हवाईउद्धारले पनि रोकिएन गर्भवतीको मृत्य

सिर्जना बुढाथोकी

सुर्खेत,२२ मंसिर ।

मुगुको सोरु गाउँपालिका–५ नेरगाउँकी विमला शाही भर्खर १८ वर्षकी भएकी थिइन्, नाबालिग हुँदै बिहे भएकी उनलाई गत माघमा सुत्केरी व्यथाले च्याप्यो । तर उपचारको बन्दोबस्त भएन । लामो व्यथापछि उनले घरमै बच्चा जन्माइन् तर साल अड्कियो । नेरगाउँबाट जिल्ला अस्पताल पुग्न नै दुई दिन हिँड्नुपर्छ ।

उनलाई व्यथाले च्यापेपछि परिवारका सदस्यले घरमै धामीझाँक्री बोलाए । जसको भर पर्दा विमलाको निधन भयो । कालिकोटको रास्कोट नगरपालिका–२ की सीरा सार्कीले दुई दिनको व्यथापछि ०७७ भदौ ९ मा चौथो सन्तानका रूपमा छोरा जन्माइन् ।

दुई छोरी र एक छोरापछि जन्मिएको सन्तान त स्वस्थ नै थियो तर बच्चा जन्माएपछि सुत्केरी आमालाई अत्यधिक रक्तस्राव भयो । जिल्ला अस्पताल पुग्न झन्डै आधा दिन पैदल हिँड्नुपर्छ । श्रीमानले स्थानीयको सहयोगमा आधा घण्टाको दूरीमा रहेको स्वास्थ्यचौकीसम्म पु¥याए ।

स्वास्थ्यचौकीले रक्तस्राव धेरै भइसकेको भन्दै एक घण्टा परको सामुदायिक अस्पताल लैजान भन्यो । सामुदायिक अस्पतालले पनिअवस्था गम्भीर भएकाले सदरमुकाम मान्मस्थित जिल्ला अस्पताल लैजान भन्यो । स्थानीयले स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सीराको मृत्यु भयो ।

उनको मृत्यु भएको स्थानबाट अस्पताल पुग्न अझै तीन घण्टा बाँकी थियो । जोखिममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गर्न सरकारले विनियोजन गर्दै आएको बजेट प्रभावकारी रूपमा परिचालन हुन सकेको छैन । सरकारले २०७५ पुस ६ देखि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीको हवाई उद्धार सुरु गरेको हो ।

त्यसअघिसम्म स्वास्थ्य मन्त्रालयमातहतको स्वास्थ्य महाशाखाले जोखिममा परेका गर्भवतीका लागि ‘एयर लिफ्टिङ’ को व्यवस्था गरेको थियो । तर यो कार्यक्रम विकट भूगोलका विपन्न परिवारको पहुँचमा नपुगेको भन्दै सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत परिचालन हुने गरी वार्षिक बजेट नै विनियोजन गर्न थालेको हो ।

कर्णालीमा समयमै स्वास्थ्यचौकी अथवा अस्पताल पुग्न नपाएर अकालमै ज्यान गुमाउनेको संख्या बिमला र सीरामै सीमित छैन ।  कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो ९ वर्षमा कर्णालीका १ सय ७२ सुत्केरीको मृत्यु भएको छ ।

निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीका अनुसार आर्थिक वर्ष ०७०÷७१ मा मात्रै ३३ जना सुत्केरीको मृत्यु भएको थियो भने गत आर्थिक वर्ष ०७८÷७९ मा १७ जनाको मृत्यु भएको छ । कुन उमेरका सुत्केरीको मृत्यु भएको छ भनेर यकिन तथ्यांक निर्देशनालयले राखेको छैन।

तर सूचना अधिकारी केसी मृत्यु हुने आमाहरूमा धेरैजसो १५ वर्षमाथि र २५ वर्षमुनिका रहेको बताउँछन् । ‘हामीले कति सुत्केरीको मृत्यु भयो भन्ने मात्रै तथ्यांक राख्छौं, यसभित्र ठ्याक्कै यही उमेर समूहका भन्ने छैन ।

तर पनि बालविवाह धेरै हुनाले किशोरी आमाहरूको मृत्यु बढी हुन्छ, अगाडिका सन्तान खेर गएर अथवा छोराको पर्खाइमा बच्चा जन्माउँदा ३० वर्षमाथि उमेर समूहका महिलाको पनि मृत्यु भएको छ,’ उनी भन्छन् । कर्णालीका १० जिल्लामध्ये हुम्ला र डोल्पा अझै पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएका छैनन् ।

हुम्लाको अदानचुली गाउँपालिकाका भीम नेपाली स्वास्थ्यचौकी टाढा हुँदा सुत्केरी र गर्भवतीको ज्यान जोखिममा पर्ने गरेको बताउँछन् । ‘समयमा उपचार नपाउँदा यताका मान्छे त धेरैको मृत्यु हुने गरेको छ । स्वास्थ्यचौकी पुग्न घण्टौं हिँड्नुपर्छ, उनले भने ।’

