हिमाली गार्मेन्ट उद्योगकी मालिक अम्बिका गिरी(श्रेष्ठ)

गाेल्डेन बुढा

जुम्ला,३१ बैशाख।
जुम्लाको तत्कालीन सीप विकास कार्यालयले अम्बिका गिरी (श्रेष्ठ) लाई प्रशिक्षकको नियुक्तिपत्र थमायो। साविक कर्णाली अञ्चलका जुम्ला, मुगु, कालिकोट, हुम्ला र डोल्पाका महिलालाई सिलाईकटाइ सीप सिकाउने जिम्मा उनकै काँधमा आयो।त्यो दिन अम्बिकाले जागिर पाएकी थिइनन्, उनले आफ्ना संघर्षमाथि एउटा भरोसा पनि पाएकी थिइन्।किनकि, त्यसअघि उनको जीवन अभाव, जिम्मेवारी र अनिश्चितताले भरिएको थियो।जुम्लाको चन्दननाथ नगरपालिका–५ की अम्बिकाले २०५९ सालमा जुम्लाको घरेलु कार्यालयमा छ महिने सिलाईकटाइ तालिम लिएकी थिइन्।

माघदेखि असारसम्म आधारभूत तालिम सकेपछि उनले तत्कालै ‘अम्बे टेलर’ खोलेकी थिइन्। आफैं कपडा कटिङ गर्थिन्, दुई जना महिलाले सिलाउँथे। पिसका आधारमा ज्याला दिने सानो व्यवसायबाट उनले घर धान्ने प्रयास गरिरहेकी थिइन्।तर त्यो व्यापार थिएन, जीवन टिकाइराख्ने संघर्ष थियो।१६ वर्षको उमेरमै कक्षा ८ मा पढ्दै गर्दा विवाह गरेकी अम्बिकाले विवाहपछि पनि पढाइ छोडिनन्। धेरै बाधा र जिम्मेवारीबीच उनले २०५७ सालमा एसएलसी पास गरिन्। गाउँघरको सामाजिक संरचनाभित्र महिलाका लागि पढाइ, सीप र आत्मनिर्भरता सहज विषय थिएन। अझ कर्णाली त्यसमाथि जुम्ला जस्तो दुर्गम समाजमा त महिलाको सपना प्रायः चुलो र चौकाभित्रै सीमित हुन्थ्यो।तर अम्बिका त्यही घेराभित्र सीमित रहिनन्।सीप विकास कार्यालयमा प्रशिक्षक बनेपछि उनको जीवनले गति लिन थालेको थियो। सुरुमा खरदार सरह ९ हजार दुई सय रुपैयाँ तलब थियो। पछि १३ हजार पुग्यो। अन्तिमतिर २८ हजार रुपैयाँसम्म पुगेको थियो।उनी डोल्पाबाहेक साविक कर्णालीका सबै जिल्लामा पुगिन्। गाउँ–गाउँमा महिलालाई सिलाईकटाइ सिकाइन्।अहिले उनी गर्वका साथ भन्छिन्,“मैले तालिम दिएका कम्तीमा ६ हजार बढी महिला र किशोरीहरु अहिले आफैं कमाउने भएका छन्।”तर राज्यको संरचना फेरियो। मुलुक संघीयतामा गयो। त्यससँगै सीप विकास कार्यालय पनि खारेज भयो।कार्यालय बन्द हुँदा एउटा सरकारी संरचना हराएको थिएन, अम्बिकाजस्ता हजारौं महिलाको भरोसाको आधार पनि भत्किएको थियो।अम्बिकाको जागिर गुम्यो।त्यही समय उनको घरभित्र अर्को ठूलो संकट चलिरहेको थियो।श्रीमानको मुटु र मृगौलामा समस्या देखिएको थियो। कोहलपुर मेडिकल कलेज, नेपालगन्जमा अप्रेसन गरिएको थियो। उपचारमा घरको आर्थिक अवस्था थिलथिलो बन्यो। तीन छोरा पढाउनुपर्ने जिम्मेवारी छुट्टै थियो।२०७० साल साउन ११ गते श्रीमानको मृत्यु भयो।त्यसपछि अम्बिकाको जीवन एकाएक सुनसान भयो।सीप विकास कार्यालय बन्द भयो।जागिर गयो,श्रीमान बिते,घरको आम्दानी रोकियो।उनले फेरि सानो टेलरिङ पसल सम्हाल्ने प्रयास गरिन्। तर त्यो आम्दानीले घर चल्दैनथ्यो।केही वर्ष उनी मानसिक तनावमै बिताइन्।त्यही बेला माइलो छोरा सरोज श्रेष्ठलेआमालाई भने,“आमा, गार्मेन्ट खोल्नुस्। तपाईंसँग सीप छ। आराम पनि हुन्छ, काम पनि बढ्छ।”त्यो वाक्य अम्बिकाका लागि फेरि उठ्ने आधार बन्यो।तर समस्या फेरि उही थियो,जुम्लामा नियमित बिजुली थिएन। घण्टौं लोडसेडिङ हुन्थ्यो। उद्योग खोल्ने कल्पना पनि कठिन थियो।पछि जुम्लाको पातारासी गाउँपालिका–१ गढिगाउँस्थित चुकेनी जलविद्युत आयोजनाले ९ सय ९८ किलोवाट विद्युत उत्पादन गर्न थाल्यो।सदरमुकाम खलंगा उज्यालिन थाल्यो।त्यही उज्यालोसँगै अम्बिकाको जीवनले पनि नयाँ मोड लियो।

