सत्ता गठबन्धनलाई चुनावी चटारो : कर्णालीमा वडाबाटै तालमेलको प्रयास

सुर्खेत, २२ चैत ।
सुर्खेतको चौकुने गाउँपालिमा सोमबार सत्तारुढ दल (नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा) का नेताहरुले स्थानीय निर्वाचनमा तालमेल गर्ने सर्वसम्मत निर्णय गरे ।
नेपाली काँग्रेसका गाउँपालिका सभापति नरबहादुर बान्तोला, माओवादी केन्द्र गाउँ कमिटीका अध्यक्ष गंगाराम विक, समाजवादीका गाउँ कमिटी अध्यक्ष लछिराम आलेमगर र राष्ट्रिय जनमोर्चाका गाउँकमिटी सचिव पदसिंह विकले पालिकामा चुनावी तालमेल गर्ने सहमति गरेका हुन् ।
उनीहरु केन्द्रीय निर्देशनअनुसार तालमेल गर्न प्रतिबद्ध भएका हुन् । साथै उनीहरुले अब गठबन्धनको मर्म र भावनाविपरितका गतिविधि नगर्नेसमेत निर्णय गरेका छन् ।
‘गठबन्धनलाई अगाडि बढाउन हामी एकताबद्ध छौँ’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय कमिटी तथा कार्यसमितिलाई गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न हामी अनुरोध गर्दर्छाँै ।’ चौकुने गाउँपालिकामा मात्रै होइन । सत्तारुढ गठबन्धले कर्णालीका सबै वडा र जिल्लामा चुनावी तालमेलको टुङ्गो लगाउन थालेको छ ।
‘केन्द्रमा गठबन्धनले निर्णय गरेपछि वडा तहसम्मै चुनावी गठबन्धनको टुङ्गो लागेको छ’ गठबन्धनका एक नेताले भने, ‘जिल्ला र वडाले अनुमोदन मात्रै गर्ने हो ।’
तालमेलको व्यवहारिक र विवादरहित बाटो पहिल्याउन वडा तहसम्म तालमेलको प्रयास गरिएको ति नेताले बताए । केन्द्रमा भएको पाँच दलीय गठबन्धको संयन्त्रले वडा तहसम्म तालमेलको आधार टुङ्गाउन निर्देशन दिएको छ ।
सोही बमोजिम कर्णालीमा सात सय १८ वटै वडामा चुनावी तालमेलको अनुमोदन गर्ने प्रयास भइरहेको ति नेताले बताए । गठबन्धनका नेताहरुले वडा तहदेखि नै तालमेलको आधार जिल्ला र प्रदेश नेतृत्वलाई पठाएका छन् ।
तालमेललको आधारसहित गठबन्धनबाट वडाले पालिका, पालिकाले जिल्ला हुँदै प्रदेश संयन्त्रलाई रिपोर्ट पठाएका छन् । ‘केन्द्रको निर्देशनअनुसार सबै जिल्लाबाट तालमेलको रिपोर्ट आउँदैछ’ नेपाली काँग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले भने, ‘अब कर्णालीमा वडा तहबाटै चुनावी तालमेल हुन्छ ।’
चुनावी तालमेलको खाकासहित जिल्लाबाट प्रदेशमा पठाएको उनले बताए । ‘केन्द्रको मोडालिटीअनुसार सबै जिल्लामा तालमेल टुङ्गाउने प्रयास भइरहेको छ’ नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले भनिन्, ‘जिल्लाबाट तथ्याङ्क सहित आएको रिपोर्टलाई केन्द्रीय कमिटीमा पठाउने तयारी भइरहेको छ ।’
जिल्ला गठबन्धनले वडा तहसम्म पार्टीको अवस्था, २०७४ सालको निर्वाचनमा उम्मेद्वारले ल्याएको मत परिमाण, पार्टीको वर्तमान अवस्था, मतदाताको आंकलनसहितको विवरणका आधारसहितको रिपोर्ट प्रदेश संयन्त्रलाई पठाएका छन् । आगामी निर्वाचनमा यही तथ्याङ्का आधारमा भागबण्डा टुङ्गो लाग्नेछ ।
प्रदेशमा गठबन्धनको बैठक आज
स्थानीय निर्वाचनको विषयलाई लिएर कर्णाली प्रदेशमा आज सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । गठबन्धनका प्रदेश नेतृत्व सम्मलित बैठक बस्न लागेको हो । वीरेन्द्रनगरमा बैठक बस्नेछ ।
आजको बैठकले जिल्लाबाट आएका तथ्याङ्कलाई सर्वसम्मत रुपमा केन्द्रीय कमिटीलाई सिफारिस गर्नेछ । प्रदेशका कुन तहमा कुन दलको अवस्था के छ भनेर जानकारी सहितको प्रतिवेदन केन्द्रलाई सिफारिस गरिने छ । जिल्लाबाट आएको प्रतिवेदनलाई प्रदेशको नेतृत्वले आफ्नो सुझावसहित केन्द्रलाई सिफारिस गर्ने भएको हो ।
तयार भयो तालमेलको प्रारम्भिक मोेडेल
सत्तारुढ गठबन्धनले कर्णालीका सबै जिल्लामा चुनावी तालमेलको मोडालिटी तयार पारेको छ । टिकट बाँडफाँडको अधिकार नभए पनि पार्टीको उपस्थितिका आधारमा तालमेलको मोडालिटी तयार पारिएको हो ।
‘तथ्याङ्क सहितको रिपोर्ट माग्नु र वडासम्म तालमेल टुङ्गाउनु भनेको तालमेलको मोडालिटी नै हो’ उनले भने ‘अब यही मोडालिटी अनुसार नै निर्वाचनमा पद बाँडफाँड हुन्छ ।’ सर्वसहमति अनुसार नै चुनावी तालमेलको मोडालिटी तयार गरिएको हो ।
‘केन्द्रले पनि पार्टीको शक्तिकै आधारमा गठबन्धलाई वडा तहसम्म लैजानु भन्ने निर्देशन छ’ गठबन्धनका एक नेताले भने, ‘एक हिसावले कर्णालीका सबै जिल्लामा तालमेल भइसक्यो ।’
कर्णालीका सबै जिल्लाले वडातहसम्म पार्टीको शक्तिको एकीन गरेर तालमेलको रणनीति प्रदेशमा पठाएका छन् । जिल्लाबाट तयार पारेको पठाएको प्रारम्भीक तालमेललाई प्रदेश नेतृत्वले सुझावसहित केन्द्रलाई पठाउने छ । जिल्लाबाट दलहरुको पोजेसनसहित तथ्याङ्क प्रदेशलाई पठाएका छन् ।






