निति तथा कार्यक्रम प्रदेश सभामा पेश : नयाँ भन्दा पुरानैको निरन्तरता

पुनम वि.सी.
सुर्खेत, २५ जेठ
कर्णाली प्रदेश सरकारको आगामी वर्ष २०७९/०८० का लागि निति तथा कार्यक्रम प्रस्तुत प्रदेश सभामा पेश भएको छ । प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश सभामा आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुख परियारद्वारा प्रस्तुत निति तथा कार्यक्रममा सरकारले अघिल्ला बर्षमा समावेश भएका अधिकांश कार्यक्रमलाई निरन्तरता दिएको छ ।

मातृ शिशु स्वास्थ्य सुधारका लागि पोषण कार्यक्रम, नागरिकका लागि स्वास्थ्य वीमा कार्यक्रम, उच्च शिक्षा तहसम्म प्रदान गरिँदै आएका छात्रबृत्ति कार्यक्रम, विद्यालय स्वास्थ्यकर्मी कार्यक्रम, मुख्यमन्त्री जिविकोपार्जन कार्यक्रम, बैंक खाता छोरीको सुरक्षा जीवनभरीको कार्यक्रम, मुख्यमन्त्री दलित आयआर्जन प्रर्वद्वन कार्यक्रम, कृषि प्राविधिक रोजगार कार्यक्रम, मुख्यमन्त्री कृषक सम्मान कार्यक्रमलगायतलाई पुनः निरन्तरता दिइएको छ ।

त्यसैगरी कर्जामा सहुलियतपूर्ण ब्याज अनुदान कार्यक्रम, महिला कृषि वन कार्यक्रम (कृषि वन कार्यक्रमको विस्तारित रुप), जडीबुटी विकास कार्यक्रम, स्वच्छ खानेपानी तथा सिँचाई कार्यक्रम, झोलुङ्गे पुल निर्माण कार्य निरन्तरता तथा सामुहिक विपद् जोखिम दुर्घटना वीमा कार्यक्रमलाई सरकारले निरन्तरता दिने प्रदेश प्रमुख परियारले जानकारी दिए ।

यसका साथै संघीय सरकारद्वारा प्रस्तुत निति तथा कार्यक्रममा प्रस्तुत कर्णाली जोडिएका कार्यक्रमहरुसँग प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने भएको हो ।

संघीय सरकारसँगको सहकार्य गरिने कार्यक्रमहरुमा जोखिममा रहेका गर्भवती तथा सुत्केरीको जीवन रक्षाका लागि हवाई उद्वार कार्यक्रम, प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास, एक जिल्ला एक औद्योगिक ग्राम स्थापना, रामघाटमा निर्माण हुने प्रादेशिक विमानस्थल निर्माणमा समन्वय लगायतका क्रियाकलाप रहने छन् ।

त्यसैगरी विदेशबाट फर्केका तथा स्वदेशभित्र रोजगारीका अवसरबाट बञ्चित युवालाई सीप, स्रोत र साधन उपलब्ध गराई सिर्जनशिल उद्यममार्फत स्वरोजगार बनाउन ‘गरी खाने’ कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्ने जनाइएको छ ।

साथै स्याउ तथा ओखरको प्रर्वद्वन तथा विकासको लागि ‘बगैंचा एक स्मामित्व अनेक’ भन्ने मुल नाराका साथ सम्पूर्ण कृषकलाई क्लष्टरमा एकीकृत गरी स्याउ तथा ओखर विकास परियोजना कार्यान्वयनमा ल्याउने प्रदेश प्रमुख परियारले जानकारी दिए ।

आगामी आर्थिक बर्ष २०७९/०८० का लागि कर्णाली प्रदेश सरकारले नौला कार्यक्रम तथा क्रियाकलाप समेत थपेको छ । प्रदेश आयुर्वेद अस्पताललाई अनुसन्धान केन्द्रको रुपमा स्तरोन्नती गरिने भएको छ । औषधी तथा स्वास्थ्य उपकरण खरिद र वितरण गर्न प्रदेश आपूर्ति केन्द्रको स्थापना गर्ने सरकारको योजना छ ।

सुर्खेतको पश्चिम सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको अस्पतालका रुपमा स्तरोन्नती गर्न पूर्वाधारको विकास गर्ने कर्णाली प्रदेश सरकारले आफ्नो निति तथा कार्यक्रममा समेटेको छ ।

