फोहोर व्यवस्थापनमा सधैं चुनौती

सुर्खेत ,२० कात्तिक ।
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट रत्न राजमार्ग हुँदै तीन किलोमिटर पश्चिम र करिब चार किलोमिटर उत्तर हिँडेपछि तारेभीर पुगिन्छ । जुन वीरेन्द्रनगर नगरपालिका–१ को श्रीकृष्ण सामुदायिक वनमा पर्छ । कच्ची सडक पैदल यात्रा गर्दै तारेभीर क्षेत्र पुग्दै गर्दा फोहोरको दुर्गन्धले यात्रा गर्न सकिँदैन । ‘बजारभरिको फोहोर ल्याएर हाम्रो घर नजिकै यसरी फोहोर फालिदिन्छन्,’ स्थानीय खड्ग मगरले भने, ‘अहिले दुर्गन्धले निकै सताएको छ ।’
०७३ देखि नगरपालिकाले उत्पादित फोहोर तारेभीरमा विसर्जन गर्दै आएको छ । बस्ती र सडकमै फोहोरको डंगुर थुप्रिँदा वडा नं. १ धारापानीको माथिल्लो क्षेत्र प्रभावित छ । फोहोर जंगलभरि थुपार्ने गरिएपछि स्थानीय आक्रोशित भएका छन । ल्यान्डफिल्ड साइड निर्माण भइरहेको नजिकै फोहोर फाल्नुपर्ने भए पनि जथाभावी फाल्दा वन क्षेत्र पनि दुर्गन्धित बनेको हो ।
घाँस–दाउरा गर्न र गाईबस्तु चराउनसमेत नमिल्ने गरी दुर्गन्ध फैलिएको मगरले बताए । स्थानीय इच्छबहादुर फौंजाले चिसो समय नजिकिँदा पनि लामखुट्टे र झिँगाले निकै सताउने गरेको बताए । उनका अनुसार नगरपालिकाले सामुदायिक वनमा अव्यवस्थित ढंगले फोहोर फालिरहेको छ । उक्त फोहोरका कारण झन्डै १ सय ६० घरधुरीलाई दुर्गन्धका कारण बस्नै सकस भइरहेको उनले गुनासो गरे । ‘ट्र्याक्टरमा ल्याउने फोहोर बाटोभरि खसाल्दै लैजान्छन्,’ उनले भने, ‘सबै फोहोर एकै ठाउँमा मिसाएर फाल्छन्, त्यो फोहोरको दुर्गन्धले गर्दा हाम्रो स्वास्थ्यसमेत जोखिममा पर्ने अवस्था आइसक्यो ।’
![]()
१६ वटा वडा रहेको वीरेन्द्रनगर नगरपालिकाको १ देखि १२ वडासम्मको फोहोर संकलन गरी धारापानीस्थित तारेभीरमा फाल्ने गरिएको छ । नगरपालिकाले फोहोरको व्यवस्थापन सही ढंगले नगर्दा आफूहरू दुर्गन्धमा बस्नुपरिरहेको स्थानीय लीलाराम पुरीले गुनासो गरे । ‘पहिला हाम्रो वडामा फाल्न स्वीकृति दिइहाल्यौँ,’ उनले भने, ‘अहिले यही फोहोरका कारण बालबालिका र वृद्धवृद्धामा विभिन्न रोगहरूसमेत देखा पर्ने गरेको छ, पछिल्लो समय डेंगीले महामारीको रूप लिँदै गर्दा हाम्रो घरछेउमै लामखुट्टे उत्पादन भइरहेको छ ।’
तारेभीरमा फोहोरको थुप्रोनजिकै पानीका मुहानहरू पनि छन । ती पानीका मुहानहरू सिर्जना टोल र सोलिघोप्टे क्षेत्र तथा बराहताल गाउँपालिका–२ गिरीघाटस्थित बाढी प्रभावितले खानेपानीका रूपमा प्रयोग गरिरहेका छन् । फोहोरको थुप्रो छेउमा कुहिरेपानी खोला बगिरहेको छ । त्यही पानी गिरीघाटस्थित बाढी प्रभावित शिविरका बासिन्दाले पिउँछन । फोहोर फाल्ने क्षेत्रका रूपमा प्रयोग भइरहेको वनका अध्यक्ष पद्मा थापाले सम्बन्धित ठाउँमा नपुग्दै बाटोभरि चुहाउँदै फोहोर लैजाने गरिएको बताइन् ।
ल्यान्डफिल्ड साइटसम्म जाने पहुँच मार्गसमेत राम्रो नहुँदा गाडीहरू बाटोमै रोकेर फोहोर फाल्ने गरेको स्थानीयको भनाइ छ । ‘यहाँ फोहोर फालेर सधैँ आगो लगाइरहन्छन्,’ उनले भनिन्, ‘पानी परेका बेलाबाहेक जतिबेला पनि आगो लागिरहेको हुन्छ, आगोले गर्दा स्वास्थ्यमा त असर परेको छ नै खडेरीको समयमा वनमा समेत आगलागी हुने गरेको छ ।’ आगलागीका कारण जनावरसमेत विस्थापित भएको उनको भनाइ छ ।
