बाँकेमा चैते धान खेतीतर्फ किसानको बढ्दो आकर्षण  उत्पादन र आम्दानीमा उल्लेखनीय वृद्धि

बाँके ,३० जेठ ।

बाँके जिल्लामा चैते धान खेतीप्रति किसानहरूको आकर्षण बढ्दै गएको छ । आधुनिक कृषि प्रविधि, उन्नत बिउ र सिँचाइ सुविधाको विस्तारसँगै किसानहरूले वर्षमा दुई बालीबाट तीन बाली उत्पादन गर्ने अभ्यास अपनाउन थालेपछि उत्पादन तथा आम्दानीमा उल्लेखनीय वृद्धि हुन थालेको हो ।

विशेषगरी जिल्लाको जानकी गाउँपालिकामा चैते धान खेती विस्तार हुँदै गएको छ। परम्परागत खेती प्रणालीलाई परिमार्जन गर्दै किसानहरूले खाली रहने जमिनको सदुपयोग गरी अतिरिक्त आम्दानी लिन थालेका छन् ।

जानकी गाउँपालिका–२ का किसान कृपाराम बर्माले केही वर्षअघिसम्म वर्षमा दुई बाली मात्र उत्पादन गरेर जीविकोपार्जन गर्दै आएको थियो । तर अहिले आधुनिक कृषि प्रविधि र उन्नत बिउको प्रयोगमार्फत वर्षमा तीन बाली उत्पादन गर्न सफल भएको उनी बताउँछन् ।

गहुँ वा तोरी भित्र्याएपछि खाली रहने खेतमा लगाइने चैते धान किसानका लागि अतिरिक्त आम्दानीको महत्वपूर्ण स्रोत बनेको बर्माको भनाई छ । उनका अनुसार चैते धान बोनस बालीजस्तै सावित भएको छ। यस वर्ष उहाँले पहिलो पटक १० कठ्ठा क्षेत्रफलमा चैते धान खेती गरेका छन् ।

त्यस्तै, जानकी गाउँपालिका–६ बनकटुवाका किसान साबितराम खटिकले पनि चैते धान खेतीबाट उत्पादन र आम्दानी दुवै बढेको बताए । उनका अनुसार विगतमा खाद्यान्न किन्नुपर्ने अवस्था रहे पनि अहिले चैते धानबाट बर्खे धानभन्दा समेत बढी उत्पादन लिन सफल भएका छन् ।

जानकी गाउँपालिकाले ‘सिँचित क्षेत्र विस्तार कार्यक्रम’ अन्तर्गत चैते धान खेतीलाई विशेष प्राथमिकतामा राखेर प्रवद्र्धन गरिरहेको जनाएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख मनोज मण्डलका अनुसार यस वर्ष पालिकाभित्र करिब ५५ कठ्ठा क्षेत्रफलमा चैते धान खेती विस्तार गरिएको छ । किसानहरूले चैते–४, चैते–५, हरदिनाथ–१ र हरदिनाथ–४ जातका उन्नत बिउ प्रयोग गरिरहेका छन् ।

किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले अनुदानमा बिउ, कृषि उपकरण तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । गाउँपालिका अध्यक्ष छब्बन खाँले चैते धानबाट सामान्य धानको तुलनामा करिब डेढ गुणासम्म बढी उत्पादन हुने बताउँदै सिँचाइ सुविधा विस्तार तथा बोरिङ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिए ।

यद्यपि, सिँचाइ र विद्युत् आपूर्तिसम्बन्धी समस्या अझै किसानका प्रमुख चुनौतीका रूपमा रहेका छन् । न्यून भोल्टेजका कारण आवश्यक समयमा सिँचाइ गर्न कठिनाइ हुने गरेको किसानहरूको गुनासो छ । यस समस्याको दीर्घकालीन समाधानका लागि गाउँपालिकाले थप बोरिङ विस्तार गर्ने तथा सिक्टा सिँचाइ आयोजनाको पहुँच गाउँपालिकासम्म विस्तार गर्न पहल थालेको जनाएको छ । चैते धान खेतीप्रति किसानको बढ्दो आकर्षणले खेतीयोग्य जमिनको अधिकतम उपयोग, खाद्यान्न उत्पादन वृद्धि र किसानको आयस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।  

बाँकेमा चैते धान खेतीतर्फ किसानको बढ्दो आकर्षण   उत्पादन र आम्दानीमा उल्लेखनीय वृद्धि

कर्णाली कोरिडोर बन्दको विरोध

Leave a comment

Your email address will not be published. Required fields are marked *