उनले सुरुमा दुई वटा विद्युतीय सिलाई मेशिन किनिन्। आफ्नै घरबाट सिलाईकटाइ सुरु गरिन्।बिस्तारै काम बढ्दै गयो। विद्यालयका पोशाक, महिलाका कपडा, विभिन्न अर्डर आउन थाले।आज उनै अम्बिका जुम्लाकै पहिलो “हिमालयन गार्मेन्ट उद्योग” सञ्चालन गरिरहेकी छन्।उद्योगमा अहिले १२ वटा विद्युतीय सिलाई मेशिन छन्।१० जना महिलाले रोजगारी पाएका छन्।कपडा सिलाइको पिसका आधारमा उनीहरूलाई आम्दानी हुने गरेको छ।गार्मेन्टबाट अहिले अम्बिकाको वार्षिक कारोबार ५० लाख रुपैयाँभन्दा माथि पुगेको छ।एक समय ९ हजार रुपैयाँ तलब खाने महिला अहिले आफ्नै उद्योगबाट लाखौंको कारोबार गरिरहेकी छन्।अम्बिकालाई कानको समस्या छ। उनी अपांगता भएका व्यक्ति पनि हुन्।तर उनले आफ्नो कमजोरीलाई कहिल्यै बहाना बनाइनन्।उनका छोरा सरोज अहिले उद्योगको मुख्य सहारा बनेका छन्।उनी हिसाबकिताब राख्छन्, सामान अर्डर गर्छन्, व्यवस्थापन हेर्छन्।अम्बिका भन्छिन्,“छोराले साथ नदिएको भए सायद म यहाँसम्म पुग्न सक्दिन थिएँ।”उनको काम देखेर अहिले विभिन्न निकायले सहयोग गर्न थालेका छन्।नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र अन्तर्गत ग्रामीण जीविकोपार्जनका लागि नविकरणीय ऊर्जा कार्यक्रममार्फत उनलाई पाँच लाख रुपैयाँ अनुदानमा विद्युतीय वासिङ मेशिन सहयोग गरिएको छ। आठ लाख लागतको उक्त मेशिन तीन महिनाअघि मात्रै जडान गरिएको हो।त्यही मेशिनबाट अहिले मासिक झण्डै साढे दुई लाख रुपैयाँ आम्दानी भइरहेको छ।

त्यसले थप दुई महिलालाई रोजगारी दिएको छ।साथै ५० हजार बराबरको थप विद्युतीय सिलाई मेशिन पनि प्राप्त भएको छ।नविकरणीय उर्जा कार्यक्रम परियोजना संयोजक पृथ्वीबहादुर शाहीका अनुसार सिलाईकटाई काम गर्ने जुम्लाका२४ जना महिलाहरुलाई पनि विधुतीय सिलाईकटाई मेशिन सहयोग गरेकोछ । ति महिलाहरुले उक्त गार्मेन्टमा तालिम समेत लिएका छन्

। अम्बिकाको कथा व्यक्तिगत सफलताको कथा होइन।यो कर्णालीका महिलाको अदृश्य संघर्षको कथा हो।राज्यका संरचना बन्द हुँदा महिलाले भोग्नुपरेको असुरक्षाको कथा हो।सीप, साहस र अवसर मिले महिलाले समाज बदल्न सक्छन् भन्ने प्रमाण पनि हो।कुनै समय जागिर गुम्दा रोएकी अम्बिका आज अरू महिलालाई रोजगारी दिने उद्योगी बनेकी छन्।जुन महिलाले हजारौंलाई सिलाई सिकाइन्, आज उनैले जुम्लामा महिला उद्यमशीलताको नयाँ इतिहास सिलाइरहेकी छन्।

हिमाली गार्मेन्ट उद्योगकी मालिक अम्बिका गिरी(श्रेष्ठ)

दैलेख र कालिकाेटकाे सिमाना महाबु लेखमा विशेष

हिमाली गार्मेन्ट उद्योगकी मालिक अम्बिका गिरी(श्रेष्ठ)

हिमाली गार्मेन्ट उद्योगकी मालिक अम्बिका गिरी(श्रेष्ठ)

Leave a comment

Your email address will not be published. Required fields are marked *