बजारका केही स्थानीयले फोहोर भने घरमै जलाउने गरेका छन । बालरोग विशेषज्ञ डा. नवराज केसी वीरेन्द्रनगरको बजार क्षेत्रमा उत्पादन हुने पोलिथिनजन्य फोहोरका कारण वायु प्रदूषण भइरहेको बताउँछन । ‘सबैलाई लाग्छ कि पोलिथिन जलाएपछि नष्ट भयो,’ उनले भने, ‘तर त्यो पोलिथिन ग्यास बनेर वातावरणलाई प्रदूषित बनाइरहेको छ भन्नेमा सबैले नजरअन्दाज गरिरहेका छन ।’ उक्त ग्यास सुर्खेतकै आकाशमाथि मडारिरहेको डा. केसीले बताए । उक्त धूवाले दमका बिरामीलाई थप गाह्रो बनाउने डा. केसीको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ५ देखि १२ सम्म उत्पादन हुने फोहोर व्यवस्थापनको जिम्मा क्लिन नेपालले लिएको छ । १ देखि ४ वडासम्म भने वडा तथा नगरपालिकाले व्यवस्थापन गरिरहेको नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार नगरपालिकाले फोहोर व्यवस्थापन कार्यविधि पनि बनाएर अगाडि बढेको छ । कार्यविधिअनुसार नगरपालिकाबाट उत्पादन भएको फोहोर वार्षिक सात प्रतिशतका दरले वृद्धि हुन्छ ।
लिड नेपालले गरेको आधारभूत सर्वेक्षण २०१८ र २०१९ अनुसार वीरेन्द्रनगरमा फोहोर संकलन गर्ने औपचारिक क्षेत्रभित्रको जनसंख्या ४३ हजार ४ सय ५१ छ । फोहोर संकलन गर्ने अनौपचारिक क्षेत्रभित्रको जनसंख्या ७२ हजार रहेको कार्यविधिमा उल्लेख छ । फोहोर व्यवस्थापनका लागि कृष्ण सामुदायिक वनमा ल्यान्डफिल्ड साइट निर्माण भइरहेको छ ।
ल्यान्डफिल्ड साइटको जग्गा प्राप्तिको प्रक्रिया ०६७ देखि सुरु भएको हो । सुरुको वर्ष प्रारम्भिक वातावरणीय मूल्यांकन (आईई) र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पछि निर्माण कार्य भने ०७७ देखि सुरु भएको नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए । हाल ल्यान्डफिल्ड साइटअन्तर्गत दिसाजन्य लेदो व्यवस्थापन र सेग्रिगेसन सेन्टरको काम मात्र सुरु भएको छ ।
निर्माण थालेको लामो समय भइसक्दा पनि संरचना निर्माणका काम अझै अधुरै छन् । अहिले दिसाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट निर्माणको काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार प्लान्टमा दिसाजन्य लेदो प्रशोधित गरेर सफा पानी निकाल्ने काम गरिनेछ ।
फोहोर व्यवस्थापनका लागि डीपीआरबमोजिम काम नभएको भन्दै उनले ३४ करोड लगानीका लागि स्रोत खोजिरहेको बताए । उनका अनुसार दिसाजन्य लेदो व्यवस्थापनका लागि एसएनभी र सेग्रिगेसन यूएनडीपीले सहयोग गरेको छ । अन्य कामका लागि भने नगरपालिकाले स्रोत खोजिरहेको पौडेलको भनाइ छ । लेदो व्यवस्थापन प्लान्ट निर्माणका लागि हालसम्म दुई करोड बजेट खर्च भएको छ ।
त्यस्तै, पहुँच मार्ग निर्माण तथा स्तरोन्नतिमा नगरले तीन करोड बजेट खर्च गरेको उनको भनाइ छ । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि नगरपालिकाले वार्षिक एक करोड रुपैयाँ छुट्याउने गरेको छ ।
कान्तिपुर





