सिम्तामा खानेपानी तथा सरसफाइ योजनाको दिगोपनाका लागि मर्मत–सम्भार कार्यशाला तथा नीति अभिमुखीकरण

सुर्खेत ,३० जेठ ।
सुर्खेतको सिम्ता गाउँपालिकामा खानेपानी तथा सरसफाइ योजनाको दीर्घकालीन दिगोपना तथा प्रभावकारी व्यवस्थापनका लागि मर्मत–सम्भार कार्यशाला गोष्ठी तथा नवप्रस्तावित नीति–निर्देशिकासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सुन्दर नेपाल संस्थाको सामाजिक र प्राविधिक सहजीकरणमा सञ्चालित एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो। गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, सुन्दर नेपाल संस्थाका प्रतिनिधि तथा आर्थिक वर्ष २०८१/०८२ मा निर्माण सम्पन्न भएका तीनवटा खानेपानी तथा सरसफाइ योजनाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा खानेपानी तथा सरसफाइ योजनाका पदाधिकारीहरूले योजनाको वर्तमान अवस्था, सञ्चालनको स्थिति तथा दिगोपना सुनिश्चित गर्न हालसम्म गरिएका प्रयासबारे जानकारी गराएका थिए। साथै योजनाहरूलाई दीर्घकालसम्म प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सुधारका विषयमा समेत छलफल गरिएको थियो।
सुन्दर नेपाल संस्थाका क्षमता विकास संयोजक ओमप्रकाश थापाले एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमअन्तर्गत हालसम्म प्राप्त उपलब्धि, कार्यक्रम सञ्चालनका क्रममा देखिएका चुनौती तथा समाधानका उपाय प्रस्तुत गर्दै खानेपानी तथा सरसफाइ योजनाको सुचारु सञ्चालन र दिगोपनाका लागि तयार गरिएको मर्मत–सम्भार निर्देशिकाबारे जानकारी गराएका थिए।

त्यसैगरी, संस्थाले सञ्चालन गरेको ‘हेलो धारा’ परियोजनाअन्तर्गत गाउँपालिकाको खानेपानी तथा सरसफाइ सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन तयार पारिएको खानेपानी, सरसफाइ तथा स्वच्छता (खा.स.स्व.) सेवा अनुगमन तथा मर्मत–सम्भार कार्यविधि, २०८२ तथा खा.स.स्व. इकाई गठन तथा सञ्चालन निर्देशिका, २०८२ बारे परामर्शदाता नवीन शाहीले विस्तृत जानकारी दिएका थिए। सो क्रममा सहभागीहरूबाट प्राप्त सुझाव तथा रायसमेत संकलन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चन्दले पालिकाभित्र वितरण भइरहेको पिउने पानीको गुणस्तर परीक्षणका लागि पानी परीक्षण प्रयोगशाला सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले खानेपानीका स्रोतहरू क्रमशः घट्दै गएको भन्दै स्रोत संरक्षणका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष चन्दले हेल्भेटास नेपालसँगको साझेदारीमा हालसम्म सिम्ता गाउँपालिकाका झण्डै ५० प्रतिशत घरधुरीमा खानेपानी तथा सरसफाइ सुविधा विस्तार गरिएको जानकारी दिँदै यस क्षेत्रमा संस्थाको महत्वपूर्ण योगदान रहेको बताए। आगामी दिनमा पालिकाभित्रका सबै घरधुरीमा स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गरी सिम्तालाई पूर्ण खानेपानीयुक्त पालिका बनाउने लक्ष्यतर्फ सबै पक्षले सहकार्य गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रम ‘हेलो धारा’ परियोजनाका सुचारुपना तथा मर्मत–सम्भार संयोजक नेत्र थापाले सञ्चालन गरेका थिए।