त्यसैगरी स्याउ तथा ओखर विकास परियोजना, पशुपन्छी विकास निर्देशनालय अन्तर्गतको प्रयोगशालालाई प्रदेश स्तरको रिफरल पशु अस्पतालको रुपमा स्तरोन्नति, कर्णाली बृक्षारोपण वर्ष घोषणा कार्यक्रम, मेक इन कर्णाली कार्यक्रम, उद्यशिलताका लागि ‘गरी खाने’ कार्यक्रम लगायत कर्णालीमा साहसिक खेलको विकास गर्दै पर्यटनमा टेवा पु¥याउने उद्देश्यले यसका लागि सम्भावना अध्ययन समेत गरिने प्रदेश प्रमुख परियारले जानकारी दिए ।

यसका साथै आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि प्रदेश सरकारले कर्णाली जनता सिंचाई तथा तटबन्धन कार्यक्रम, सार्वजनिक–सहकारी साझेदारीमा यातायात सञ्चालन गर्न सम्भाव्यता अध्ययन, लाभग्राहीको सहलगानीमा सडक निर्माण कार्य, विपद् व्यवस्थापनको क्षेत्रमा साहसिक तथा उदाहरणीय कार्य गर्ने व्यक्तिलाई पुरस्कार, राष्ट्रसेवक कर्मचारीलाई कार्यसम्पादनका आधारमा कर्णाली सेवा पुरस्कार र एक मन्त्रालय एक प्रदेश विशेष कार्यक्रम सञ्चालन गर्ने आफ्नो निति तथा कार्यक्रममा समावेश गरेको छ ।

कोभिड–१९ संक्रामक रोगको प्रभाव र असरका कारण सुस्त एवम् सुधारोन्मुख अवस्थामा रहेको आर्थिक तिब्र र दियो विकासका साथै समृद्व कर्णाली सुखारी कर्णालीवासीको दिर्घकालिन सोच प्राप्तिमा प्रस्तुत निति तथा कार्यक्रमले महत्वपूर्ण योगदान पुरयाउने विश्वास लिएको प्रदेश प्रमुख परियारको भनाई छ ।

यसको सफल कार्यान्वयको लागि तीनै तहका सरकार, निजी, सरकारी, विकास साझेदारी लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँगको समन्वय, सहकार्य र साझेदारी अत्यावश्यक रहेको उनले बताए ।

प्रस्तुत नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट कर्णालीबासीको समृद्वि, गरिबी निवारण, मानव विकास, पूर्वाधार विकास, प्रभावकारी सार्वजनिक सेवा प्रवाह, सुशासन र उत्पादनमुलक रोजगारी लगायतका आकांक्षा पुरा गर्न सबै पक्षको सहयोग र सहकार्य हुनेछ भन्ने प्रदेश प्रमुख परियारले विश्वास व्यक्त गरे ।

यातायात र सडक निर्माणमा साझेदारी
कर्णाली प्रदेशमा यातायात सेवा तथा सडक निर्माणमा लागत साझेदारी कार्यक्रम समेत लागु गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख परियारले लागत साझेदारीमा यातायात सेवा सञ्चालन तथा सडक निर्माण कार्यक्रमको शुरुवात गरिने बताए ।

उनले भने ‘कर्णाली प्रदेशमा सार्वजनिक यातायातलाई सर्वसुलभ र सहज बनाउन सार्वजनिक–सहकारी साझेदारीमा सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरिनेछ ।’ यसका साथै सडक निर्माणमा नागरिकको बढ्दो मागलाई सम्वोधन गर्न सहरी क्षेत्रका सडक पूर्वाधार विकास तथा विस्तारको लागि लाभग्राहीको सहलगानीमा सडक निर्माण कार्यको शुरुवात गरिने प्रदेश प्रमुख परियारले जानकारी दिए ।

हवाई उडान मापदण्ड
कर्णालीमा आन्तरिक हवाई उडानका लागि मापदण्ड बनाईने भएको छ । हवाई सेवा प्रदायकलाई सहुलियत प्रदान गर्दै कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका हवाई उडान संख्याका आधारमा निश्चित मापदण्ड बनाउने भएको हो ।

आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि कर्णाली प्रदेश सरकारको निति तथा कार्यक्रम कर्णाली प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख परियारले कर्णालीमा हवाई उडान संख्याका आधारमा मापदण्ड निर्माण गरिने बताए ।

उनले भने, ‘प्रदेशभित्रको हवाई सेवालाई भरपर्दो, सुलभ र सहज बनाउन सुर्खेत विमानस्थलबाट प्रदेशभित्रका विमानस्थलमा हुने हवाई उडान संख्याका आधारमा मापदण्ड बनाई हवाई सेवा प्रदायकलाई सहुलियत प्रदान गरिनेछ ।’

