राजधानी व्यवस्थित गर्न साझा अभियान
सुर्खेत, २१ भदौ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर यतिबेला अस्तव्यस्त छ। व्यवस्थित ढल नहुँदा सानो वर्षा हुनासाथ सडक जलमग्न हुने गर्दछ। पार्किङ नहुँदा बजार क्षेत्रभित्र यातायातका साधन असरल्ल पार्किङ हुने गरेका छन्। समयमै फोहोर सङ्कलन नहुँदा चोकचोकमा फोहोरको डङ्गुर लाग्ने गरेको छ।
वीरेन्द्रनगरको यस्तो अस्तव्यस्त अवस्था देखेपछि सरकारी तथा गैरसरकारी क्षेत्रले साझा अभियान सञ्चालन गरेर व्यवस्थित बनाउने योजना बनाएका छन्। सोमबार वीरेन्द्रनगरमा फोहोरमैला विसर्जन, सडक ट्राफिक तथा पार्किङ व्यवस्थापनका लागि बृहत् अभियानको सुझाव सङ्कलन कार्यक्रमको आयोजना गरी साझा अभियान थाल्न ढिलो गर्न नहुने जनाइएको छ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका, सुर्खेत उद्योग वाणिज्य सङ्घ, फोहोरमैला व्यवस्थापनमा क्रियाशील सङ्घसंस्थाहरूले व्यवस्थित नगर बनाउने योजना सुनाएका छन्। स्वच्छ र हरित सुर्खेत अभियानका अभियन्ता डा। नवराज केसीले वीरेन्द्रनगरको मुख्य समस्या फोहोर वर्गीकरण हुन नसकेको बताए । उनले स्वच्छ र हरित सुर्खेत अभियानको एक सय हप्ता पुगेको जानकारी दिँदै वीरेन्द्रनगरलाई स्वस्थ र व्यवस्थित बनाउन सबैले मनैदेखि साझा अभियान थाल्नुपर्ने सुझाव दिए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख एसपी भुवनेश्वर तिवारीले सडक दुर्घटनाबाट अत्यधिक मृत्यु हुने गरेको भन्दै त्यसको रोकथामका लागि सडक सुरक्षा कार्यक्रम थालिएको बताए । उनले कर्णाली प्रदेशमा अघिल्लो वर्ष सडक दुर्घटनाबाट १६१ जनाको मृत्यु भएको र अहिले रोकथामका विभिन्न कार्यक्रम गर्दा त्यो सङ्ख्या एक सयभन्दा कममा झार्ने लक्ष्य लिइएको जानकारी दिए । उनले अव्यवस्थित पार्किङले गर्दा बजारको शोभामा कमी आएको उल्लेख गरे ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले फोहोर व्यवस्थापन सोचेजस्तो हुन नसकेको जानकारी दिए । उनले वीरेन्द्रनगरमा ५७ प्रतिशत कुहिने फोहोर र ४३ प्रतिशत नकुहिने फोहोर सङ्कलन हुने उल्लेख गर्दै ल्यान्डफिल साइट पनि तयार भएकाले व्यवस्थित विसर्जन गर्ने तयारी भइरहेको बताए । अब टोलविकास समितिलाई फोहोर विसर्जनमा संलग्न गराउने, वीरेन्द्रनगरका विभिन्न स्थानमा पार्किङ निर्माण गर्ने तयारीमा नगरपालिका जुटेको उनको भनाइ छ। नगरलाई व्यवस्थित बनाउनका लागि साझा अभियानको खाँचो रहेको उनले बताएका छन ।
सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले नगरलाई व्यवस्थित गराउन निजी क्षेत्र सहयोग गर्न तयार रहेको बताए । सबैको सुझाव सङ्कलन गरी नगरको फोहोरमैला विसर्जन, सडक ट्राफिक व्यवस्थापनमा साझा अभियान थालिने उनको भनाइ छ। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले साझा अभियानका साथ वीरेन्द्रनगरलाई व्यवस्थित बनाउन सकिने बताइन ।
गाेरखापत्र





