लोसपासँग अझै मिलेन सिट भागबन्डा, १० कि १५ मा किचलो

काठमाडौं,२२ असोज ।

चुनावी सिट बाँडफाँट निम्ति लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग शनिबार बिहान भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन । लोसपालाई १० सिट दिन सत्तारूढ गठबन्धन तयार रहे पनि उसले १५ सिट दाबी गरिरहेकाले सहमति हुन नसकेको बैठकमा सहभागी एक कांग्रेस पदाधिकारीले जानकारी दिए ।

लोसपासँग सहमति हुन नसकेपछि सत्तारूढ नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बालुवाटारमा सुरू भएको छ। यो बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेसबाट उम्मेदवार हुने व्यक्तिहरू टुंगो लगाउनेछ ।

यसअघि शुक्रबारको संसदीय बोर्ड बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले प्रतिनिधिसभामा पाउने ८८ देखि ९० निर्वाचन क्षेत्र कुन–कुन हुन् भनेर ब्रिफिङ गरेका थिए। प्रतिनिधिसभासहित कांग्रेसले पाउने प्रदेशसभाका क्षेत्र पनि उनले ब्रिफिङ गरेका थिए । कांग्रेसमा प्रतिनिधिसभा तथा प्रदेशसभामा उठ्ने उम्मेदवारहरूको टुंगो संसदीय बोर्डले लगाउने विधानमा उल्लेख छ ।

कांग्रेसको संसदीय बोर्ड औपचारिक रूपमा गठन भएको छैन। त्यसैले अहिले बालुवाटारमा संसदीय बोर्डमा पदेन सदस्य रहने पदाधिकारीहरू सहित आमन्त्रितका रूपमा पूर्वपदाधिकारी र केही मुख्य नेताहरू उपस्थित छन्।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिएपछि सत्ता गठबन्धनले अर्को मधेसवादी दल लोसपासँग मिलेर चुनाव लड्न शुक्रबारदेखि नै छलफल अघि बढाएको थियो। यसबीच कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच निर्वाचन क्षेत्रको विभाजन भने टुंगिसकेको छ। यो सहमतिअनुसार कांग्रेसले ८८ सिट लिने, माओवादीले ४७, एकीकृत समाजवादीले १८ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने छन्।

लोसपाले १५ सिटमा दाबी गरे पनि उसलाई ८ देखि १० सिट छुट्याउन सत्ता गठबन्धनका तीन प्रमुख दल तयार रहेको स्रोत बताउँछ। पहिले जसपालाई दिन तयार पारिएका १५ मध्ये १० सिट लोसपालाई दिने र बाँकी पाँचमध्ये तीन कांग्रेस र दुई माओवादीले लिने सहमति भएको एक नेताले जानकारी दिए ।

कांग्रेसले अहिलेसम्म संघीय संसद र प्रदेशसभाको प्रत्यक्षतर्फ १० ठाउँमा टिकटको टुंगो लगाएको छ । गएराति बसेको संसदीय बोर्डको बैठकले केही ठाउँमा प्रत्यक्ष उम्मेदवारलाई टिकटको टुंगो लगाएको एक नेताले बताए ।

उक्त बैठकले डडेल्धुरामा शेरबहादुर देउवा, दार्चुलामा दिलेन्द्रप्रसाद बडु, बाजुरामा बद्रीप्रसाद पाण्डे, अछाम–२ मा पुष्प शाह, मुगुमा ऐनबहादुर शाही, मनाङमा टेकप्रसाद गुरूङ र तेह्रथुममा सीता गुरूङलाई टिकट दिने निर्णय गरेको हो।

त्यस्तै जुम्लाको प्रदेश सभा (ख) मा ललितजंग शाही, तेह्रथुमको प्रदेश सभा (क) मा सन्तोष सुब्बा, ताप्लेजुङ प्रदेशसभा (ख) मा खगेनसिंह हाङ्वाङले टिकट पाएका छन्। थप जिल्लामा आज शनिबार बैठक गरी उम्मेदवारको टुंगो लगाइने ती नेताले जानकारी दिए ।

सेतोपाटी

लोसपासँग अझै मिलेन सिट भागबन्डा, १० कि १५ मा किचलो

आज नेकपा एस सुर्खेतको आपतकालिन वैठक

लोसपासँग अझै मिलेन सिट भागबन्डा, १० कि १५ मा किचलो

यी हुन् एकीकृत समाजवादीका १९ उम्मेदवार

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!