यसका साथै सुर्खेत विमानस्थलको सेवा, सुविधा बृद्वि गर्दै गुणस्तरिय बनाइने उनले बताए । संघीय सरकारद्वारा सुर्खेत स्थित भेरीगंगा नगरपालिकाको रामघाटमा निर्माण गरिने प्रादेशिक विमानस्थलको निर्माणमा संघीय सरकारसँग आवश्यक समन्वय समेत गरिने प्रदेश प्रमुख परियारले जानकारी दिए ।

निरन्तरता दिइएका कार्यक्रम
१. मातृ शिशु स्वास्थ्य सुधारका लागि पोषण कार्यक्रम
२. नागरिकका लागि स्वास्थ्य विमा कार्यक्रम
३. उच्च शिक्षा तहसम्म प्रदान गरिदै आएका छात्रवृत्ति कार्यक्रम
४. विद्यालय स्वास्थ्यकर्मी कार्यक्रम
५. मुख्यमन्त्री जीवकोपार्जन कार्यक्रम
६. बैंक खाता छोरीको सुरक्षा जीवनभरीको कार्यक्रम
७. मुख्यमन्त्री दलित आयआर्जन प्रर्वद्वन कार्यक्रम
८. कृषि प्राविधिक रोजगार कार्यक्रम
९. मुख्यमन्त्री कृषक सम्मान कार्यक्रम
१०. कर्जामा सहुलियतपूर्ण ब्याज अनुदान कार्यक्रम
११. महिला कृषि वन कार्यक्रम (कृषि वन कार्यक्रमको विस्तारित रुप)
१२. जडीबुटी विकास कार्यक्रम
१३. स्वच्छ खानेपानी तथा सिँचाई कार्यक्रम
१४. झोलुङगे पुल निर्माण कार्य निरन्तरता
१५. सामुहिक विपद् जोखिम दुर्घटना बीमा कार्यक्रम

आ.व. २०७९/०८० का लागि थप
१. प्रदेश आर्युवेद अस्पताललाई अनुसन्धान केन्द्रको रुपमा स्तरोन्नती
२. औषधि तथा स्वास्थ्य उपकरण खरिद र वितरण गर्न प्रदेश आपुर्ति केन्द्रको स्थापना
३. सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको अस्पतालका रुपमा स्तरोन्नती गर्न पूर्वाधारको व्यवस्था
४. स्याउ तथा ओखर विकास परियोजना
५. पशुपन्छी विकास निर्देशनालय अन्र्तगतको प्रयोगशालालाई प्रदेश स्तरको रिफरल पशु अस्पतालको रुपमा स्तरोन्नति
६. कर्णाली वृक्षारोपण वर्ष घोषणा कार्यक्रम
७. मेक इन कर्णाली
८. उद्यशिलताका लागि ‘गरि खाने’ कार्यक्रम
९. साहसीक पर्यटन विकासका लागि सम्भावना अध्ययन
१०. कर्णाली जनता सिँचाई तथा तटवन्धन कार्यक्रम
११. सार्वजनिक–सहकारी साझेदारीमा यातायात सञ्चालन गर्न सम्भाव्यता अध्ययन
१२. लाभग्राहीको सहलगानीमा सडक निर्माण कार्य
१३. विपद् व्यवस्थापनको क्षेत्रमा साहसिक तथा उदाहरणीय कार्य गर्ने व्यक्तिलाई पुरस्कार
१४. राष्ट्रसेवक कर्मचारीलाई कार्यसम्पादनका आधारमा कर्णाली सेवा पुरस्कार
१५. एक मन्त्रालय एक प्रदेश विशेष कार्यक्रम

संघीय सरकारसँगको सहकार्य
१. जोखिममा रहेका गर्भवती तथा सुत्केरीको जीवन रक्षाका लागि हवाई उद्वार कार्यक्रम
२. प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास
३. एक जिल्ला एक औद्योगिक ग्राम स्थापना
४. रामघाटमा निर्माण हुने प्रादेशिक विमानस्थल निर्माणमा समन्वय

निति तथा कार्यक्रम प्रदेश सभामा पेश : नयाँ भन्दा पुरानैको निरन्तरता

जहाँ पहिलो पटक पुग्यो फोन

निति तथा कार्यक्रम प्रदेश सभामा पेश : नयाँ भन्दा पुरानैको निरन्तरता

YUGAAWHAN NATIONAL DAILY (2079-02-21)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!