कर्णालीका तीन वटा स्थानीय तह एकैपटक क्षयरोगमुक्त घोषणा

सुर्खेत, २३ चैत ।
नेपाललाई क्षयरोगमुक्त घोषणा गर्ने अभियान कर्णालीका प्रदेशबाट सुरु भएको छ । सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त गर्ने लक्ष्यअनुसार कर्णाली प्रदेशबाट यो अभियान सुरु गरिएको हो । मंगलबार कर्णाली प्रदेशका तीन वटा स्थानीय तहलाई क्षयरोगमुक्त घोषणा गरेर यो अभियान सुरु भएको हो ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सुर्खेतको गुर्भाकोट नगरपालिका, सल्यानको कपुरकोट गाउँपालिका र दैलेखको दुल्लु नगरपालिकालाई क्षयरोगमुक्त घोषणा गर्दै अभियानको सुरुवात गरेका हुन् ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले स्वास्थ्यका क्षेत्रमा कर्णालीले नयाँ फड्को मारेको बताए ।
‘सरकारले कर्णाली प्रदेशबाट क्षयरोगमुक्त अभियानको सुरुवात गरेका छ’ मन्त्री खतिवडाले भने, ‘यो अभियानबाट कर्णालीले स्वास्थ्य क्षेत्रमा नयाँ फड्को मारेको छ ।’ कर्णालीको स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउने उद्देश्यले अभियान सुरु गरिएको उनले बताए ।
अभियान सुरु भएपछि कर्णालीका नागरिकको स्वास्थ्य सचेतना बढ्ने, क्षयरोगको संक्रमण दर घट्ने र उपचार तथा परीक्षणमा सहज हुने विश्वास उनको छ । त्यस्तै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीबाट नेपाललाई क्षयरोगमुक्त घोषणा सुरुवात गरेकामा खुशी व्यक्त गरे ।
मंगलबार क्षयरोगमुक्त भएका गुर्भाकोट, कपुरकोट र दुल्लुमा क्षयरोगीको संख्या शुन्य भएको भने होइन । ति स्थानीय तहमा पनि संक्रमति छन् । तथ्याङ्कअनुसार गुर्भाकोट नगरपालिकामा ३५ जना, कपुरकोट गाउँपालिकामा ११ जना र दुल्लु नगरपालिकामा १५ जना सक्रिय संक्रमित छन् ।
संक्रमति भए पनि नियमित उपचार, स्वास्थ्य परीक्षण, पोषण आहार पर्याप्त रहेको राष्ट्रिय क्षयरोग निवारण केन्द्रले जनाएको छ । ति स्थानीय तह मध्ये आर्थिक बर्ष २०७६ मा गुर्भाकोटमा ५१, कपुरकोटमा २८ र दुल्लुमा ३१ जना संक्रमित थिए । अघिल्लो बर्ष घटेर गुर्भाकोटमा ४३, कपुरकोटमा २९ र दुल्लुमा ३१ रहेको थियो ।
ति स्थानीय तहमा क्षयरोग परीक्षण तथा उपचारका लागि पर्याप्त जनशक्ति, परीक्षण तथा उपचार केन्द्र र निको हुने दर उच्च छ । यही आधारमा स्थानीय तहलाई क्षयरोगमुक्त गरिएको राष्ट्रिय क्षयरोग निवारण केन्द्रका निर्देशक डाक्टर संजयकुमार ठाकुरले जानकारी दिए । घोषणासँगै क्षयरोग निवारणको दायित्व प्रदेश र स्थानीय तहमा आएको उनले बताए ।
नेपाल क्षयरोग संक्रमणको उच्च जोखिममा रहेको भन्दै उनले तीन तहका सरकारले हातेमालो गरेको खण्डमा तोकिएकै समयमा नेपाललाई क्षयरोगमुक्त राष्ट्र घोषणा गर्न सकिने बताए । हाल नेपालमा हरेक बर्ष ४४ हजार नागरिक क्षयरोगबाट संक्रमित हुने र सात हजार जतिले अकालमा ज्यान गुमाउने गरेको छन् ।
समयमै रोगको पहिचान र नियममित औषधि सेवन गर्ने मध्ये हरेक बर्ष दश हजार नागरिक संक्रमणमुक्त हुने गरेका छन् । नियमित र समयमै उपचार गरेको खण्डमा संक्रमण रोक्न सकिने उनले बताए ।
त्यस्तै क्षयरोगमुक्त अभियानका संयोजक मुक्तिनाथ खनालले यो बर्ष देशभर २५ वटा स्थानीय तह क्षयरोगमुक्त हुन लागेको बताए । क्षयरोगको उच्च जोखिममा रहेको नेपाललाई सन् २०३० सम्म आंशिक र २०५० सम्म पूर्णरुपले क्षयरोगमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यका साथ अभियान सुरु भएको उनको भनाइ छ ।
यो बर्ष सातसय संक्रमित थपिए
संक्रमतिको संख्या घट्दै गएको कर्णालीमा चालु आर्थिक बर्षमा सातसयभन्दा बढी संक्रमित थपिएका छन् । यो बर्ष प्रदेशभर क्षयरोगीको संख्या सातसय ३९ जना रहेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।
जसमध्ये सुर्खेतमा सबैभन्दा धेरै र हुम्लामा सबैभन्दा कम संक्रमित थपिएका हुन् । चालु आर्थिक वर्षमा सुर्खेतमा दुईसय ८१ जना र हुम्लामा चारजना संक्रमित थपिएको प्रदेश स्वाथ्य सेवा निर्देशनालयका सूचना अधिकारी एवम् क्षयरोग फोकलपर्शन पदमबहादुर केसीले जानकारी दिए ।
त्यस्तै डोल्पामा २९ जना, जुम्लामा ४३ जना, कालिकोटमा ४१ जना, दैलेखमा ७९ जना, रुकुमपश्चिममा ८० जना, सल्यानमा एकसय नौं जना र मुगुमा चार १८ जना सक्रिय संक्रमित थपिएका हुन् । यद्यपि संक्रमितको संख्या भने घट्दो क्रममा छन् ।
दुई बर्षअघि एकहजार दुई सय ३६ जना संक्रमित रहेको प्रदेशमा अघिल्लो बर्ष घटेर संक्रमतिको संख्या एकहजार एकसय ९३ जनामा झरेको थियो । चालु आर्थिक बर्षमा संक्रमितको संख्या घटेर सातसय ३९ मा झरेको छ ।






