कंगोमा ज्यान गुमाउने शान्ति सैनिक सुर्खेतका अनिल गुरूङ

सुर्खेत, २३ चैत्र ।
अफ्रिकी मुलुक कंगोमा शान्ति सैनिकका रूपमा खटिएका एक जना नेपाली सैनिकको मृत्यु भएको छ । नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घाइते भएका सुर्खेत गुर्भाकोट–१४ का सिपाही अनिल गुरूङको मृत्यु भएको हो ।
संयुक्त राष्ट्रसंघका महासचिवका सहायक प्रवक्ताले विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्रद्धान्जली र परिवारप्रति समवेदना प्रकट गरेका छन् । नेपाली शान्ति सैनिकहरूले अपरेशन ‘बाली’ सञ्चालन गरेका थिए ।
मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा ’कर्डन एन्ड सर्च’को कारबाही सञ्चालन गरी विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमीन होल्ड गरेको निर्देशनालयले जनाएको छ ।
त्यसपछि विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट त्यहाँ कार्यरत एक सैनिक घाइते भएका थिए । घाइते सैनिकको हेलिकप्टरमार्फत् उद्धार गरी बुनियाँस्थिल लेबल २ अस्पतालमा पु¥याइएको थियो ।