पछिल्लो नौ वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी सुत्केरीको मृत्यु आर्थिक वर्ष ०७०÷७१ मा भएको छ । उक्त वर्ष ३३ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयका सुचना अधिकारी केसीले जानकारी दिए । केसीका अनुसार आव ०७१÷७२ मा १४ जना, ०७२÷७३ मा १३ जना, ०७४ मा २२ जना र आव ०७४÷७५ मा १९ जना सुत्केरीको ज्यान गुमेको छ ।

यस्तै, आव ०७५÷७६ मा १३ जना, ०७६÷७७ मा २१ जना, आव ०७७÷७८ मा २० जना र गत आव ०७८÷७९ मा १७ जना सुत्केरीको मृत्यु भएको छ । चालू आर्थिक वर्षको भने हालसम्म जिल्ला–जिल्लाबाट तथ्यांक आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ ।

कर्णालीमा २३ दशमलव ६ प्रतिशत परिवार मात्रै आधा घण्टाभित्र स्वास्थ्य संस्था पुग्न सक्ने तथ्यांक निर्देशनालयको छ । बाँकी जनसंख्या घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशभर ३ सय ५९ वटा वर्थिङ सेन्टरहरु छन् ।

सबैभन्दा बढी वर्थिङ सेन्टर दैलेखमा ७२ वटा छन् । निर्देशनालयका अनुसार सबैभन्दा कम वर्थिङ्ग सेन्टर डोल्पामा १४ वटा छन् । वर्थिङ सेन्टरसुर्खेतमा ५३, सल्यानमा ४५, रुकुम पश्चिममा २३, जाजरकोटमा ३१, कालिकोटमा ३२ वटा रहेका छन् ।

यस्तै, जुम्ला र हुम्लामा २८÷२८ र मुगुमा ३३ वटा वर्थिङ सेन्टर रहेको निर्देशनालयका सूचना अधिकारी केसीले जानकारी दिए ।पछिल्लो समय दुर्गम भेगमा वर्थिङ सेन्टरहरु थपिँदै गएकाले प्रसुतिले सहजै स्वास्थ्य सेवा पाउने उनको भनाइ छ । नेपाल सरकारले आर्थिक वर्ष ०७५÷७६ देखि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हिमाली जिल्लाका गम्भीर सुत्केरी तथा गर्भवतीको उद्दार गरिरहेको छ ।

हिमाली जिल्लामा आवश्यक परेको समयमा टेलिफोन, ईन्टरनेट र सडकको पहुँच नहुँदा सुत्केरी तथा गर्भवतीको ज्यान जोखिममा पर्ने गरेको छ । मौसम खराब भएपछि पनि हिमाली जिल्लामा हेलिकप्टर पुग्न नसक्दा पनि सुत्केरी जोखिममा पर्ने गरेका छन् ।

यो कार्यक्रम सुरु हुनु अघि ०७२ देखि ०७५ सम्म कर्णाली प्रदेशका ४६ जना सुत्केरी हुन नसकेका, जोखिममा परेका गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । जसमध्ये आव ०७२÷०७३ देखि ०७४÷७५ सम्म मात्र सुत्केरी हुन नसकेर समस्यामा परेका १६ महिलाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ ।

०७४÷७५ अघिसम्म स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य महाशाखाले जोखिममा परेका गर्भवतीका लागि ‘एअर लिफ्टिङ’ को व्यवस्था गरेको थियो । त्यस अवधिमा २९ लाख ६५ हजार रुपैयाँकर्णालीमा ज्यान जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको उद्दारमा खर्च भएको छ ।

उक्त तीन वर्षको अवधिमा स्वास्थ्य महाशाखामार्फत कालिकोटका ३, मुगुका ६, डोल्पाका २ र हुम्लाका ५ जना सुत्केरी महिलालाई ‘एअर लिफ्टिङ्’ सेवा प्रदान गरिएको छ । त्यसपछि सुरु भएको संघीय सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७५÷७६ मा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ३० जना जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्दार गरिएको छ ।

गत आर्थिक वर्ष ०७८÷७९ को फागुन मसान्तसम्म ३ सय १६ जना सुत्केरी तथा गर्भवतीको उद्दार भएको बताइएको छ । आर्थिक वर्ष ०७५÷०७६ मा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत २६ जना र आव ०७६÷७७ मा ८७ जनाको उद्दार भएको छ । जसमध्ये कर्णालीका मात्रै ३३ जना सुत्केरी तथा गर्भवतीको उद्दार गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रबिन खड्काका अनुसार आव ०७७÷७८ मा ३८ जना सुत्केरीको उद्दार भएकोमा कर्णालीका मात्रै २८ जना सुत्केरी तथा गर्भवती छन् । ति मध्य २२ जनाको मृत्यु भएको हो ।

आर्थिक वर्ष ०७८÷७९ मा ४८ सुत्केरी तथा गर्भवतीको उद्दार भएकोमा १७ जनाको मृत्यु भएको निर्देशक डा. खड्काले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा कति सुत्केरी तथा गर्भवतीको हेलिकप्टरमार्फत उद्दार भयो भनेर तथ्याकं आइनसकेको उनले जानकारी दिए ।

हवाईउद्धारले पनि रोकिएन गर्भवतीको मृत्य

कर्णाली प्रदेशसभा :  १७ जनाले गरे संसदीय

हवाईउद्धारले पनि रोकिएन गर्भवतीको मृत्य

सुर्खेत–काठमाडौं न्यूनतम भाडा ७ हजार

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!