याट निकाल्नुपर्ने भएकाले उनिहरुले भैसीको दूधलाई नै प्राथमिकता दिन्छन् । जसकारण उपभोक्ताहरु सोधै गाईको दूध खरिद गर्न पाउँदैनन् ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *